८ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

समाजवादी आइन्सटाइनसँग स्विजरल्यान्डमा साक्षात्कार

नियात्रा

बर्न हिस्टोरिकल म्युजियममा आइन्सटाइनको मूर्तिसँग लेखक।

बर्न ट्रेन स्टेसनबाट बाहिर निस्कँदा मध्यदिउँसो भएको छ। इन्टरलाकन सहरमा ट्रेन चढ्दा पानी पर्ला जस्तो थियो। डेढ घण्टाको ट्रेन यात्राबाट बर्नमा उत्रँदा झलमल्ल घाम लागेको छ। पानी पर्ने मौसमी भविष्यवाणीलाई घामले चुनौती दिएको छ।

स्विजरल्यान्डको राजधानी तथा प्राचीन सहर बर्नको सडकमा पाइला चालिरहेका छौं सञ्जु, कृतिस, सुयश र म। महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनले हिँडेको बाटोमा उनको पदचिह्न पछ्याउँदैछौं। किताबमा भेटेको आइन्सटाइनका केही स्मृति मैले बोकेको छु हृदयमा। उनीसँग साक्षात्कार गर्न निस्केको छु उनी बसेको घरमा।

पक्की सडक छाडेर ढुंगा छापेका अलिक साँघुरा बाटामा हिँड्छौं। सडकका दुवैतिर विभिन्न पसल देख्छु। तिनले मेरो खासै ध्यान आकर्षित गरेका छैनन्। फेरि युरोपका अधिकांश पुराना सहरमा जता गए पनि बाटा, घर, पसल उस्तै लाग्छन् मलाई।     क्रामगास सडकको उनन्पचास नम्बरको घर अगाडि पुगेर रोकिन्छौं। त्यहीं थियो हाम्रो गन्तव्य आइन्सटाइन हाउस। घडी हेर्छु, त्यहाँ पुग्न दश मिनेट लागेछ।

चार तले आइन्सटाइन हाउसको भुईं तलामा गिफ्ट पसल रहेछ। पहिलो तलामा अल्बर्ट आइन्सटाइन बसेको अपार्टमेन्ट। त्यही अपार्टमेन्टलाई म्युजियमका रूपमा सञ्चालन गरिएको छ। म्युजियमले हामीलाई त्यहाँसम्म डोर्‍याएको हो।

जिज्ञासु नजर दौडाउँदै आइन्सटाइन हाउसभित्र प्रवेश गर्छौं। अहो ! आइन्सटाइनजस्तो महान् वैज्ञानिक बसेको घरको अवलोकन गर्न पाउनु कति खुसी र गर्वको कुरा ! यो त मेरो ठुलो भाग्य हो नि। साँघुरो भर्‍याङ चढ्दै गर्दा त्यसै गौरवान्वित हुन्छु म।

पहिलो तलामा हाम्रा पाइतलाले स्पर्श गरे। मिठो मुस्कान बोकेकी रिसेप्सनिस्टले हामीलाई स्वागत गरिन्। प्रवेश टिकट किनेपछि म्युजियम अवलोकनका लागि अगाडि बढ्छौं।

रिसेप्सनिस्ट बसेको कोठा पहिले आइन्सटाइनको बेडरुम रहेछ। उक्त कोठाको एउटा कुनामा आइन्सटाइनको फोटो भित्तामा झुन्डिएको छ। आइन्सटाइन सम्बन्धी विविध जानकारी टाँसिएका छन् भित्तामा। छेउमा आगन्तुक पुस्तिका देख्छु। त्यसले हाम्रो प्रतिक्रियाको अपेक्षा गरे जस्तो लाग्यो।

सञ्जुले हामी सबैको नाम लेखेर आइन्सटाइनका बारेमा केही शब्दहरू लेखिन्। सुयशले ग्रेट साइन्टिस्ट भनेर लेख्यो। मैले र कृतिसले केही लेखेनौं। मैले उनका बारेमा मनमै लेखेको छु। नियात्रा पनि लेखिहाल्छु। यस्तै कुरा सम्झेर केही लेखिनँ।

अध्ययन र जागिरको सिलसिलामा झन्डै अठार वर्ष स्विजरल्यान्डमा बिताएका आइन्सटाइन बर्न सहरमा मात्र सात वर्ष बसेका थिए। उनी सन् १९०३ मा स्विस पेटेन्ट अफिसमा काम गर्न बर्न सहरमा आएका रहेछन्।

