२ वैशाख २०८२ मंगलबार
image/svg+xml २३:१७ अपराह्न
कला/संस्कृति

काँडाले घोचे सहन्थें होला, फूलले लछार्‍यो!

मुक्तक

१) मुक्तक

काँडाले घोचे सहन्थें होला फूलले लछार्‍यो,

पराईले बिर्से सहन्थें होला आफ्नैले पछार्‍यो।

आफन्त भन्नु ईर्ष्याको सागर सधैं छ अतृप्त,

भाग्यले हो कि कर्मले हो कि कसरी थचार्‍यो।

२) मुक्तक

जिन्दगीमा यात्री छ टुंगो छैन यात्रा,

मिल्दैन सोचे जस्तो खोजेको यो मात्रा।

सकिन्न कहिल्यै साथी इच्छा-आकांक्षा,

त्यसैले त विचित्रको जीवन छ जात्रा।

३) मुक्तक

कुनै दिन तिम्रो पनि अवश्य पालो आउनेछ,

नगर घमण्ड आँखामा भ्रमको जालो आउनेछ।

देखिएका सबै सत्य हुँदैनन् बुझ्ने छौ त्यही बखत,

चढ्न मुस्किल घनघोर कठिन उकालो आउनेछ।

४) मुक्तक

सम्झे याद झस्काउँछ उसकै तस्वीरले,

भुले साथ चस्काउँछ उसकै तस्वीरले।

मेटिन्न रे लेखिएको चित्र जिन्दगीको,  

कैयौं बात मस्काउँछ उसकै तस्वीरले।

५) मुक्तक

अरूलाई दुखाएर कहिले हुन्न ठुलो,

बलियो छ शरीर क्षणमै हुन्छ लुलो।

कस्तो न गर्छु गरेर घमण्ड के होला,

के जोख्छ मानिस कर्मको छ तुलो।

६) मुक्तक

निचताको अन्तिम रूप पापमा भासिएका,

देखिन्छ यो संसारमा केकेमा गाँसिएका।

असल कमाइ मात्र हेर मर्दाका मलामी हुन्न,

घमण्डमा भुलेका छन् क्षणमै मासिएका।

७) मुक्तक

सके बाँड दुख सुख भन्छ जिन्दगीले,

पौरखीको सधैं चाड भन्छ जिन्दगीले।

अभाव र समस्या त समयको कला,

तनावलाई सधैं छाड भन्छ जिन्दगीले।

८) मुक्तक

मूर्तिमा प्राण भरेपछि मान्छे ढुंगो हुन्न,

मानवता बिकेपछि कुनै टुंगो हुन्न।

हृदय कठोर हो कि मान्छेको स्वभाव त्यस्तो,

जतिजति भरिन्छ अहम् पटक्कै हलुंगो हुन्न।

९) मुक्तक

झस्काइदिन्छ किन मुटु सानो कुरैले,

चस्काइदिन्छ किन यो मन सानो कुरैले।

खुशी पनि पीडा जस्तै दिन्न निदाउन,

तर्साइदिन्छ किन यो मन सानो कुरैले।

१०)  मुक्तक

बिर्सनु र सम्झनुको दोधारमा छु अचेल,

सम्झनु र कल्पनुको निराधारमा छु अचेल।

यो कालचक्रले घुमाएको समयको घट्टमा,

तड्पनु र बहकिनुको मझधारमा छु अचेल।

प्रकाशित: २३ फाल्गुन २०८१ ११:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App