२ माघ २०८१ बुधबार
image/svg+xml
कला

आत्मसमर्पण

लघुकथा

१) आत्मसमर्पण

अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि खटिएको प्रहरीको एउटा गाडी साँझसाँझमा शहरका मुख्य चोकहरू हुँदै एउटा अलि साँघुरो गल्लीमा पस्यो। गल्लीमा मान्छेहरूको भीडभाड थियो र बाटो साँघुरो थियो। गाडीले लामो हर्न दियो। मान्छेहरूले पुलुक्क हेरे र बाटाको दायाँबायाँ किनारातिर लागे।

गाडीले गति अलि घटायो। यसै बीचमा अधबैंसे जस्तो लाग्ने एकजना मान्छे अत्तालिएर दौड्न लाग्यो। मान्छेहरू अचम्म मान्दै त्यसतर्फ हेर्न थाले।  गाडी त्यसको परवाहै नगरी अगाडि घुइँकियो र त्यही हस्याङफस्याङ दौडिंदै गरेको मान्छेका नजिक पुग्यो। प्रहरीले त्यो दृष्य देख्यो र केही सहयोग गर्नुपर्ने रहेछ कि कसो भन्ठानेर गाडी रोक्यो। प्रहरी इन्स्पेक्टरसहित केही प्रहरी जवान बाहिर निस्किए र त्यसलाई पछ्याउँदै त्यसको नजिक गए।

जवानहरूले के भयो भनेर सोध्न नपाउँदै त्यो मान्छेले हात जोडेर भन्यो,  ‘हजुर म निर्दोष छु। त्यो घर लुट्ने काम साथीहरूले गरेका हुन्। मैले दराजको चाबी खोल्न मात्रै सघाएको हुँ।’

२) अभ्यास शिक्षण

इलाम,पाँचथर र ताप्लेजुङतिरका अंग्रेजी विषयका विद्यार्थीहरूको एक समूहले इलाम वा पाँचथरमा अभ्यास शिक्षणका निम्ति क्याम्पस प्रबन्ध गरिदिन मोरङ्गी कलेजसित अनुरोध गरे। उनीहरूले इन्टर्नल र एक्स्टर्नलका लागि दामासाहीले खर्च समेत ब्यहोर्ने भएपछि उक्त बहुमुखी क्याम्पसले पनि केन्द्रबाट अनुमति लियो र पाँचथरको एउटा  क्याम्पसलाई एमएडको अभ्यास शिक्षणका निम्ति बिएडको कक्षा उपलब्ध गरी सहयोग पुर्‍याइदिन अनुरोध गर्‍यो। विद्यार्थीहरूको समूह बन्यो। क्याम्पसको अभिमुखीकरणपछि आवश्यकीय परिपत्र र निर्देशनसहित टोली एक महिने अभ्यास शिक्षणका लागि त्यसतर्फ प्रस्थान गर्‍यो।

क्याम्पसले अनुगमनको काम शुरु गर्‍यो र त्यहाँका निम्ति इन्टर्नल समेत तोकियो।फरकफरक शैलीबाट विद्यार्थीहरूको नियमितताको अनुगमन गर्न थालियो। टाढा दूरीमा रहेको केन्द्र भएकाले कहिले क्याम्पस प्रमुख, कहिले विभागीय प्रमुख त कहिले इन्टर्नल स्वयंले कहिले कलेजलाई त कहिले विद्यार्थीलाई टेलिफोन गरिरहन्थे। कक्षा बिहानी सत्रमा थियो।

एक दिन विहानको ७ बजेतिर प्रशिक्षार्थी शिक्षक रामुको मोवाइलमा रिङ ट्युन बज्यो। रामुले यसो हेरे, इन्टर्नल सरको रहेछ। हतारहतार फोन उठाएर रामुले पहिलेपहिले जस्तै स्वाभाविक शैलीमा भने, ‘सर नमस्कार, म कलेजमा छु।’

इन्टर्नलले शब्दमै अभिवादन फर्काएर भने, ‘धन्यवाद भाइ, म कलेजको अफिस कोठामा छु। तपाईं कहाँनेर हुनुहुन्छ।’

पन्ध्र दिन अघिदेखि ताप्लेजुङको गाउँको आफ्नै घरमा रहेको रामुको निधारमा चिटचिट पसिना आउन थाले।

प्रकाशित: १४ पुस २०८१ १२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App