अहिले म्युजियमका रूपमा सञ्चालित यस अपार्टमेन्टमा सबैभन्दा लामो समय सन् १९०३ देखि १९०५ सम्म बसेका रहेछन्। यही अपार्टमेन्टमा उनको भाग्यको द्वार खुल्यो। प्रगतिको सोपान चढे। यहाँको बसाइलाई आइन्सटाइनले आफ्नो जीवनको एकदम उपलब्धिपूर्ण समय मानेका छन्। त्यस काललाई उनको चमत्कारी वर्षका रूपमा पनि लिइन्छ। उनका चमत्कारका बारेमा थाहा पाउन लालायित छु। उनको जीवनको उतारचढाव जान्न उत्सुक छु।

त्यहाँबाट अर्को कोठामा प्रवेश गर्छौं। यो कोठा उनको जीवनी झल्काउने सूचनाले भरिपूर्ण रहेछ। आइन्सटाइनको परिवारका दुर्लभ चित्रहरू भित्तामा मुस्कुराइरहेका छन्।

 सोकेसमा सुरक्षित राखिएका उनका हस्तलिखित कागजका पानाहरू उनको सम्झना बोकेर बसेका छन्। उनले प्रयोग गरेका भाँडाकुँडा, कप, प्लेटलगायत विभिन्न सामग्री उनलाई स्मरण गर्दै सोकेसभित्र आराम गरिरहेका छन्। उनले प्रयोग गरेका फर्निचर, कुर्सी, टेबल, सोफा आदि उनको प्रतीक्षामा रहेको पाउँछु।

आइन्सटाइनको नाममा निकालिएको चाँदीका सिक्का उनको अनुहार टाँसेर उज्यालो देखिएका छन्। ती सबै सामग्रीले आइन्सटाइनको उपस्थितिको आभास दिइरहेका छन्।

सडकपट्टि झ्याल भएको म उभिएको कोठा खासै ठुलो छैन। झ्यालबाट सूर्यको प्रकाशले चिहाइरहेको छ भित्र। म झ्यालबाट बाहिर चियाउँछु। बाहिरको भिडभाडबाट भित्रै फर्किन्छन् मेरा आँखा। म यस उज्यालो कोठालाई सम्झन्छु। यही साधारण कोठामा त हो नि आइन्सटाइनले असाधारण सिद्धान्त प्रतिपादन गरेका। यहीं त हो नि सापेक्षतावादको सिद्धान्त विकास गरेको।

विज्ञानका सिद्धान्तहरू धेरैले बुझ्दैनन्। म झन् फिटिक्कै बुझ्दिनँ। भनिन्छ, उनको सापेक्षतावाद सिद्धान्त प्रतिपादन हुँदा उतिबेला त्यसलाई बुझ्ने मानिस विश्वभरि करिब एक दर्जन मात्र थिए। त्यो जटिल सापेक्षतावादको सिद्धान्तको पाण्डुलिपि अहिले ‘लाइब्रेरी अफ कंग्रेस’ वासिंटन डिसीमा सुरक्षित राखिएको छ।

e=mc2 सूत्रको जन्म भएको कोठामा उभिएको छु। यही सिद्धान्त र सूत्रका आधारबाट आणविक ऊर्जा उत्पादन गर्न र आणविक बम बनाउन सकिएको हो। मस्तिष्कमा तयार भएर कागजमा लेखिएको सिद्धान्तबाट बनेको आणविक बमले केही मिनेटमा सारा संसारलाई खरानी बनाउन सक्छ। यदि केही आणविक बम विष्फोट भयो भने यस धर्तीका कुनै पनि जीव बाँच्ने छैनन्। आणविक बम विस्फोटनको कल्पना गर्दागर्दै मनमा एक खालको डर पो उत्पन्न हुन्छ।

‘जाऊँ अब ?’ सञ्जुले सोधेपछि झसङ्ग हुन्छु।

त्यस कक्षको अवलोकनपश्चात् हामी तेस्रो तलामा उक्लियौं। हुन त तेस्रो तलामा उनी बसेका थिएनन्। त्यहाँ उनका बारेमा आधिकारिक जानकारी दिने सामग्रीहरू भएकाले हामी आकर्षित भएका थियौं।

