अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको वैदेशिक रोजगारीबाट प्राप्त वार्षिक करिब साढे १४ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्सको भित्री पाटो त्यति उज्यालो छैन। घरपरिवारबाट छुट्टिएर विदेश जाने सर्वसाधारणले त्यहाँबाट पठाएको रकमप्रति देशले जति गर्व गरिरहेको छ, त्यत्तिकै पीडा त्यहाँ हुने दुर्व्यवहारबाट महसुस गर्न सकिन्छ।
त्यसमा पनि विदेश जाने महिलाले त्यहाँ भोगेका दुर्व्यवहारको कथा कल्पनातीत छ। महिला कामदार कानुनी र गैरकानुनी दुवै बाटोबाट कमाउन विदेश गइरहेका छन्। यसरी जाने दुवैथरीले दुर्व्यवहार भोग्नुपर्छ। फरक यत्ति हो– दुर्व्यवहारको मात्रा कमबेसी हुन सक्छ। कतिपय महिलाले भोग्ने दुव्र्यवहार त निकै भयानक हुन्छ। त्यही दुव्र्यवहारबाट जन्मिने अवाञ्छित सन्तानको जिम्मेवारीसमेत तिनले उठाउनुपर्ने हुन्छ।
घरपरिवारको आर्थिक दायित्व पूरा गर्ने उद्देश्यले महिला घरबाट बाहिर निस्किन थालेका छन्। वैदेशिक रोजगारीमा जानु पनि तिनको त्यही दायित्वको एउटा पाटो हो। तर वैदेशिक रोजगारीमा पुरुषले भन्दा बढी कष्ट तिनले उठाउनुपरेको छ।
वैदेशिक रोजगारीमा जाने कतिपय महिला यौन दुव्र्यवहारमा समेत परेपछि आफू गएको मुलुकका पुरुषका सन्तान लिएर आउन बाध्य भएका छन्। त्यही देशमा बस्दा कानुनी झैझमेलामा परिने भएकाले कमाइभन्दा पनि जीवन रक्षाका लागि पनि तिनले स्वदेश फर्कनु पर्ने बाध्यता छ।
वैदेशिक रोजगारीको यो पाटोबारे नागरिकले गरेको अनुसन्धानमा यस्ता महिला रहेको पाइएको छ। काठमाडौंमा रहेको अमृतसर नामक गैरसरकारी संस्थाले संकलन गरेको सूचीमा मात्र पनि यो संख्या १६ सयभन्दा बढी रहेको पाइएको छ।
अमृतसरले यो तथ्यांक राख्न थालेको जुलाई २०२२ देखि मात्र हो। अझ मार्च २०२३ देखि करिब पाँच महिना यो संस्थाले काम गरेको थिएन। यस हिसाबले पनि दुव्र्यवहारबाट आउने महिला संख्या अनुमान गर्न सकिन्छ।
यो पनि पढ्नुहोस्
वैदेशिक रोजगारीले जन्माएका अनिच्छित आमाहरू-क (भिडियोसहित)
यस समाचारमा हामीले भेटेका महिलाको परिचय लुकाएका छौं। तिनको जिल्लासमेत उल्लेख गर्दा थप अप्ठेरो पर्ने भएकाले प्रतिनिधि पात्रका रूपमा ‘आमा क’ र ‘आमा ख’ भनिएको छ।
‘आमा क’ ले बताएअनुसार विदेश जाने बेलामा मेडिकल जाँच गर्दा पेटमा गर्भ नरहेको उनलाई भनिएको थियो। त्यसपछि उनको मेडिकल जाँच गन्तव्य मुलुक कुवेतमा समेत भएको थियो। त्यहाँ पनि पेटमा त्यस्तो केही नदेखिएको उनले बताइन्।
‘नेपालबाट विदेश जाँदा मेडिकल गर्नुपथ्यो,’ ‘आमा क’ले नागरिकसँग भनिन्, ‘त्यतिबेला मेडिकल जाँच गर्दा पेटमा बच्चा छ भनेर भनेनन्। विदेश गएको ७/८ महिनामा त बच्चा जन्मियो।’
उनले आफू गर्भवती भएको चाल पाएपछि पनि कसैलाई बताइनन्। मौका परे सन्तान जन्माएर त्यसको व्यवस्थापन गर्ने उनको उद्देश्य थियो। अनायासै शौचालयमा बच्चा जन्मिएपछि एक फिलिपिनो सहयोगीका कारण उनको उद्धार भयो। त्यसपछि उनलाई नेपालबाटै गर्भ रहेको भन्ने पारेर यहाँ ल्याइयो। अन्यथा, त्यहाँको कानुले अप्ठेरो पर्ने निश्चित थियो।
