८ असार २०८१ शनिबार
image/svg+xml
कला

भदौ दोश्रो साता अन्तर विद्यालय ब्याण्ड प्रतिश्पर्धा

पोखरामा भदौ दोश्रो साता ‘अन्तर विद्यालय व्याण्ड प्रतिश्पर्धा’ हुने भएको छ। पोखरा सांगीतिक कलाकार संघको आयोजनामा भदौ १४ र १५ गते प्रतिश्पर्धा हुने आयोजकले जानकारी दिएको छ। दुईदिनसम्म हुने कार्यक्रम पोखरा सभागृहमा हुनेछ। 

‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक हर्कराज गुरुङ (भाई)ले जानकारी दिए।  पहिलो संस्करणमा अन्तर कलेज व्याण्ड प्रतिश्पर्धा गरेको संघले यसपटक प्रतियोगितालाई परिमार्जन गर्दै यो पटक विद्यालयस्तराको प्रतिश्पर्धा गर्न लागेको उनले जानकारी दिए।  

‘स्कुल र कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा गराउँदा तह मिलेन,’ उनले भने, ‘त्यसैले यस पटकदेखि विद्यालयस्तरीय प्रतियोगिता गर्ने निर्णय गर्यौं,’ उनले भने। ग्रासरुटबाटै कला र संगीतका प्रतिभा खोज्ने र उनीहरुको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाई छ। 

प्रतियोगितामा सहभागिताका लागि स्कुल लेभलका व्याण्डहरुले फारम भर्नुपर्ने संघले जनाएको छ। फारम भरेकाहरुले भिडियोमार्फत डिजिटल अडिसन दिनुपर्ने र सो प्रस्तुतीका आधारमा छनौट गरिने संघका अध्यक्ष गुरुङले जानकारी दिए। त्यसपछि भौतिक रुपमा अडिसन दिनुपर्ने र सो राउण्डमा स्कुल व्याण्डहरुले गण्डकी प्रदेशका सर्जकहरुको गीत प्रस्तुत गर्नुपर्ने प्रावधान राखिएको उनले बताए।  

त्यसमा छनौट भई फाईनलमा पुगेकाले एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकहरुको गरेर दुईवटा गीत प्रस्तुत गर्नुपर्ने अध्यक्ष गुरुङले बताए। सोही प्रस्तुतीका आधारमा बिजेता, उपबिजेता लगायतको घोषणा गरिने उनको भनाई छ।

 प्रतियोगिताले पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डलाई पुनःजागृत गराउने संघको भनाई छ। प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेको प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने अध्यक्ष गुरुङले बताए। ‘सुस्ताएको सांगितीक क्षेत्रलाई उठाउने प्रयास हो। यसमा व्याण्डले सबै विधामा प्रस्तुती दिन सक्छन्,’उनले भने। 

संघका सचिव भाष्करध्वज श्रेष्ठले ९० को दशकमा पोखरा व्याण्डहरुको राजधानी भनेर चिनिएको भन्दै सो पुरानो विरासत फर्काउन प्रतियोगिता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे। यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दवाब पुग्ने उनको धारणा छ। मानसिक स्वास्थ्य सुधार्नपनि कार्यक्रमले सघाउने उनको भनाई छ। 

प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, बेस गिटार, उत्कृष्ट ड्रमर, पव्लिक च्वाईस र जजच्वाईस लाई पनि नगद जनही ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए।

प्रकाशित: १ असार २०८१ १६:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App