तेस्रो तलामा पुग्दा एउटा कक्षमा आइन्सटाइनका बारेमा एउटा वृत्तचित्र सञ्चालन भइरहेको थियो। वृत्तचित्र हेर्नतिर नलागी उनको जीवनका आरोह–अवरोह बताउने व्यक्तिचित्र हेर्नतिर लाग्छौं। त्यस कोठामा उनको जीवनको महत्वपूर्ण समयको संक्षेपीकरण गरिएका जानकारी कलात्मक र बुझिने गरी प्रदर्शनी गरिएको छ। त्यसमा नजर लगाउँछु। स्मृतिबाट नहराऊन् भनेर डायरीमा केही टिप्छु। सुरक्षित रहिरहून् भनेर मोबाइल फोनको क्यामेराले खिच्छु।

स्कुलका अन्य विद्यार्थीसँग अबोध आइन्सटाइन उभिएको फोटो भित्तामा देख्छु। त्यस तस्बिरले मेरो ध्यान खिच्छ। जर्मनीको उल्म सहरमा १४ मार्च, सन् १८७९ मा जन्मेका आइन्सटाइनको उक्त तस्बिरले उनको बचपन बताइरहेको थियो।

अरू बच्चाका तुलनामा आइन्सटाइनको बोली अलिक ढिलो फुटेको थियो। चिकित्सा विज्ञानमा बच्चाबच्चीमा अलि ढिला बोली फुट्नुलाई ‘आइन्स्टाइन सिन्ड्रोम’ भनेर नाम दिइएको छ। मलाई ‘आइन्सटाइन सिन्ड्रोम’ नाम खुब मन पर्‍यो।

त्यसरी ढिलो बोली फुट्ने बच्चा र तिनका आमाबुबालाई त्यस नामका कारण कुनै ग्लानि हुने छैन। त्यस्ता बच्चाबच्ची भविष्यमा आइन्सटाइन जत्तिकै बुद्धिमान हुने छन् भनेर तिनमा मनोवैज्ञानिक प्रभाव पर्ने छ। कमसेकम बच्चाले हेपिनुपर्ने छैन। कसले न्वारान गर्‍यो होला यति राम्रो ‘आइन्सटाइन सिन्ड्रोम’ नाम?

आइन्सटाइन सानो उमेरमा कम बोल्ने र एकान्तप्रेमी थिए। अन्य बालकका तुलनामा उनको टाउको अलिक ठुलो थियो। त्यति मात्र होइन, अन्य बालकभन्दा फरक प्रकृतिका थिए। यहुदी पनि भएका कारण कक्षाका अरू साथीहरू उनलाई हेप्ने र होच्याउने गर्थे।

 शिक्षकले प्रश्न सोध्दा उनी तुरुन्त जवाफ दिन सक्दैनथे। शिक्षकहरू समेत उनलाई मन्दबुद्धि भएको भनेर गाली गर्थे। हेपिएको र गाली खाएको त्यो बालक पछि संसारको महान् वैज्ञानिक बन्यो। उक्त घटना हामी सबैका लागि प्रेरणा र शिक्षा हो भन्ने लागेको छ मलाई।

आइन्सटाइनको पुरानो पासपोर्ट एउटा सोकेसमा राखिएको देख्छु। इटाली, चेकोस्लोभाकिया, जापान आदि देशका अध्यागमनको छाप लागेको उक्त पासपोर्टले उनको यात्राका बारेमा थोरै भए पनि जानकारी दिएको छ।

जर्मन नागरिक आइन्सटाइनले तीन देशको नागरिकता लिएका थिए। उनीसँग स्विजरल्यान्डको नागरिकता थियो। सन् १९३३ मा स्थायी रूपमा अमेरिका बसाइ सरेर गएपछि अमेरिकाको पनि नागरिकता लिए। विश्वका मानव जातिका बारेमा सोच्ने ती महामानवले जुनै देशको नागरिकता लिए पनि म उनलाई अन्तर्राष्ट्रिय नागरिक भन्न मन पराउँछु।

विश्वमा शान्ति र समानताका लागि चलाइने अभियानमा आइन्सटाइनको सहयोग र समर्थन थियो। उनी अन्याय, अत्याचार र युद्धका विरोधी थिए। उनले पहिलो विश्वयुद्ध सुरु भएपछि लिग अफ नेसनको माग गर्दै गरिएको युरोपको घोषणामा हस्ताक्षर गरेर लिग अफ युरोपका लागि अपिल गरेका थिए।

