उठ्न खोज्दा आमा अल्झेर खाटबाट लड्नुभयो। घरभित्र पस्दै गरेकी छोरी मनचरीले देखेर हतपत उठाई।
सकीनसकी बसेर आमाले भन्नुभयो, ‘के गर्नु छोरीछोराहरू छुट्टिएर बसिहाले। सबैले वरिपरि घर बनाएका छन् तर सहयोग गर्न कोही आउँदैनन्।’
छोराहरू नआए पनि छोरी मनचरी प्रायजसो आएर सेवा गर्थी। आज पनि बेलैमा आइपुगेकीले आमालाई साह्रो हुन पाएन।
एकछिन गपसफ गरेपछि मनचरीले पोको खोल्दै भनी, ‘आमा, ल मैले दुधभात ल्याइदिएको छु। खानुहोस्?’
आमाले सासले भन्नुभयो, ‘म आफै खान सक्दिन छोरी।’
छोरीले आफैंले आमालाई खाना खुवाइदिइन्। खाना खुवाइसकेपछि उनले भनिन्, ‘आमा आँ गर्नु त मैले जेरी पनि ल्याइदिएको छु।’
छोरी मनचरीको घर पल्लो गाउँमा छ। एकछिनपछि मनचरीले भनी, ‘आमा म हजुरलाई हेर्न आइरहन्छु।’
मनचरी घरको काम भ्याएर खाना लिएर आँउथी र आमालाई खाना खुवाइदिने गर्थी। साथै सफासुग्घर र लुगाकपडा धोइदिने उनको दिनचर्या नै भएको थियो।
उता भाउजूबुहारीहरू चैं इशारा गर्दै नाक खुम्च्याउँथे।
‘देखौला नि कति समयसम्म हो आमाको सेवा गर्ने। अहिले बच्चा स्कुल गएको भएर आइटोपली छ।’
धेरै दिनदेखि समाजमा गाइँगुइँ हल्ला चलिरहेको थियो। उनीहरू भन्थे, ‘तिनै बुढीले दुख गरेर सँगालेको धनसम्पत्ति अंश लिएर बस्ने छोराहरू। अंश नखाने छोरीले आएर आमाको सेवा गर्नुपर्ने। यो त अन्याय भयो।’
त्यसै दिन घरमा समाज बस्यो। उनीहरूले छोराहरूतिर फर्केर भने, ’अब आमाको नाममा रहेको जग्गा छोरीको नाममा आजै पास गर्ने हो।’
दाजुभाइहरूमा रिसको आवेग सल्कियो। उनीहरूले बहिनीतिर फर्केर भने, ‘अंश खान पाउँछु भनेर यहाँ आएकी होस्।’
मनचरीले भने समाजतिर फर्केर भनिन्, ‘मलाई यो धनसम्पत्तिको कुनै लोभलालच छैन। सिर्फ आमाको सेवा गर्न पाऊँ।’
- तुलसी पण्डित
प्रकाशित: १२ फाल्गुन २०८१ १३:५१ सोमबार