उनको दुःखका अनेक कारण छन्। एक, उनी परिवारको भरथेग गर्न भनेर विदेश गएकी हुन्। दुई २१ वर्षको कलिलो उमेरमा विदेशबाट अवाञ्छित शिशु बोकेर आएपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने गम्भीर चिन्तामा छन्। उनी विदेश बच्चा जन्मिएको एक महिना पनि नहुँदै स्वदेश फर्कनुपरेको हो।
उनी केही महिनामै यो बच्चा कसैलाई जिम्मा लगाएर फेरि विदेश जान चाहन्छिन्। तर आफूले जन्माएको सन्तानलाई राम्ररी पढाएर योग्य बनाउने अभिभावकीय जिम्मेवारी उनले अहिल्यै महसुस गरेकी छन्। जस्तोसुकै अवस्थामा उनको गर्भ रहेको भए पनि सन्तानको मुख देखिसकेपछि कसलाई माया लाग्दैन ? उनी त्यही मायाले बाँधिएकी छन्।
‘आमा क’ लाई कुबेतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउन्जेल पनि कहाँ जाँदैछु भन्ने थाहा थिएन। धन्य, उद्धारकर्ताले भेटेपछि उनी र उनको बच्चाको बाटो मोडियो। अब सानी नानीलाई छाडेर फेरि विदेश जाने उनको जीजिविषा जीवितै छ। बरु विदेशबाट काखमा नानी लिएर आउनेलाई सबैले नराम्रो सोच्ने गरेकोमा मात्र उनी चिन्तित छन्।
‘आमा क’ को जस्तै दुखान्त कथा छ ‘आमा ख’ को पनि। फरक एउटै छ– उनका दुई सन्तान पहिल्यै देशमा छन्। विदेशबाट अवाञ्छित गर्भ बोकेर देश फर्कनुपरेको छ। उनी जाने बेलामा मेडिकल जाँच गर्दा गर्भ देखिएको थिएन। तर उनी जाने बेलामा दलालबाट उनीमाथि बसपार्कको एउटा होटलमा दुर्व्यवहार भएको थियो। उनको विश्वास त्यही गर्भ हो भन्ने छ। उनी गन्तव्य मुलुकमा पुगेपछि पनि गर्भ भने देखिएको थिएन। उनी आश्चर्यमा छन्– कसरी यस्तो भयो?
गर्भ रहेको थाहा पाएपछि उनलाई नेपालमै सन्तानको बाबु रहेको भन्दै यहाँ ल्याइएको हो। हामीले उनलाई भेट्ने बेलामा बच्चा जन्मने प्रतीक्षामा रहेकी थिइन् उनी। तर उनले यसलाई कति पनि सुखानुभूति गरेकी थिइनन्। एउटी आमाका निम्ति सन्तान प्राप्तिको कति ठुलो महत्त्व छ। उनी भने यो गर्भ खेर जाओस् भनेर कसिलोसँग पटुका कस्नेदेखि अनेकन उपक्रममा लागिन्। तर, उनको सन्तानका रूपमा एक छोराको जन्म भइसकेको छ।
‘मेरो जिन्दगीमा कसैले गरेको खेलबाडले सबै सपना भताभुंग भएका छन्,’ उनले नागरिकसँग बच्चा नजन्मिँदै भनेकी थिइन्, ‘हुर्केका छोराछोरीको औधी माया गर्ने म अहिले पेटमा रहेको सन्तानलाई माया नगर्न बाध्य भएकी छु।’
उनी पेटमा सन्तान हुर्किरहेको होइन, पीडा विस्तारित भएको मात्र सोच्छिन्। उनी पनि ‘आमा क’ जस्तै सन्तान जन्माएर तत्काल विदेश फर्कन चाहन्छिन्। उनले यसबीच परिवारसँग सम्पर्कसमेत गरेकी छैनन्। परिवार सदस्यलाई उनी विदेशमै भएजस्तो लाग्छ।
यी दुई प्रतिनिधि पात्रबाट सहजै बुझ्न सकिन्छ, तिनले अवाञ्छित गर्भ रहेपछि पाउने मानसिक पीडाको कुनै हिसाब हुँदैन। एकातिर पारिवारिक जिम्मेवारी छ भने अर्कोतिर जीवनमा घटेको यो घटनाबाट कसरी पार पाउने भन्ने गहिरो चिन्ता छ।
के सरकारले यसलाई महसुस गरेको छ ? सरकारले घरेलु कामदारका रूपमा विदेशमा जान रोक लगाएको छ। तर, श्रम स्वीकृतिबेगर पनि उनीहरू विदेश गइरहेका छन् भन्ने जानकारी सरकार र यसका निकायलाई छ। तर, कोही विदेशमा र कोही विदेश जाने क्रममा स्वदेशमै दुव्र्यवहारमा परी अनिच्छित आमा बन्न बाध्य छन्।