हिटलरको नाजीवाद, मुसालिनीको फाँसीवाद र जापानको सैन्यवादको खुलेर विरोध गरेका थिए। अमेरिकी नागरिकता लिएर अमेरिकामा बसे पनि जापानको हिरोसिमा र नागासाकीमा आणविक बम खसाएर लाखौं निर्दोष जापानी नागरिकको हत्या गर्ने अमेरिकाको भत्र्सना गर्न डराएनन्।

दोस्रो विश्वयुद्धपछि उनी निःशस्त्रीकरणको अभियानमा पनि लागे। फेरि युद्ध दोहोरिन नदिनका लागि विश्व सरकारको पक्षमा सक्रिय भए। ती मानवतावादी आइन्सटाइनका उक्त कार्य स्मरण गर्दै आइन्सटाइन हाउसबाट उनलाई नमन गर्छु।

त्यस कक्षमा प्रदर्शन गरिएको उनको प्राज्ञिक, अनुसन्धान र अध्यापन कार्यका झलक दिने विभिन्न तस्बिरहरूले उनका कामका बारेमा थुप्रै जानकारी दिएका छन्। उनले क्वान्टम यान्त्रिकी विषयमा शोधपत्र प्रकाशित गरेको सूचना, जुरिच विश्वविद्यालयले उनलाई सहायक प्रोफेसरका रूपमा नियुक्त गरेको जानकारी, चेकोस्लोभाकियाको प्रागविश्वविद्यालयमा प्राध्यापन, बर्लिनको विज्ञान एकेडेमीमा प्रोफेसर भएको जानकारीहरू उनको सफलता सिँढीका रूपमा देख्छु।

उनको ख्याति संसारभर फैलिएपछि धेरै विश्वविद्यालयले उनलाई मानार्थ डक्टरेटको उपाधि दिएर सम्मान गरेको कुरा त्यहीं थाहा पाउँछु। उनले विज्ञान, चिकित्साशास्त्र र दर्शनशास्त्रमा युरोप र अमेरिकाका दर्जनांै विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि पाएका थिए। ती जानकारी पढ्दै जाँदा सम्मानले उनलाई खोज्दै गएको देख्छु म।

भित्तामा टाँसिएको आइन्सटाइनले भ्वाइलिन बजाइरहेको तस्बिरले मेरो ध्यान आकृष्ट गर्छ। उनमा संगीतको समेत गहिरो ज्ञान रहेछ भन्ने कुरा त्यहीं पुगेर थाहा पाएँ। आइन्सटाइनलाई संगीत धेरै मन पर्दो रहेछ।

सानै उमेरमा उनले आफ्नी आमासँग भ्वाइलिन बजाउन सिकेका रहेछन्। विभिन्न अनुसन्धानको कामपछि ताजा र तनावमुक्त हुन आइन्सटाइनले भ्वाइलिन बजाउँदा रहेछन्। उनले आफ्नै घरमा र सार्वजनिक रूपमा सांगीतिक कार्यक्रमको आयोजना गर्ने कुरा थाहा पाउँदा मिठो संगीत गुन्जियो मेरो मनभित्र।

अवलोकनका क्रममा एउटा जानकारी पढेर दुःखी पो बनायो। आइन्सटाइनको प्रेम र वैवाहिक जीवन उतारचढावले भरिएको रहेछ। उनको पारिवारिक जीवन सुखी नभएको थाहा पाउँदा चसक्क भयो मन। आफूभन्दा तीन वर्ष जेठी कलेजकी सहपाठी मिलेभा मारिच नाम गरेकी केटीसँगको प्रेमलाई विवाहमा परिणत गरेका रहेछन्।

आइन्सटाइन अधिक समय आफ्नो काममा नै व्यस्त हुनाले उनीहरूको सम्बन्धमा बिस्तारै फाटो आएछ। विवाह गरेको सोह्र वर्षपछि आइन्सटाइन र मिलेभाले सम्बन्ध विच्छेद गरे। त्यसपछि आइन्सटाइनले आफ्नै मामाकी छोरी एल्सासँग दोस्रो विवाह गरे।  

