बागलुङ कालिका मन्दिर परिसरको कालिका कुञ्जमा चैते दशैं मेला जारी छ। चैते दशैंको अवसर पारेर बागलुङ कालिका मन्दिर दर्शन गर्न आउने र चैते दशैं मेला भर्न आउनेहरूको भीड लागेको छ। चैते दशैं मेलाको मुख्य कार्यक्रमस्थल बागलुङ कालिका बाल उद्यान प्रवेश गर्नासाथ गेटमै भर्खरै किशोर अवस्था पार गर्दै गरेका व्यक्तिहरू कोही ग्राहक बोलाउन व्यस्त छन् त कोही ग्राहकको चाहनाअनुसारका परिकार तयार पार्न। बाल उद्यान प्रवेशद्वारको दायाँपट्टि ‘बीबीए फास्ट फुड सेन्टर’ लेखिएको स्टलमा अहिले विद्यार्थीहरूको उद्यम अभ्यास चलिरहेको छ।
चैते दशैं मेलाका लागि बिहानैदेखि रातिसम्म फास्ट फुड सेन्टरमा आउने र ग्राहकको अर्डरअनुसार खाजा फास्ट फुडका परिकारहरू तयार गर्ने र पस्किने उनीहरूको दिनचर्या हो। आफ्नो स्टलको पहिचानका रूपमा उनीहरूले नेवारी परिकार योमरी र चटामरीलाई राखेका छन्। किचेन र वेटरको मोर्चा सम्हाल्ने बाहेकका विद्यार्थीहरू बाल उद्यान कार्यक्रमस्थल वरिपरि र उद्यानको गेट बाहिरसमेत पुगेर आफ्नो स्टल र सेवाबारे जानकारी गराउँदै आएका छन्।
धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा व्यवस्थापन संकाय अन्तर्गत बीबीएको पाँचौं सेमेस्टरमा अध्ययन गर्ने उनीहरूले किताबमा पढेका कुरालाई व्यवहारमा अनुभव गर्न अवधिभरका लागि फास्ट फुड सेन्टर सञ्चालनमा ल्याएका हुन्। यसबाट क्याम्पसमा पढेका कुराहरूलाई व्यवहारमा उतार्नका लागि सहयोग पुग्ने बीबीए पाँचौं सेमेस्टरकी टिम लिडर रोशा राजभण्डारी बताउँछिन्। “हामी बीबीएको पाँचौं सेमेस्टरमा अध्ययन गर्ने १९ जना मिलेर यो फास्ट फुड सेन्टर सञ्चालन गरेका हौँ, हामीले हाम्रो सीप र क्षमताको परीक्षण गर्ने उद्देश्य पनि हो,” उनले भनिन्।
उनीहरूले प्रति विद्यार्थी तीन हजार रुपैयाँ संकलन गरेर यो फास्ट फुड सञ्चालन गरेका हुन्। “हामी सबैले तीन हजारका दरले पैसा उठाएर आवश्यक सामग्री जुटायौँ,” उनी भन्छिन्, “यहाँ आवश्यक डेस्क, बेन्च लगायतका भौतिक सामग्री जुटाउनका लागि क्याम्पसले सहयोग गरेको छ। यहाँ स्टल राख्नका लागि आयोजकले निःशुल्क ठाउँ उपलब्ध गराएको छ।” विद्यार्थीमा किताबीसँगै व्यवहारिक ज्ञान होस् भनेर पनि यो काम थालिएको उनको भनाइ छ।
“हामी म्यानेजमेन्ट पढ्ने विद्यार्थी भोलिका दिनमा कलेज सकेर बजारमा जाँदा व्यवस्थापन कलामा सजिलो होस् भनेर हामीले यो काम थालेका छौँ,” उनले भनिन्, “अहिलेसम्म घोकन्ते शिक्षा लिएका थियौँ, अब यसलाई प्राक्टिकल गरेर हेरौँ, आम मानिससँग डिल गर्न र व्यवसायिक रूपमा परिपक्व हुनका लागि यसले सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास छ।” उनीहरूको स्टलमा आलु चिप्स, ससेज, मम, लस्सी, चिया, डोनट, समोसा, चटपटे, पानीपुरी पाइन्छ। योमरी र चटामरी यहाँका मुख्य रोजाइका परिकार बनेका छन्।
“योमरी र चटामरी हाम्रो मुख्य माग भएका परिकार हुन्, हामीले निश्चित बनाउने भएकाले अपुग पनि हुने गरेका छन्,” उनले भनिन्, “अन्य परिकारहरूको पनि प्रतिक्रिया राम्रो पाएका छौँ।” आफ्नो व्यवसायिक कला प्रस्फुटन गर्नका लागि फास्ट फुडले महत्वपूर्ण भूमिका खेल्ने शंकर रिजाल बताउँछन्। “हामी बीबीए पढेका विद्यार्थी व्यवसायिक रूपमा कसरी डिल गर्ने भन्ने क्षमताको विकास गर्न यसले सहयोग गर्छ,” उनी भन्छन्, “यहाँ बसेर ग्राहकसँग कुराकानी गर्ने, उनीहरूलाई हाम्रोबारे जानकारी गराउँदा त्यसले कम्युनिकेसन क्षमता पनि बढाएको मैले महसुस गरेको छु।”
फास्ट फुड सञ्चालन गरेर भएको मुनाफा शैक्षिक भ्रमणका लागि खर्च गर्ने योजना रहेको उनी बताउँछन्। “हामी विभिन्न ठाउँहरूमा शैक्षिक भ्रमण जानुपर्ने हुन्छ, यहाँबाट मुनाफा भयो भने त्यसका लागि खर्च गर्ने भन्ने हाम्रो सल्लाह भएको छ,” रिजालले भने। विद्यार्थीमा व्यवस्थापकीय कला र आम व्यक्तिसँग डिल गर्ने क्षमताको विकास होस् भनेर आफूहरूले पनि विद्यार्थीलाई यसरी व्यवसाय गर्न प्रेरित गरेको धवलागिरि बहुमुखी क्याम्पस बागलुङका बीबीए शिक्षक सुवास केसी बताउँछन्।
“बीबीए अध्ययन गरेका विद्यार्थी भोलि जसरी पनि बजारमा जानैपर्छ,” उनी भन्छन्, “यसबाट विद्यार्थीमा व्यवस्थापकीय र व्यक्तित्व नेतृत्व क्षमताको विकास हुने भएकाले हामीले पनि यसरी स्टल राख्नका लागि प्रेरित गरेका हौँ।” चैत १४ गतेसम्म चल्ने चैत्राष्टमी मेला २०८२ मा विद्यार्थीलाई निःशुल्क स्टल उपलब्ध गराइएको मेला आयोजक बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले बताए। “विद्यार्थीहरूले आफ्नो सीप र क्षमताको परीक्षण गर्ने, व्यवहारिकता सिक्ने थलोका रूपमा उपयोग गर्ने भएपछि हामीले पनि निःशुल्क ठाउँ दिएका छौँ,” खड्काले भने।
प्रकाशित: १३ चैत्र २०८२ १९:४५ शुक्रबार





