नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौको जेनजी प्रदर्शन र त्यसमा आफ्नो भूमिकालाई लिएर भइरहेका प्रश्नबारे जवाफ दिएकी छन्। उनले आफू प्रश्नभन्दा माथि नरहेको भन्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।
जेनजी आन्दोलनपछि सरकार गठनदेखि आजसम्म आफू आन्दोलनका मुद्दाहरू बोकेरै हिँडिरहेको उनले उल्लेख गरेकी छन्। केही दिनअघि माइतीघरमा आफ्नै उमेर समूहका साथीहरूले प्रश्न गरिरहेको भिडियोबारे चर्चा गर्दै उनले त्यहाँ लगाइएका धेरैजसो आरोप निराधार भएको दाबी गरिन्।
बममाथि केही जेनजी अभियन्ताहरूले गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानमन्त्री सुशीला कार्कीसँग सिधा पहुँच भए पनि देखाउनका लागि सडकमा नाटक मञ्चन गरेको आरोप लगाएका थिए। त्यसको जवाफमा उनले यस्तो बताएकी हुन्।
‘प्रधानमन्त्री र गृहमन्त्रीसँग पहुँच हुँदाहुँदै पनि किन सडकमारु’ भन्ने प्रश्न स्वाभाविक लागेको उल्लेख गर्दै उनले देशले निकास खोजिरहेको बेला आन्दोलनलाई संस्थागत गर्न उनीहरूसँग भेट भएको बताएकी छन्। ती भेटहरूमा कहिल्यै व्यक्तिगत स्वार्थका कुरा नगरेको र हरेक पटक जेनजी आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रश्नसहित आग्रह गरेको उनको भनाइ छ।
संवादबाट राज्य गम्भीर नदेखिएपछि सडक नै अन्तिम विकल्प बनेको उनले स्पष्ट पारेकी छन्। उनले भनेकी छन्, ‘साथीहरू, उहाँहरूसँग भेट्दैमा मैले भनेका सबै कुरा उहाँहरूले मान्नुहुन्छ भन्ने हुँदैन। सत्तामा बसेकाहरू आफ्नै हिसाबले निर्णय गर्ने रहेछन्।’
आफू चुनावको पक्षमा उभिएकाले कतिपय साथीहरूसँग दुरी बढेको हुन सक्ने तर्क उनको छ। आन्दोलनका घाइतेहरूको आक्रोशलाई न्यायसंगत मान्दै उनले राज्यले प्रतिवेदन सार्वजनिक नगर्नु र न्याय दिन नसक्नु राज्यको असक्षमता भएको बताएकी छन्। पीडितको क्षतिपूर्ति र न्यायका लागि आफू सधैँ साथमा रहने प्रतिबद्धता जनाउँदै उनले लोकतन्त्रको विपक्षमा उभिनेहरूको भने वैचारिक रूपमा साथ दिन नसक्ने स्पष्ट पारिन्।
धम्की र दुर्व्यवहारका सन्देशले आफू नडगमगाउने र विचारमा अडिग रहने समेत उनले उल्लेख गरेकी छन्। उनले भनेकी छन्, ‘बिना प्रमाण व्यक्तिगत लाञ्छना लगाउने र भ्रामक सूचना फैलाउने गतिविधिले आन्दोलनलाई कमजोर बनाउँछ र अराजकता फैलाउँछ।’ आफूलाई माया र समर्थन गर्ने तथा आलोचना गर्ने सबैलाई धन्यवाद दिँदै उनले प्रश्न सोध्ने तरिकाहरूमा भने आफ्नो आलोचनात्मक दृष्टिकोण रहने बताएकी छन्।
हेर्नुस् उनको फेसबुक स्टाटस
“म प्रश्नभन्दा माथि छैन।”
Gen Z आन्दोलनपछि सरकार गठनदेखि आजसम्म, म आन्दोलन बोकेरै हिँडिरहेकी छु। आन्दोलनका मुद्दाहरू बोकिरहेकी छु। यसै क्रममा २–३ दिनअघि माइतीघरमा ममाथि आफ्नै उमेर समूहका केही साथीहरू, विशेष गरी घाइते साथीहरूले चर्को स्वरमा प्रश्न गरिरहेको भिडियो तपाईंहरूले हेरिसक्नुभएको छ। त्यो कोलाहलमा ममाथि लगाइएका धेरैजसो आरोपहरू निराधार थिए। तर तीमध्ये एउटा प्रश्न मलाई स्वाभाविक लाग्यो। “प्रधानमन्त्री र गृहमन्त्रीसँग पहुँच हुँदाहुँदै पनि किन सडकमा?” यो प्रश्न मलाई सोधिनु स्वाभाविक हो।