आइन्सटाइन नारीका मामलामा निकै कमजोर रहेको थाहा पाउँदा चकित हुन्छु। चिठीमार्फत उनका अरू छ जना महिलासँग सम्बन्ध भएको खुलेको छ। अहो, उनी त नारीका प्रशंसक पो रहेछन्। नारीलाई उनले खोज्दै गएका हुन् कि नारीहरू उनका पछि लागेका हुन् भनेर थाहा पाउन मन लागेको छ।

उसो त म नारीहरूलाई ऊर्जाका रूपमा मान्छु। असल र सकारात्मक जीवन साथी हुन् या महिला साथी, तिनीहरूबाट पुरुषले अथाह ऊर्जा र सफलता पाउँछन् भन्ने मेरो बुझाइ छ।

अवलोकनका क्रममा आइन्सटाइनले नोबेल पुरस्कार पाएको एउटा जानकारीमा आँखा रोकिन्छन्। उनले सन् १९२१ को भौतिक शास्त्रतर्फको विश्वप्रसिद्ध नोबेल पुरस्कार प्राप्त गरेका थिए।

उक्त पुरस्कार फोटो इलेक्ट्रिक प्रभाव सम्बन्धी नियमका लागि दिइएको थियो। आइन्सटाइनले आफूले पाएको उक्त पुरस्कारको सम्पूर्ण रकम सम्बन्ध विच्छेद भइसकेकी श्रीमतीलाई दिए। उनको यो उदारताको म सम्मान गर्छु।

आइन्सटाइन हाउसमा उनको जीवनको ससानो झलक हेरेर थुप्रै जानकारी बटुलें। हेर्न बाँकी केही थिएन। अल्बर्ट आइन्सटाइनको अर्को म्युजियम अवलोकनका लागि आइन्सटाइन हाउसबाट बाहिर निस्कन्छौं।

फुसफुसे पानी परिरहेको छ। अघिसम्म पानी पर्ने कुनै छनक नभएको स्विजरल्यान्डको आकाशबाट पानी बिर्बिराइरहेको छ। हामीसँग न छाता छ, न रेनकोट नै। फुसफुसे पानीका कारण यात्रा रोक्ने कुरा आएन। युरोपको बहुरूपी मौसमसँग हामी अभ्यस्त भइसकेका छौं। म्युजियमलाई गन्तव्य बनाएर छिट्छिटो लम्किन्छौं।

करिब पाँच मिनेट हिँडेपछि बाटोमा एउटा नदी देखियो। नदीमाथि बनाइएको पुलमाथि गाडी, ट्राम र मानिसको आवतजावत छ। पुलमाथि उभिएर तल बगिरहेको नदीलाई चिहाउँछु। त्यहाँ धेरैबेर रमिता हेरे पानीले निथु्रक्क पार्ने भएकाले म्युजियमतिर पाइला चाल्छौं।

पुलमा हिँड्दै गर्दा परैबाट ‘बर्न हिस्टोरिकल म्युजियम’ देख्छु। त्यही थियो आइन्सटाइन म्युजियम। स्विस शैलीको आकर्षक भवनमा रहेको म्युजियमको बाहिरी स्वरूप देखेर मुग्ध हुन्छु।

म्युजियम प्रवेश गर्ने मुख्य गेट छेउमा विभिन्न मूर्तिकलासँग जम्काभेट हुन्छ। ती कुन कलाकारका सुन्दर सिर्जना हुन् थाहा पाइनँ। ती मूर्तिकलामा एकछिन नजर लगाएर भित्र पस्छौं।

मूल ढोका अगाडि एउटा बेन्चमा हाम्रै स्वागतार्थ आइन्सटाइन बसेको जस्तो देख्छु। उपरखुट्टी लगाएर बसेका आइन्सटाइनको पूर्ण कदको काँसको मूर्ति गहिरिए हेर्छु। फोटोमा देखे जस्तै दुरुस्त छ अनुहार र शारीरिक बनावट। कुन कलाकारले यति राम्रो सिर्जना गरे होलान्? मनमा जिज्ञाशा उठ्छ।

अवलोकनकर्ताहरू आइन्सटाइनको काँधमा हात राखेर फोटो खिचाइरहेका छन्। पालो पर्खेर बसेको म आइन्सटाइनसँग फोटो खिचाउन अधैर्य भइसकेको छु। बल्ल मेरो पालो आयो। म पनि उनको काँधमा हात राखेर फोटो खिचाउँछु र दंग पर्छु। आइन्सटाइनसँग प्रत्यक्ष साक्षात्कार भएको अनुभूति भइरह्यो पछिसम्म।

