३१ चैत्र २०८१ आइतबार
image/svg+xml १३:९ अपराह्न
कला/संस्कृति

भट्टीमा एउटा पेलिन्छ अनि रस अर्कोले पाउँछ!

मुक्तक

१) मुक्तक

यहाँ दूधलाई पानी र पानीलाई दूध देखायो

मुखले सर्वहारा मुठले सम्पत्ति अकूत देखायो

यो समाजको ऐना कसले फेर्ने होला? जसले,

मान्छे कसैलाई छूत र कसैलाई अछूत देखायो।

२) मुक्तक

यहाँ आफ्नोलाई आफ्नैबाट लुटिन्छ के भनौं

परायासित मिल्छ बरु घरबाट छुटिन्छ के भनौं

बिहान धारे हात लगाई जानेहरूको सम्बन्ध पनि,

स्वार्थ मिलेपछि दिउँसो फर्केर जुटिन्छ के भनौं।

३) मुक्तक

मेरो देशको युवा वर्ग यहाँ केही गर्न खोज्दैछ

रोक बेलैमा नत्र ऊ सीमापारि तर्न खोज्दैछ

फर्काउ, बरु जिम्मा देउ माटोको रक्षाका लागि

ऊ वैरीसामु गोविन्द गौतम जस्तै मर्न खोज्दैछ।

४) मुक्तक

यहाँ आफन्तहरूमै पनि छलछाम भएको छ

खुट्टा तान्ने अनि फेरि उछिन्ने काम भएको छ

विश्वास हराएको छ र त यो स्वार्थी दनियाँमा,

मान्छेको भन्दा पैंसाको दोब्बर दाम भएको छ।

५) मुक्तक

अचेल इमान्दारभन्दा ठूलो खुराफात देखिन्छ

मान्छे मान्छेका बिचमा अझै जातपात देखिन्छ

बाहिर कागजमा समानता लेख्ने तर भित्रभित्र

विभेद कायम राख्न ठूलाबडाहरुकै हात देखिन्छ।

६) मुक्तक

फेरि रहन्छ सत्ताको बोली पलपलभित्र

उम्रिरहेको छ गुटको बीउ हरेक दलभित्र

बाहिर एउटा कुरा आउँछ तर यिनीहरूको

भित्र अर्कै चलिरहेको हुन्छ छलफलभित्र।

७) मुक्तक

भट्टीमा एउटा पेलिन्छ अनि रस अर्कोले पाउँछ  

लाभ जति एउटाले लिन्छ सकस अर्कोले पाउँछ

सरकार! यहीँनेर हो मलाई साह्रै दुःख लागेको,

जहाँ काम एउटाले गर्छ र जस अर्कोले पाउँछ।

८) मुक्तक

आमाले घरैमा क–ख सिकायो पुलपुले बनायो  

साथीभाइले आफूसँगै खेलायो चुलबुले बनायो

बाले कापी र कलम किनेर आफ्नो सपनाको,

झोला भिराएपछि गुरुले पढायो स्कुले बनायो।

९) मुक्तक

सोझाले बोले बात लाग्छ मेरो नेपालमा

बाठाहरूले मात्र देश हाँक्छ मेरो नेपालमा  

मान्छेले के बोल्यो भन्ने कुनै अर्थ रहँदैन,

को बोल्यो भन्ने अर्थ राख्छ मेरो नेपालमा।

१०) मुक्तक

धनीले गरिबको नाममा लुटेर खाएको हो

उनका आशाअपेक्षा सबै भुटेर खाएको हो

हजुरबाले सुनाउनुहुन्थ्यो माटो नछुनेहरूले,

गरिबहरूको बुइ लौरोले चुटेर खाएको हो।

प्रकाशित: १६ फाल्गुन २०८१ १२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App