साहित्य आफैंमा तेस्रो आँखा हो, बुलन्द शक्ति हो। त्यही शक्तिभित्र अनेकन् शक्तिशाली आवाज जस्ताको त्यस्तै उतार्नु साहित्यको पहिलो मर्म र धर्म पनि हो। जसले समाजमा लुकाइएका, दबाइएका, पिल्सिएका, हरेक उज्याला किरणबाट छेकिएका र टाढा टाढा पु¥याइएका समस्यालाई ज्वलन्त पार्छ। हामी बसेको समाज कस्तो छ ? त्यसको यथार्थ चित्रण र चिरफार गर्छ साहित्यले। त्यसैले साहित्य कला मात्र नभई समग्र समाजको प्रतिबिम्ब हो। यस्तै समाजको प्रतिबिम्ब प्रस्तुत गर्ने कृति हो कवि मिमबहादुर परियारको कवितासङ्ग्रह ‘कर्णाली हाँस्दो छ’।
कवि परियारले कवितामार्फत जातव्यवस्थाबारे विद्रोहको बिगुल फुकेका छन्। सदियौंदेखि जातकै आधारमा विभेदमा परेका, हेपिएका, पिल्सिएका र मानवका रूपमा बाँच्न नपाएका लाखौं दलितको आवाज कवितामार्फत उठाएका छन्। हामी बाँचिरहेको समाजमा जातव्यवस्था कुन रूपमा प्रस्तुत छ, त्यसबारे आम मानिसलाई बुझ्न र बुझाउन कवितासंग्रहले मद्यत पु¥याउँछ। हामी कस्तो समाजमा हुर्कियौं। समाजबाट कस्तो ज्ञान पायौं र हामीले पाएको ज्ञानले कस्तो समाजको परिकल्पना गर्दैछ ? त्यसको यथार्थ कर्तुत ऐनामा अनुहार हेरेझैं कवितामा नेपाली समाज झल्किएको छ। यद्यपि मनमुटुमा अनेक अन्याय, अत्याचार, थिचोमिचो दिइरहेको समाजमा कसरी दलनभित्रको दलित हाँसिरहेको होला ? कसरी बाँचिरहेको होला ? यही सेरोफेरोमा रहेर कविता हाँस्दाहाँस्दै रोएको छ, कतै रुँदारुँदै हाँसिदिएको छ।
कवितासङ्ग्रह पढ्दा सुरुदेखि अन्त्यसम्म नेपाली समाजको सक्कलबमोजिम नक्कल जस्ताको त्यस्तै उतारिएको छ। जसमध्ये कवितासङ्ग्रहको पेज नम्बर ७७ को ‘जातशास्त्र पाठ्यक्रम’ शीर्षक कविताको पहिलो, दोस्रो र तेस्रो हरफ यसरी प्रस्तुत गरिएको छ।
जातशास्त्रको पाठ्यक्रम
मान्छेलाई मान्छे नदेख्ने जातशास्त्रको आफ्नै छ पाठ्यक्रम।
पहिलो एकाइमा छ बहिस्कार
दोस्रो एकाइमा छ तिरस्कार
तेस्रो एकाइमा छ विभेद
चौथो एकाइमा छ विभाजन अनि
पाँचौं एकाइमा हत्या।
जातशास्त्रको पाना पानामा कसरी थिचिएको
रगत पानाका शब्द शब्दभित्र लुकेको छ दलित चित्कार जातशास्त्रको अध्याय यस्तै छ, यस्तै छ
जातशास्त्रमा टिकेको मेरो देश