आइन्सटाइनसँग बिदा मागेर हामी म्युजियमभित्र पस्छौं। तीन तले म्युजियमको दोस्रो तला अल्बर्ट आइन्सटाइनको नाममा छुट्याएको रहेछ। बाँकी तला अन्य विषयसँग सम्बन्धित रहेछन्। हामी हतारका यात्री थियौं। हाम्रो मुख्य उद्देश्य आइन्सटाइन रहेकाले अरूतिर नअल्मलिई पाइला चाल्छौं।

दोस्रो तलाको प्रदर्शनी कक्षमा प्रवेश गर्ने बित्तिकै यहुदी जीवन, धर्म र संस्कृतिबारे थुप्रै जानकारी देख्छु। चित्र, फोटा तथा श्रव्य–दृश्य सामग्रीहरूले प्रशस्त सूचना दिइरहेका छन्। तिनमा सरसर्ती नजर लगाउँछु।

अवलोकनका क्रममा आइन्सटाइनको जीवनको एक झलक देख्छु। उनको पलङ, टेबुल र कुर्सी भएको ठाउँमा पुगेर नजिकै उभिन्छु। तिनलाई स्पर्श गर्छु। मलाई त आइन्सटाइन त्यहीं वरिपरि भए जस्तो पो लाग्यो।

भित्तामा आइन्सटाइनको जिंग्रिङ्ग परेको केस भएको एउटा चित्र देख्छु। सर्वव्यापी त्यो चित्र उनको पहिचान बनेको छ। त्यस चित्रले मलाई उनको अनौठो बानीको स्मरण गरायो।

आइन्सटाइन कपाल कोर्दैनथे, मोजासमेत लगाउँदैनथे, न त उनी जुत्तामा पालिस लगाउँथे। आफ्ना लुगासमेत चटक्क पारेर लगाएनन्। उनी राम्ररी नाम, स्थान, साल, मितिसमेत सम्झँदैनथे। पटकपटक उनले घरको ठेगाना र आफू जानुपर्ने ठाउँसमेत बिर्सेका थिए।

‘सापेक्षता सिद्धान्त’को जानकारी दिने एउटा कक्षमा विभिन्न सूचना देख्छु। आइन्सटाइनले सापेक्षताको विशेष र सामान्य सिद्धान्तमा महत्वपूर्ण कार्य गरेका थिए। त्यसअलावा एक अणुयुक्त ग्यासको क्वान्टम सिद्धान्त, कम विकिरण घनत्वयुक्त प्रकाशको गुण, विकिरणको सिद्धान्त र भौतिकीय ज्यामितीकरण आदिमा उनले योगदान  दिएका छन्।

आइन्सटाइनको परिवारले पहिलोपटक बिजुली प्रयोग गरेको चित्रले मलाई आकर्षित पार्‍यो। भर्खर आएको उतिबेलाको बिजुली धनीमानीले मात्र उपयोग गर्थे।

म्युनिख सहरमा उनका पिता र काका मिलेर इलेक्ट्रिक कम्पनी खोलेका थिए। त्यस कम्पनीले बिजुलीका उपकरणहरू बनाउँथ्यो। त्यस कम्पनीले म्युनिखको अक्टोबर मेलामा पहिलोपल्ट उज्यालोको व्यवस्था गरेको थियो। आइन्सटाइन सानैदेखि बुबा र काकाले बनाएका विद्युतीय सामग्रीहरूमा रुचि राख्थे। ती विद्युतीय सामग्री र तिनले काम गरेको देखेर उनी अचम्मित हुन्थे। सोही कारण उनका बुबाले उनलाई इलेक्ट्रिकल इन्जिनियर बनाउन चाहन्थे। आइन्सटाइनको भौतिक विज्ञानमा रुचि भएकाले बुबाको इच्छालाई त्यागिदिए।