सरकारले अनुमति नदिए पनि विभिन्न माध्यमबाट महिलाहरू विदेश गइरहेका छन्। ‘नेपाल सरकारले घरेलु कामदार पठाउन अनुमति नदिए पनि हजारौं संख्यामा महिलाहरू घरेलु कामदारका रूपमा विदेश जाने गरेका छन्,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नागरिकसँग भने, ‘त्यसरी अवैध गएका महिला अप्ठेरोमा परेको खण्डमा घर फर्किन पनि मुस्किल र हामीलाई झिकाउन पनि सहज छैन।’
विदेशमा सरकारको स्वीकृतिबेगर जाने महिला संख्याको यथेष्ट जानकारी छैन। सरकारको स्वीकृतिमा विदेश जाने महिलाको मात्र जानकारी छ। यसरी जाने महिलालाई कुनै सुरक्षित ठाउँमा राखेर आठ घन्टा वा तोकिएको काम गर्ने गरी परीक्षण परियोजना (पाइलट प्रोजेक्ट) सुरु गर्न सरकार तयार भएको भने मन्त्री भण्डारीले हामीलाई बताए।
यो पनि पढ्नुहोस्
वैदेशिक रोजगारीले जन्माएका अनिच्छित आमाहरू-ख
‘विभिन्न बाटो हुँदै घरेलु कामदारको रूपमा विभिन्न देश पुगेको भन्ने जानकारप् हामीलाई आएको छ,’ मन्त्री भण्डारीले भने, ‘धेरै ठुलो संख्यामा साउदी र कुवेतमा घरेलु कामदार रहेको जानकारी पनि छ। हामीसँग उनीहरूको तथ्यांक मात्रै होइन, त्यसरी गएका महिला को कहाँ छन् भन्ने पनि हामीलाई थाहा छैन।’
आर्थिक वर्ष २०६३/०६४ देखि २०८१/०८२ को मंसिरसम्म साढे पाँच लाखभन्दा बढी महिला श्रम स्वीकृति लिएर विदेश गएका छन्। तर श्रम स्वीकृतिबेगर नै कुबेतलगायतका खाडी मुलुकमा आगामी केही वर्षका लागि पुग्ने गरी महिला लगिसकिएको छ।
सरकारले स्वीकृति नदिए पनि महिलालाई विदेश पुर्याएर बिचल्लीमा पार्न अनेकन एजेन्टहरू सक्रिय छन्। विदेशमा बिचल्लीमा परेका महिलालाई त्यहाँ रहेका नेपालका सरकारी संयन्त्रले सम्पर्क गरी अमृतसरजस्ता संस्थालाई संरक्षणका लागि पठाउँछन्।
अमृतसरकी अध्यक्ष मुना गौतमले नागरिकसँग भनिन्, ‘हरेक दिन चारपाँचजना विदेशबाट नेपाल पठाउने भनिएको हुन्छ तर २०–२५ जनाको हुल हुन्छ। कहिले त सयौंको हुल हुन्छ।’ उनले अगाडि भनिन्, ‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै अवैधानिक तरिकाले महिलालाई विदेश लैजान सेटिङ हुन्छ। कहिलेकाहीं सेटिङको अवस्था नमिलेर वा एकातिर जानु भनी सिकाइएका महिला अर्को कोठातिर गएपछि चेकिङमा परेर फर्किने गरेका छन्।’
यही सेटिङ नै अन्ततः महिला दुव्र्यवहारको कारक बन्ने गरेको छ। नेपालबाट जान नसके भारतबाट पनि विदेश पुर्याउने गरिएको छ। तर, त्यहाँ गएर दुःख पाएपछि भने नेपालमा यसरी नै फर्कनु पर्ने हुन्छ। ‘सबैलाई विदेश पठाउने ध्याउन्न हुन्छ,’ गौतम भन्छिन्, ‘अप्ठेरोमा परेपछि कसैलाई केही मतलब हुँदैन।’
प्रलोभनमा पारेर विदेश पुर्याइन्छ
- मुना गौतम, अध्यक्ष, अमृतसर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अवैधानिक तरिकाले महिलाहरू लैजाने ठुलो सेटिङ छ। कहिलेकाहीं सेटिङको अवस्था नमिलेर वा एकातिर जानु भनी सिकाइएका महिला अर्को कोठातिर गएपछि चेकिङमा परेर फर्किने गरेका छन्।
