१२ वैशाख २०८२ शुक्रबार
image/svg+xml १२:२२ अपराह्न
अन्तर्राष्ट्रिय

‘रोलेक्सगेट’ घडी घुस काण्डमा पेरुका राष्ट्रपति माथिको महाभियोग रोकियो

पेरुका राष्ट्रपति डिना बोलुआर्टेमाथि ‘रोलेक्सगेट’ घडी उपहार लिएको आरोपमा महाभियोगको तयारी रोकिएको छ। संसदीय छानबिन उपसमितिले घडी गैरकानुनी उपहार (घुस) नभई उनको साथीले पैसा तिरेर किनिदिएको ठहर गरेको छ। यसले बोलुआर्टेलाई भ्रष्टाचारको आरोप र महाभियोगबाट जोगाएको छ। 

पेरुको कंग्रेसले उनिविरुद्धको भ्रष्टाचार अनुसन्धान रोकेको छ। उपसमितिले शुक्रबार यो मुद्दा खारेज गर्न सिफारिस गरेको थियो, जसले राष्ट्रपतिको अलोकप्रियता थप नबिगारोस् भन्ने उद्देश्य राखेको छ। 

सन् २०२६ को जुलाईमा ६२ वर्षीया बोलुआर्टेले पद छोड्दा र राष्ट्रपतिको उन्मुक्ति गुमाउँदा यो मुद्दामा फेरि अनुसन्धान हुन सक्छ। 
सन् २०२४ को मार्चमा राष्ट्रपतिसँग अघोषित महँगो रोलेक्स घडी र गहना फेला परेपछि ‘रोलेक्सगेट काण्ड’ सुरु भएको थियो।

बोलुआर्टेले अभियोजकलाई ती घडी साथीले पैसा तिरेर किनिदिएको बताएकी थिइन्, तर महान्यायाधिवक्ताले कंग्रेसमा यसलाई घुसका रूपमा औपचारिक आरोप लगाएका थिए। 

राष्ट्रपतिको समर्थन दर एकल अङ्कमा छ र उनको संसद्मा कुनै पार्टी वा नेतृत्व छैन, तर सत्तारूढ कन्जरभेटिभ पार्टीहरूको समर्थन छ। सन् २०२३ मा नाकको शल्यक्रिया गर्न दुई हप्ता अनुपस्थित भएको विषयमा उनले छुट्टै छानबिनको सामना गरेकी थिइन्। उनले यो शल्यक्रिया कस्मेटिक नभई स्वास्थ्य उपचारका लागि भएको बताएकी थिइन्।

पेरु लामो समयदेखि राजनीतिक अस्थिरतामा छ। पछिल्ला आठ वर्षमा त्यहाँ छ जना राष्ट्रपति भएका छन्। सन् २०२२ को डिसेम्बरमा बोलुआर्टेले वामपन्थी राष्ट्रपति पेड्रो क्यास्टिलोलाई विस्थापित गरी पद सम्हालेकी थिइन्। उनी क्यास्टिलोकी उपराष्ट्रपति थिइन्। पेरुमा अर्को राष्ट्रपति र विधायिका निर्वाचन सन् २०२६ को अप्रिलमा हुनेछ। एएफपी

प्रकाशित: ३१ चैत्र २०८१ १२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App