हिजोदेखि आजसम्म समाजमा जातशास्त्रको पाठ्यक्रम एउटै ढाँचामा आधारित छ। जुन अघिल्लो पुस्ताले घोकेको जात पछिल्लो पुस्ताले कपीपेस्ट गर्दै आएका छन्। ताकि जातशास्त्रको पाठ्यक्रमले मानवीय ज्ञान र सामाजिक सद्भावको ज्ञान निर्माण गरेको छैन। खासमा मानिसको ब्रह्म मानिसले नै यति धेरै दुरूपयोग किन गरेको होला ? किन चेतना नउघ्रिएको होला ? जहाँ जातशास्त्रको आँखाले दलितलाई मान्छेका रूपमा हेर्न र देख्न सकेको छैन। त्यसकारण जातशास्त्रको प्रत्येक एकाइमा जात पढ्ने र पढाउनेले मानवीय अस्तित्व र सामाजिक सद्भावभन्दा कतै पर बसेर दलितमाथि सधैं अन्याय, विभेद, बहिष्कार, तिरष्कार गरिरहेका छन्। त्यतिमात्र नभई नरसंहार, हत्या गर्नसमेत पछि हटेनन् ती जात पढ्ने शिष्य र जात पढाउने गुरु। उनीहरू मान्छेको कहिल्यै गुुरु बन्न सकेनन्। बरु उही मानिसबिचमा कसरी फरक छुटाउने, कस्ता कस्ता तानाबाना बुन्न सकिन्छ ? कस्ता जालहरूको घेरो लगाउन सकिन्छ भन्नेतिर उल्टो बाटो हिँडेको देखिन्छ। जातशास्त्रको पाठ्यक्रमले उचनिच जात निर्माण गरेर एउटै समुदायमाथि अन्याय, अत्याचार, दमन, विभेद, बहिष्कार र हत्या गर्नेबाहेक अरू कुनै मानवीय भलो हुने ज्ञान निर्माण गरेको इतिहास कहींकतै पढ्न पाइँदैन। फलस्वरूप जातको ज्ञानलाई शिरमा राखेर हिँड्नेको संख्या समाजमा यत्रतत्र पाइन्छ। सोही ज्ञानले दलितमाथि क्रूर अमानवीय व्यवहार र हत्या जस्ता गैर कानुनी कार्य गर्न सिकाएको छ कथित गैरदलितलाई। जसको ज्वलन्त उदाहरणमा रुकुम चौरजहरी सोती घटनाले नवराजको तस्बिर हाम्रै आँखा अगाडि उभ्याइदिन्छ। त्यसैले भन्न सकिन्छ हाम्रो देश जातशास्त्रमा टिकेको छ।
उसो त, जातशास्त्रकै कारण मानवता र सभ्यता समाजमा स्थापित हुन सकेको छैन। समाज अग्रगमन दिशा उन्मुख हुनुको साटो पश्चगमनतिर धकेलिँदै छ। जातशास्त्रको शिक्षाले नेपाली समाजलाई ढुंगे युगको जगमा बाँधेर राखेको छ। जसका कारण समाजमा मानवताको सबाल भन्दा पनि जातको सबाल अगाडि आइदिन्छ। यही विडम्बनाबिच हाम्रो समाज कता कता हराइरहेको देखिन्छ। बेहोसमै निदाइरहेको देखिन्छ। घरबाट बाहिर निस्किँदाबित्तिकै जात सोध्नेको केही हुल भेटिन्छन्। जात सोध्नेहरूका लागि जात सोध्नुको कारण विभेद गर्नु र आफूलाई ठुलो जातको तक्मा भिराइरहनुबाहेक अरू केही हँुदैन। नामभन्दा अघि जात सोध्नु, त्योभन्दा तल्लो निच केही हुन सक्ला र ? ती मानवीय सोचभन्दा पर कतै जातको ग्रहमा आफूलाई राख्न खोज्ने नश्लीय चिन्तकहरू कहिल्यै चेतशील प्राणी बन्लान् ? यो समाज परिवर्तनको चुनौती हो। लाज नमानी कसरी सोध्छन् जात अथवा थर सोध्नेहरूले ? त्यसबारे
कवि भन्छन् :
तपाईं के थरी?
