९ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

प्याराग्लाइडिङ च्याम्पियनसिप : पुरुषतर्फ भारत र चीन तथा महिलातर्फ चीनलाई उपाधि

पोखरामा सम्पन्न अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगितामा पुरुषतर्फ भारत र चीनका खेलाडीले संयुक्त रूपमा उपाधि जितेका छन्।

नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा सम्पन्न ‘२१औँ खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप–२०२६’ अन्तर्गत पुरुष एकलतर्फको प्रतिस्पर्धामा भारतका अक्षय कुमार र चीनका झाओ चेनले समान ७/७ अंक प्राप्त गर्दै संयुक्त रूपमा उपाधि जितेका हुन्।

वर्षाका कारण पहिलो र दोस्रो दिनको उडानलाई आधार मानेर गरिएको प्रतियोगितामा भारतका इमान रम्तेल, एलिस्टर रम्तेल र मनीष उप्रेतीले समान ८/८ अंक प्राप्त गर्दै दोस्रो भए भने नेपालका पवन परियार र अरुण जलारीले समान ११/११ अंक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे।

पुरुषतर्फका विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे।

महिलातर्फको एकल प्रतिस्पर्धामा चीनकी कोङ सियाङ यान प्रथम भइन्। उनले कुल ७ अंक प्राप्त गर्दै ७५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र जितिन्।

सो प्रतिस्पर्धामा नेपालकी दुर्गामाया गुरुङ १२६ अंकसहित दोस्रो भइन् भने भारतकी श्रेया तामाङ १४९ अंकसहित तेस्रो भइन्। महिलातर्फको प्रतिस्पर्धामा १० खेलाडी सहभागी थिए। नेपालकी इशा राई चौथो र कृषु पौडेल पाँचौँ स्थानमा रहे।

समूहगत प्रतिस्पर्धामा भारतको टिम फ्लाई वर्क्स पहिलो भयो। ११ टोली सहभागी प्रतिस्पर्धामा राहुल राई, अक्षय कुमार, मोहर सिंह र मनीष उप्रेती सम्मिलित उक्त टोलीले कुल ३८ अंक प्राप्त गर्दै उपाधि जित्यो।

इन्डो–नेपाल टोलीका सोनम लामा, अरुण जलारी, कृष्णबहादुर क्षेत्री र गोपाल ठाकुरको समूह ६७ अंकसहित दोस्रो भयो भने नेपालका विष्णु तिमिल्सिना, सुमनजंग थापा, रोशन बस्नेत र युवराज सुनुवारको समूह १०८ अंकसहित तेस्रो भयो।

समूहगततर्फ पहिलो हुनेले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गरे।

नेपालतर्फको पुरुष प्रतिस्पर्धामा पवन परियार र अरुण जलारीले समान ११/११ अंकसहित पहिलो स्थान हासिल गरे भने ऋषि पौडेल र विष्णु तिमिल्सिनाले समान १२ अंक ल्याउँदै दोस्रो भए। अन्जन कुँवर १३ अंकसहित तेस्रो भए।

महिलातर्फ नेपालतर्फको प्रतिस्पर्धामा दुर्गामाया गुरुङ पहिलो, इशा राई दोस्रो र कृषु पौडेल तेस्रो भइन्।

प्रतियोगिताबाट दशौँ राष्ट्रिय खेलकुदका लागि गण्डकीबाट पुरुषतर्फ पवन परियार, अरुण जलारी र ऋषि पौडेल तथा महिलातर्फ दुर्गामाया गुरुङ र कृषु पौडेल छनोट भएका छन्। छनोट भएका खेलाडीले जनही १०/१० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे।

पाँच वर्षपछि आयोजना गरिएको प्रतियोगितामा पाँच देशका ५२ पुरुष र १० महिला गरी कुल ६२ जना पाइलट सहभागी थिए। नेपाल, भारत, चीन, फ्रान्स र जर्मनीका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।

वर्षाका कारण ५ राउन्डलाई आधार मानेर विजेता छनोट गरिएको आयोजक नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिल केसीले जानकारी दिए।

विजेता खेलाडीहरूलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक देवचन्द्रलाल कर्ण, गण्डकी खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराई लगायतले पुरस्कार वितरण गरेका थिए।

प्रकाशित: ८ चैत्र २०८२ १६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App