तीन जना युवा मध्य एकजनाले रिसाउँदै भन्यो, ‘तेरो नोकर हौं हामी।’
‘हामी आन्दोलनमा आएका हौं। फोहोर सफा गर्न आएका होइनौं बुझ्नुभयो?’ तीमध्ये अर्को बोल्यो।
एकछिनमै झडप होला झैं वातावरण भयो। सबै राजधानी केन्द्रित आन्दोलनमा भाग लिन आएका थिए।
पिमलाललाई युवाहरूले खानै खोजे। अलि पर उभिएर त्यो देखिरहेको भिमले बिच बचाउने प्रयास गर्याे।
भिमले नजिकै पुगेर सोध्यो, ‘के भयो पिमलालजी?’
‘अंकल, ऊ त्यहाँ हेर्नु त ट्वाइलट सबै भरिएका छन्। तीनै ट्वाइलेट सफा गर्न हामीलाई आदेश दिन्छन्। अब हजुरले भन्नुस् हामी आन्दोलनमा आएका हौं कि फोहोर सफा गर्न?’ पहिलो युवाले पिमलाललाई बोल्नै नदिएर भन्यो।
‘पिमलालजी, हजुर जानुस् आफ्नो काममा।’ त्यहाँको माहोल तातिएको देखेर भिमले पिमलाललाई भित्र जान इसारा गर्याे। युवाहरू रातापिरा भएका थिए।
पिमलाल पनि लुसुक्क भित्रतिर लाग्यो।
‘अब यसैसँग सफा गराउनुपर्छ। त्यो फोहोर बल्ल थाहा हुन्छ यसलाई।’ अर्को युवा कराउन थाल्यो।
‘भाइ, हामी आपसमा नलडौं। देख्ने मानिसले के भन्लान्? कसैले बोल्न जान्दैनन्। ऊ खराब भयो भन्दैमा हामीले खराब हुनु त भएन नि। हामी सबैलाई चाहिने चीज हो।’
अहिले त्यो फोहोर छ सफा गरेपछि फोहोरो रहँदैन। हामी यहाँ कति दिनसम्म बस्नुपर्ने हो, बल्ल आएका छौं। हजुरहरू नरिसाउनुस्। मलाई भन्नुस् म गर्छु।’ भिमले आफूले लगाएको सर्ट खोल्यो, पाइजामा माथि गरायो र फोहोर सफा गर्न थाल्यो।
भिमले साफ गर्न थालेको देखेपछि युवाहरू सर्मिन्दा भए। उनीहरूले पानी ओसार्दै सफा गर्ने ठाउँमा पुर्याउन थाले।
‘अंकल, हजुर थाक्नुभयो। हामीले पनि गर्छौ।’ तीनै जनाले फोहोर सफा गर्नमा मद्दत गरे।एकछिनपछि त्यो ठाउँ फोहोरमुक्त भयो।
- सुरेशकुमार पाण्डे
प्रकाशित: ५ फाल्गुन २०८१ १३:४० सोमबार