अनायासै सोध्छन् कसैले
म झसंग हुन्छु
ए तपाईं त अर्कै थरी
अलि पर है।
मान्छे भेट्यो कि, तिमी के थरी ? भनिहाल्ने बानीले विभेदको मारमा दलित नै पर्छन्। दलित नै हुन् कि भनी भेटेका मानिससँग जात सोध्न पुग्छन् कथित दलित। उच्च जातको आफूलाई बनाउन मानवीय अस्तित्वभन्दा पर उभिएर सबैभन्दा निच सोच प्रस्तुत गर्छन्। थर सोध्न र विभेद गर्न प्राकृतिक रूपले अधिकार प्राप्त गरेर जन्मिएझैं गर्छन्। कस्तो सोच, विचार र बुझाइको विकास ग¥यो कथित गैरदलितमा जातशास्त्रले। जुन ज्ञान र शिक्षा विज्ञान र प्रकृतिभन्दा परको सवाल बनेको छ। मान्छेको थर थाहा नपाएसम्म कथित गैरदलितको मनमा जातशास्त्रले काउकुती लगाइरहने रहेछ। त्यही भएर नयाँ कोही भेट्यो कि जात जान्नैपर्ने तिनीहरूको अभ्यास हो। यसकारण भन्न सकिन्छ कि कथित गैरदलितको चेतना अझै जात व्यवस्थाको चंगुलमा फसेको छ। बाटोमा भेटिने कथित गैरदलित बटुवा, घर बहाल दिने घरबेटी र कुनै सभा सम्मेलनमा भेटिने दिग्गजहरूलाई जात नसोधी खाएको नपच्ने, त्यस्तै भाषा प्रयोग गर्ने, अनुहारको अभिव्यक्ति बदल्ने मानिस यही समाजमा भेटिन्छन्।
त्यही बुर्जुवा चेत भत्काउन र मानवीय संस्कार, व्यवस्था र सामाजिक सद्भाव सिकाउन कविले कविताको सिर्जना गरेका छन्। जतिबेला पनि मानवताभन्दा अगाडि जातको सबाल उठाउने ती अर्धचेत मानिसहरूको चेतमा परिवर्तनको दियो बाल्न कविले कविता लेखेका छन्। समाजलाई जातको भ्रमबाट माथि उठ्न र मानवशास्त्र र समाजशास्त्रको पाठ्यक्रम निर्माण गरी जातशास्त्रको अन्त्य गर्न आम चेतनशील प्राणीलाई सचेत बनाउन खोजेको छ।
त्यसो त, साहित्य कुनै परलोकबाट भुर्र उडेर आउने कुरा त होइन। बरु यो समाज, यी मान्छेहरूभित्र के छ? किन मानिस मानिसबिच यति ठुलो असमानता ? किन यति गहिरो घाउ ? किन यति धेरै अन्याय ? यसको जरो कहाँ छ ? पात कहाँ छ ? यो रुख लगायो कसले ? कस्तो फलको अपेक्षा राख्दै मलजल गरियो ? लगाएको त्यो रुख अन्धविश्वासको झारबाट समाजलाई कति छहारी दियो या झारमय बनायो ? यसमा खरो रूपले प्रश्न गरिएको छ कवितामा। नेपाली समाजको जातशास्त्रको चित्रलाई जस्ताको त्यस्तै सबैले बुझ्ने गरी चित्रण गरेको छ। समाजमा रहेका विकृति, विसंगति, अन्याय, अत्याचार र असमानता नबुझ्नेहरूकै लागि सामाजिक अस्तित्व र मानवीय भाव बुझाउन परियारको कविता सन्देशमूलक छ।
यसर्थ साहित्य आफ्नै लय, धुन र सुमधुरताबाट बहिरहेको हुन्छ, समाजको यथार्थ बोकेर हिँडिरहेको हुन्छ। विश्वका हरेक कुनामा साहित्य आफ्नै मन आफ्नै रङले उडिरहेको हुन्छ। आफ्नै छालसँगै बगिरहेको हुन्छ। समाजको वास्तविकतासँग जोडिँदै गाँसिदै गइरहेको हुन्छ। कविता दन्किरहेको आगो हो। कतिले त्यो आगो देख्छन् त कतिले देखेर पनि नदेखेझैं गरिदिन सक्छन्। मान्छेलाई थुन्न सकिन्छ तर भावना, विचार, आवाज र शब्दलाई थुन्न कहाँ सकिन्छ र ? कहाँ रोक्न सकिन्छ र ? तसर्थ साहित्य सशक्त माध्यम हो। केही शब्दहरू लेखेकै आधारमा जेलखानामा पुग्नुपर्ने समय पनि थियो नेपालका विभिन्न शासनकालमा। ती शब्द, बुलन्द आवाज कहिल्यै रोकिएनन्। कहिल्यै अस्ताएनन्, बरु उदाइरहे, चम्कि नै रहे, लम्कि नै रहे। समाज नबुझ्नेलाई बुझाउन, बुझेर बुझपचाएकालाई खबरदारी गर्न, जातशास्त्र विरुद्ध जागरण ल्याउन यी कविताले ज्ञानको दियो बालेका छन् ।
प्रकाशित: ६ माघ २०८० ०५:२९ शनिबार