१२ वैशाख २०८२ शुक्रबार
image/svg+xml ४:३ पूर्वाह्न
समाज

विकृतिजन्य क्रियाकलाप रोक्न नगर प्रहरीलाई ३५ बढी जिम्मेवारी दिँदै आठराई त्रिबेणी

पालिका क्षेत्रभित्र सार्वजनिक स्थलमा जुवा–तास लगायतका विकृतिजन्य क्रियाकलापमा रोक लगाउने सहितका ३५ बढी जिम्मेवारी दिँदै ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले नगर प्रहरी सञ्चालन कार्यविधि ल्याएको छ।

पालिका क्षेत्रमा आवश्यक शान्ति सुव्यवस्था कायम गरी पालिका क्षेत्रको सार्वजनिक सम्पत्तिको सुरक्षा एवं संरक्षण गर्न, पालिकाका निर्णयहरूको कार्यान्वयनमा अग्रसर गराउन, आपतकालीन अवस्थामा राहत तथा उद्धारको कार्य गर्न, अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्न र छाडा पशु चौपायाको नियन्त्रण गर्न पालिकाले नगर प्रहरी खटाउने गरी कार्यविधि ल्याएको हो। पालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन)का अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा (२)को खण्ड (क) (१) मा भएको व्यवस्था कार्यान्वयनमा लागि नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन कार्यविधि प्रयोगमा ल्याइएको हो।

कार्यविधि अनुसार गाउँ प्रहरी सहायक निरीक्षक (असई)को नेतृत्वमा प्रहरी हवल्दार र गाउँ प्रहरी जवान हुने छन्। गाउँ प्रहरी कर्मचारीहरू हमेसा आफ्नो ड्युटीमा रहेको मानिने छ। गाउँ प्रहरी कर्मचारीले सार्वजनिक आवागनममा अवरोध पुर्याइ निर्माण सामग्रीहरू हटाउन लगाउने,नमानेमा आफैँ हटाइ हटाउँदा लाग्ने खर्च सम्बन्धित व्यक्तिबाट असुल उपर गर्न पेश गर्ने, गाउँ क्षेत्रमा भित्ते लेखन, पोष्टर, ब्यानर, क्रस ब्यानर र विज्ञापन नीतिले निषेध गरेका विज्ञापन प्रचार सामग्री तथा पोष्टर टाँस्ने कार्यमा पूर्ण प्रतिबन्ध लगाउने र अटेर गर्नेलाई कारबाही गर्ने जिम्मेवारी समेत पाउने छन्।

बिनाइजाजत ब्यानर, होर्डिङ बोर्ड, ग्लोबोर्ड लगायतका अन्य विज्ञापन समाग्री राखेको पाइएमा पक्राउ गरी इजाजत लिन लगाउने र नमानेमा कारबाही गर्ने, नापतौल सामग्रीको चेकजाँच गर्ने, पसल व्यवसायमा मूल्य सूची राख्न लगाई नियमित अनुगमन गर्ने, अनुमतिबिना जादु, सर्कस र आर्थिक संकलन गर्ने प्रकृतिका विभिन्न खेलहरू सञ्चालन गर्न नदिने, पालिका क्षेत्रमा सञ्चालनमा रहेका अस्थायी प्रकृतिका बजारहरूको रेखदेख गर्ने र व्यवसायीको लगत राख्ने तथाु अरूलाई बाधा पुग्नेगरी लाउड स्पिकर, रेडियो तथा तीव्र ध्वनी उत्पादन गर्ने प्रकृतिका कार्य हुन नदिने काम समेत गाउँ प्रहरीले गर्ने भएका छन्।

ध्वनी, धुँवा, प्रकाश तथा अन्य कुनै कारणले सार्वजनिक रूपमा बाधा पुग्नेगरी उद्योगधन्दा र व्यपार व्यवसाय भइरहेको भए त्यसलाई नियन्त्रण गर्ने, पार्किङ क्षेत्रको रेखदेख र व्यवस्थापन गर्ने, विपद् र महामारीका घटना भए उद्धार तथा राहतका लागि खटिने, न्यायिक समितिले आदेश गरे बमोजिम सम्बन्धित पक्षकोमा म्याद तामेली गर्ने, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णय कार्यान्वयन गर्ने, गाउँपालिकाको सुरक्षा तथा पालोपहरा गर्ने, स्वास्थ्यका लागि हानिकारक वस्तु तथा सढेगलेका खाद्य पर्दाथको बिक्री वितरणमा रोक लगाउने, सडक आवागमन वा खतरा देखिएका रुखहरू काट्न लगाउने सहितका कार्य गाउँ प्रहरी कर्मचारीले गर्ने भएका छन्।

प्रकाशित: ३१ चैत्र २०८१ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App