अवलोकनका क्रममा भित्तामा हिटलरको ठुलो फोटो देखेर रोकिएँ। छेउमा हिटलर लेखेको नाजी पार्टीको पोस्टर पनि थियो। प्रथम विश्व युद्धका घटना, यहुदीहरूले भोग्नुपरेको पीडा, यहुदी सफाया अभियान, ग्यास च्याम्बरबारे थुप्रै सामग्री र सूचना हेर्दाहेर्दै मन भक्कानियो।

प्रस्ट वक्ता र यहुदी भएकै कारण जर्मनीको सत्तामा आएको हिटलरको नाजी पार्टीले उनलाई तारो बनायो। उनको टाउको काटेर ल्याउनेलाई पाँच हजार डलरको घोषणा ग¥यो। त्यसपछि ज्यान जोगाउन उनले आफ्नो जन्मभूमि छाड्नुपरेको थियो। आफ्नै देशबाट महान् वैज्ञानिकले भोग्नुपरेको घटना उनकै म्युजियमभित्र सम्झँदा नमिठो लाग्यो।

अनुसन्धानमा व्यस्त भएजस्तो आइन्सटाइनको एउटा तस्बिरमा मेरा आँखा अडिए। त्यस तस्बिरले अनुसन्धानसम्बन्धी उनको एउटा भनाइको स्मरण गरायो। उनी भन्छन्, ‘एउटै कार्य एउटै तरिकाले पटक पटक गर्नु तर फरक नतिजाको अपेक्षा गर्नु नै पागलपन हो।’ वास्तवमा फरक तरिका र फरक प्रयासले नै नयाँ खोज पत्ता लाग्छ। नयाँ कुराको विकास गर्न सकिन्छ। अनि मात्र सही परिणाम प्राप्त हुन्छ।

उनी समाजवादी भएको कुरा त्यस म्युजियममा पुगेपछि पहिलोपटक थाहा पाएँ। उनले सन् १९४९ मा ‘मन्थली रिभ्यु’ पत्रिकाको प्रथम अंकमा समाजवाद नै किन भन्ने विषयमा एउटा लेख लेखेका रहेछन्। त्यहाँ उनले समाजवाद र अर्थशास्त्रबारे विश्लेषणात्मक जानकारी दिएका छन्।

विश्वमा चलिरहेको वर्तमान संकटको समाधान पुँजीवाद नभई समाजवाद हो भनी व्याख्या गरेका छन्। समाजवादी आइन्सटाइनले रुसमा भएको अक्टोवर समाजवादी क्रान्तिको समर्थन गरेका थिए। तर, आशाअनुसार सोभियत संघमा समाजवादले काम नगर्दा त्यसको आलोचना पनि गरेका थिए। त्यसरी आलोचना गर्दा पनि स्टालिनले आइन्सटाइनलाई सुविधासहित सोभियत संघमा बस्न अनुरोध गर्दा उनले अस्वीकार गरेका थिए।

सन् १९५२ मा इजरायलका प्रधानमन्त्रीले आइन्सटाइनलाई इजरायलमा राष्ट्रपति बनिदिन अनुरोधसहित राखिएको प्रस्तावलाई समेत उनले अस्वीकार गरेका थिए। सत्ता र सुविधाका लागि ज्यान फालेर लाग्नेहरूले उनीबाट शिक्षा लिए हुन्थ्यो भन्छु म।

भित्तामा ‘टाइम’ पत्रिकामा उनको आवरण चित्र छापिएको तस्बिर देख्छु। त्यसलाई ध्यान दिएर हेर्छु। उनको चित्रमाथि ‘पर्सन अफ द सेन्चुरी’ लेखिएको छ। सन् १९९९ मा टाइम पत्रिकाले उनलाई शताब्दी पुरुष घोषणा गरेको थियो।

टाइम पत्रिकाले विशिष्ट व्यक्तिहरूको तस्बिर मात्र कभरमा छाप्छ। अचम्मको कुरा सोही टाइम पत्रिकाले धेरै पहिले परमाणु बम र आणविक हतियारको विकास आइन्सटाइनका कारण सम्भव भएको दोष लगाएर लेख पनि लेखेको थाहा पाउँदा अनौठो मान्छु।  

