१९ असार २०८१ बुधबार
image/svg+xml
कला

निफको ओपनिङ फिल्म : आनी छोइङ डोल्मा

चैत १ देखि ५ गतेसम्म चल्ने चलचित्र महोत्सवको ओपनिङ फिल्म आनी छोइङ डोल्माको जीवनीमा आधारित ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ डकुमेन्ट्री रहने नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) जनाएको छ।

जेनिफर लिन र सान बाई निर्देशित डकुमेन्ट्री महोत्सवको उद्घाटनसँगै देखाइने फिल्मका रुपमा रहने फेस्टिभलका अध्यक्ष केपी पाठकले जानकारी दिएका छन्।

आनीको सांगीतिक यात्रा, भिक्षु जीवन र समाज सेवालाई डकुमेन्ट्रीले प्रस्तुतिको विषय बनाएको छ। तर निर्देशक लिनले डकुमेन्ट्री आनीको स्वतन्त्रताको खोजीका रुपमा केन्द्रित रहेको बताएकी छन्।

हङकङको सिटी युनिभर्सिटीमा आमसञ्चारमा प्राध्यापनरत लिनले आनीलाई सात वर्ष पछ्याएर यो डकुमेन्ट्री तयार गरेकी हुन्। सन् २०१० मा गरिबीमा हुर्किएका बालिकाको शिक्षाका लागि आनीले स्थापना गरेको आर्यतारा स्कुलको भ्रमणपछि डकुमेन्ट्री बनाउने सोच पलाएको र यसको पाँच वर्षपछि काम थालेको लिनले बताएकी छन्।

सात वर्ष लगाएर बनाएको यो डकुमेन्ट्री विश्वका फिल्म फेस्टिभलमा आकर्षणको केन्द्र रहँदै आएको छ। डकुमेन्ट्रीले गत साल वार्सा इन्टरनेसनल फिल्म फेस्टिभलमा एसियन प्यासिफिक अडियन्स अवार्ड र नेटप्याक अवार्ड जितेको थियो।

डकुमेन्ट्री निफमा पनि माउन्ट एभरेस्ट अवार्डका लागि प्रतिस्पर्धामा रहेको छ। यो विधामा देश–विदेशका १३ वटा डकुमेन्ट्री प्रतिस्पर्धामा रहेका छन्। विजेता चलचित्रले एक हजार नगद राशिको माउन्ट एभरेस्ट अवार्ड प्राप्त गर्नेछन्।

आयोजकका अनुसार महोत्सवमा ४० देशका ८८ फिल्म प्रदर्शन हुँदैछन्। प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्र्रिया कार्यक्रमसमेत आयोजना गरिने छ। महोत्सवमा प्रदर्शन हुने चलचित्र क्युएफएक्स सिनेमाका शाखाहरु सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन्।

प्रकाशित: १३ फाल्गुन २०८० ०८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App