(१) मुक्तक
बेहोसीमा पनि होस होस् नयाँ वर्षमा
आलस्यबीच जोस होस् नयाँ वर्षमा
अभावै अभावमा दबिएकाहरूको पनि,
जीवन धान्न पुग्ने कोष होस् नयाँ वर्षमा।
(२) मुक्तक
तिर्खाएकाहरूले प्यास मेटाउन् नयाँ वर्षमा
बिराएकाहरूले बाटो भेटाउन् नयाँ वर्षमा
कैंची हैन सियो बनेर जिउन सकियोस्,
कसैले सम्बन्धहरू नरेटाउन नयाँ वर्षमा।

(३) मुक्तक
खेतबारीमा उत्पादन भव्य होस् नयाँ वर्षमा
समाज पनि झन्-झन् सभ्य होस् नयाँ वर्षमा
दोष अरूलाई देखाउँदैमा आफू सफा भइँदैन,
पूरा गर्ने आआफ्नो कर्तव्य होस् नयाँ वर्षमा।
(४) मुक्तक
खराब दिनहरू सबै हटून् नयाँ वर्षमा
लागेका रिनहरू सबै घटून् नयाँ वर्षमा
जे जति हुनुपर्ने, भइरहेको छैन देशमा,
ग्रहदशाहरू सबै कटून् नयाँ वर्षमा।
(५) मुक्तक
भोकाहरूका लागि खाना बनोस् नयाँ वर्ष
नाङ्गाहरूका लागि नाना बनोस् नयाँ वर्ष
कोही दबिएको, हेपिएको सुन्न नपरोस् हजुर,
आवाजविहीनहरूको गाना बनोस् नयाँ वर्ष।
(६) मुक्तक
सबै बालबालिका भर्ना हुन नयाँ वर्षमा
काम बढी तर कम धर्ना हुन नयाँ वर्षमा
विश्वास, सद्भावमय, सहयोग बढिरहोस्,
एक आपसमा अर्मापर्मा हुन नयाँ वर्षमा।
(७) मुक्तक
गर्न चाहनेले काम पाओस् नयाँ वर्षमा
राम्रो गर्नेहरूले नाम पाओस् नयाँ वर्षमा
गोलीले ढल्नु र आगोले जल्नु नपरोस्
रावण हैन देशले राम पाओस् नयाँ वर्षमा।
प्रकाशित: ३१ चैत्र २०८१ १३:०२ आइतबार