नेपाल–भारत सीमावर्ती मोरङको जहदा गाउँपालिकाबाट प्रहरीले बिहीबार १ हजार १०२ किलोग्राम गाँजा बरामद गरेको छ।
जहदा–७ का २७ वर्षीय उमेश कामतको घरबाट १ हजार ८८ केजी र जहदा–५ का ३३ वर्षीय अरविन साहको घरबाट १४ केजी गाँजा फेला परेको हो। दुवैलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएर अनुसन्धान थालिएको छ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार विशेष सूचनाका आधारमा कामतको घरमा खानतलासी गर्दा लुकाइराखिएको गाँजा बरामद भएको हो।
साहको घरबाट पनि थप गाँजा फेला परेको उनले बताए। “गाँजा कहाँबाट ल्याइयो, कहिले भण्डारण गरियो र कहाँ लैजान लागिएको थियो भन्ने खुल्न बाँकी छ। अनुसन्धानपछि सबै विवरण आउनेछ,” डिएसपी जोशीले भने।
कोसी प्रदेशको धनकुटामा सबैभन्दा बढी गाँजा खेती हुने गरेको छ। प्रहरीले धनकुटा, भोजपुरलगायत क्षेत्रमा गाँजा फडानी गरे पनि कम गुणस्तरको ‘नाभो’ जातको गाँजा मात्र हटाउने गरेको स्रोतको दाबी छ।
यी क्षेत्रबाट गाँजा झापा, मोरङ र सुनसरीको सीमा क्षेत्रमा भण्डारण गरी मौका हेरेर भारत तस्करी गर्ने गरेको प्रहरीको अनुमान छ।
प्रकाशित: २१ चैत्र २०८१ २१:१० बिहीबार