अमेरिकी सरकारले आइन्सटाइनको शान्तिवादी नीति र कम्युनिस्ट पार्टीप्रतिको सहानुभूतिका कारण दोस्रो विश्वयुद्धका समयमा परमाणु बम बनाउने काममा उनलाई संलग्न गराएको थिएन। आइन्सटाइनले अमेरिकी हस्तक्षेपको सधै खुलेर विरोध गरेका थिए। अमेरिकी नीतिको आलोचना गर्दा उनलाई अमेरिकी सरकारले कम्युनिस्टको नाममा दुःख पनि दिएको थियो। उनीविरुद्ध अमेरिकी गुप्तचर संस्थाले चौधसय पृष्ठको अनेकन् आरोप लगाइएको फाइल तयार पारेको घटना थाहा पाउँदा उदेक लाग्छ।

महान् वैज्ञानिक आइन्सटाइनसँग उनको नाममा स्थापित म्युजियममा साक्षात्कार गरिरहँदा थुप्रै जानकारी बटुलिरहेको छु। जन्मले यहुदी भए पनि आइन्सटाइन सबै धर्मलाई उत्तिकै सम्मान गर्थे। उनी विनम्र थिए, सबैको कदर गर्थे। राजनीतिक विचारका हिसाबले उनी समाजवादी थिए। उनी गान्धीको विचार र जीवनशैलीबाट विशेष प्रभावित थिए।

आइन्सटाइन शब्द बुद्धिमान्को पर्याय मानिन्छ। उनलाई संसारले बुद्धिमान् माने पनि उनको भनाइ अचानक सम्झना आउँछ। आइन्सटाइनले भनेका छन्, ‘मूर्खता र बुद्धिमत्तामा यही फरक छ कि बुद्धिमत्ताको एक सीमा हुन्छ।’

आजकल मानिस अरूसामु आफूलाई बुद्धिमान् देखाउने होडबाजीमा छ। भेटघाट हुँदा बोलेर होस् या सामाजिक सञ्जालमा लेखेर होस्, आफूलाई सर्वज्ञानी प्रमाणित गराउने प्रयास गर्छन्। आफूलाई पक्का बुद्धिमान् भएको देखाउन बुद्धिजीवी संघसंगठनका पदमा बस्नका लागि अनेक तिकडम र मुख्र्याइँ गर्छन्। ती संस्थामा बुद्धिविहीनहरूको हालीमुहाली र चुरीफुरी देख्छु म। त्यस्ता कुराले लोक हँसाएको छ। म पनि बेलाबेलामा हाँसिरहन्छु।

आइन्सटाइनले शोधपत्र मात्र होइन, विज्ञान र विज्ञानभन्दा अलग विषयमा पुस्तकहरू लेखेका छन्। उनका मुख्य पुस्तक ‘सापेक्षतावादको विशेष सिद्धान्त’, ‘सापेक्षतावाद’, ‘भौतिकशास्त्रको विकास’, ‘यहुदीवाद’, ‘युद्ध किन’, ‘मेरो दर्शन’, ‘मेरा पछिल्ला वर्षहरू’ आदि हुन्।

आइन्सटाइन आफ्नो जीवनभरि वैज्ञानिक खोज अनुसन्धानमा लागिरहे। यसैले उनलाई आधुनिक विज्ञानका पिता बनायो। जीवनको अन्त्यकालतिर पनि उनी एकीकृत क्षेत्र सिद्धान्तको खोज–अनुसन्धान गरिरहेका थिए। खोजअनुसन्धानमा सक्रिय जीवन बिताइरहेका आइन्सटाइनको १९५५, अप्रिल १८ मा अमेरिकाको न्यु जर्सी राज्यस्थित प्रिन्स्टनमा निधन भयो।

विश्वका महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनको मस्तिष्कलाई उनको मृत्यु भएको तीस वर्षपछिसम्म अध्ययन गर्नका लागि सुरक्षित राखिएको थियो। मृत्युपश्चात् उनको मस्तिष्कको अध्ययन गर्ने न्युरो सर्जनले उनको मस्तिष्क इतिहासको सबैभन्दा ठुलो मानव मस्तिष्क भएको मानेका छन्।

के ठुलो मस्तिष्क भएकै कारण आइन्सटाइनले त्यत्रा नयाँ खोज गर्न र विभिन्न सिद्धान्त प्रतिपादन गर्न सफल भएका हुन् त? म्युजियमबाट बाहिर निस्केपछि निकै बेरसम्म मेरो सानो मस्तिष्कमा यस जटिल प्रश्नले हिर्काइरह्यो बेसरी।

प्रकाशित: २८ पुस २०८० ०१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App