देशले निकास खोजिरहेको बेला, चुनाव हुने सुनिश्चितताका लागि र आन्दोलनलाई संस्थागत गर्नका लागि, आन्दोलनको एउटा सरोकारवाला पक्ष भएको नाताले उहाँहरूसँग भेट हुन्थ्यो। तर ती भेटहरूमा मैले कहिल्यै व्यक्तिगत स्वार्थका कुरा गरेकी थिइनँ। यो मेरो सत्य हो। मैले हरेक भेटमा उहाँहरूलाई प्रश्न नै सोधेकी छु। प्रतिवेदन सार्वजनिक गरिदिनुहोस् भनेर बारम्बार प्रश्नसहित आग्रह गरेकी छु। तर जब भेट, आग्रह र संवादबाट पनि राज्य गम्भीर देखिएन, त्यो बेला मेरा लागि सडक नै अन्तिम विकल्प बन्यो। साथीहरू, उहाँहरूसँग भेट्दैमा मैले भनेका सबै कुरा उहाँहरूले मान्नुहुन्छ भन्ने हुँदैन। सत्तामा बसेकाहरू आफ्नै हिसाबले निर्णय गर्ने रहेछन् ।
म चुनावको पक्षमै उभिएकी थिएँ। तपाईंहरूमध्ये धेरैको प्राथमिकतामा चुनाव थिएन, त्यसैले म तपाईंहरूसँग टाढा देखिएकी हुन सक्छु। आन्दोलनका घाइते साथीहरू, तपाईंहरूको आक्रोश स्वाभाविक हो र न्यायसंगत पनि छ, किनकि तपाईंहरूले शरीरमा गोली बोकेर आवाज उठाइरहनुभएको छ। राज्यले अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगर्नु र न्यायको प्रत्याभूति दिलाउन नसक्नु राज्यको असक्षमता हो। यसमा हाम्रो कुनै मतभेद छैन। पीडित साथीहरूले पाउनुपर्ने क्षतिपूर्ति, सेवा–सुविधा र न्यायका लागि म आफूले सकेसम्म सधैँ तपाईंहरूको साथमा थिएँ र रहिरहनेछु।
तर यदि तपाईंहरू लोकतन्त्रको विपक्षमा उभिनुहुन्छ भने, म वैचारिक रूपमा तपाईंहरूको पक्षमा उभिन सक्दिन। यो मेरो स्पष्ट अडान हो। मलाई चर्को स्वरले तर्साएर, धम्की दिएर, “दुर्व्यवहार कस्तो हुन्छ देखाउनै बाँकी छ” भन्ने जस्ता सन्देश पठाएर म डगमगाउनेवाला छैन। म आफ्ना विचारमा अडिग छु र रहनेछु।
म आन्दोलनका सहिदका परिवारहरूसँग पनि संवादमै छु, अन्य घाइते साथीहरूसँग पनि संवादमै छु। म पूर्ण छैन, मेरा सीमितताहरू छन्, त्यसैले म सबै ठाउँ पुग्न सकिरहेको हुँदैन। त्यसैकारणले तपाईंहरूसँग प्रत्यक्ष रूपमा भेट नभएको हुन सक्छ, तर यो लडाइँ मेरो पनि हो। तपाईंहरूको पीडा, तपाईंहरूको घाउ, मेरो पनि हो। तर बिना प्रमाण मलाई व्यक्तिगत लाञ्छना लगाउने, आरोप लगाउने, चर्को स्वरमा चरित्रहत्या गर्ने, जे मन लाग्यो त्यही बोल्ने, भ्रामक सूचनाहरू फैलाउने जस्ता गतिविधिले कसैका व्यक्तिगत इच्छाहरू त पूरा होलान्, तर यसले स्वयम् हाम्रो आन्दोलनलाई नै कमजोर बनाउँछ र समाजमा अराजकता फैलाउँछ भन्ने मेरो बुझाइ छ।
अन्त्यमा, अस्तिको भिडियोपछि मलाई धेरै माया र समर्थनका सन्देशहरू आएका छन्। मलाई शुभेच्छा दिनुहुने र मसँगै रहेर ऐक्यबद्धता जनाउनुहुने सबैलाई साधुवाद। तपाईंहरूको मायाले मलाई थप ऊर्जा र जिम्मेवारीको महसुस गराएको छ। र मलाई गाली वा मेरो आलोचना गर्नुहुने सबैलाई पनि अझ धेरै साधुवाद। तपाईंहरूका गाली र आलोचनाहरूले मलाई प्रश्नहरूको सामना गर्न सक्ने व्यक्ति बनाएको छ।
फेरि पनि म प्रश्नभन्दा माथि छैन। तर प्रश्न सोध्ने तरिकाहरूमा भने आलोचनात्मक भइरहनेछु।
#ReleaseTheReport
प्रकाशित: ९ चैत्र २०८२ २१:५१ सोमबार