कोभिड–१९ पछिको आर्थिक मन्दीले नेपालको कुनाकन्दराका महिला, जो एक कक्षा पनि पढेका छैनन्, लाई एजेन्टले विभिन्न प्रलोभनमा पारेर खाडी लगायत मुलुक पुर्याउने गरेका छन्।
कुवेतका सरोकारवालाहरूले हामीलाई दिएको जानकारीअनुसार अबको चार वर्षपछि कुवेतलाई चाहिने महिला अहिले नै त्यहाँ पुर्याइएका छन्। नेपाली महिलाको अवस्था कुवेतमा धेरै भयावह छ। खान नपाएकादेखि आराम नपाएका, मानसिक सन्तुलन गुमाएका महिलाहरू अत्यधिक छन् त्यहाँ। त्यसरी अप्ठेरोमा परेका महिला एजेन्टलाई उल्टै ५/६ लाख रुपैयाँ तिरेर नेपाल फर्किने गरेका छन्।
दूरदराजका त्यस्ता महिलाका लागि एजेन्टहरूले भिजिट भिसा प्रयोग गरेर नेपालकै विमानस्थलबाट दिनहुँ विदेश पठाइरहेका छन्। दैनिक रूपमा विदेशमा दुःख पाएका जति महिलालाई उद्धार गरे पनि यो कमै हुन्छ। विदेशमा धेरै पीडित महिला छन्। उद्धार गरेरै साध्य छैन तर पनि केही नहुनुभन्दा केही भएको छ।
म आफू पनि आप्रवासी महिला कामदार हुँ। नेपालमा आउने बेलामा म एकदमै शून्य थिएँ। त्यही क्रममा आप्रवासीसम्बन्धी काम गर्ने संस्थामा आबद्ध भएँ। अहिले गरिरहेको काम त्यही संस्थाबाट सिकें। विदेशमा कस्ता खाले महिला काम गर्न जाने रहेछन् ? किन महिला विदेश जान बाध्य भए ? विदेश गएपछि महिलाले किन दुःख पाउँछन् ?
त्यहाँबाट फर्किसकेपछि महिलाको अवस्था कस्तो हुन्छ ? भनेर सयौं केश आफैंले ह्यान्डल गरेको भएर पछिल्लो समय आफैं परामर्शकर्ता भएँ। पछि मैले यो बाटो परिवर्तन गर्नै सकिनँ। कतार, कुवेत, ओमान र साउदी अरेबिया मात्रै नभएर अन्य देशमा अलपत्र परेका महिलाका लागि उक्त देशको सम्बन्धित निकायसँग सरसल्लाह गरी चोकचोकमा पुगेर उद्धार गर्ने गरेको उनको अनुभव छ।
अमृतसरले दुई वर्षयता मात्र विदेशबाट करिब १५ सय महिलाको उद्धार गरेको तथ्यांक छ। मानसिक रोगको सिकार भएका महिला धेरै आएको उनले बताइन्। कोरोना पहिला मानसिक रोगी धेरै महिला आउँथे। उनीहरू आफैं कोपारिने, खाना फालिदिने, हामीलाई पिट्ने अवस्था थियो। तर अहिले मानसिक रोगको अवस्था फरक भएर आएको छ।
विदेशबाट फर्केका महिलालाई आफूले कपडा लगाएको छ या छैन कुनै हेक्का नहुने, बोल्दै नबोल्ने, भोक लागेको महसुस नगर्ने, परिवार कहाँ छ थाहा नहुने, ग्यास खोलेपछि खोलेको खोल्यै गरिदिने, धारो खोलेपछि बन्द गर्न बिर्सिने समस्या देखिएका छन्।
यस्ता महिलाको उपचार गर्न धेरै गाह्रो पनि हुने गरेको छ। प्रत्येक महिनामा हजारभन्दा बढी महिलालाई विमानस्थलमा कुराकानी गरेर उनीहरूको अवस्थाका आधारमा धादिङ वा सिन्धुपाल्चोक घर जता भए पनि परिवारसँग कुरा गरेर पुर्याइदिने गरेका छौं। घर जाने अवस्था नभएका तथा केही गर्नै नसकेका महिलालाई संस्थामा ल्याउने गरेका छौं। नेपालमै आठ/दस हजारको जागिर पाउने व्यवस्था भए कोही महिला विदेश गएर दुःख पाउनु पर्दैनथ्यो।
यो पनि पढ्नुहोस्
अमृतसर संस्थामा आश्रय लिएर बसेकी एक पीडितले मलाई भनेकी थिइन्, ‘हामीलाई नेपालमै सामान्य जागिर खाएर छोराछोरीलाई बिहानबेलुका दालभात मात्रै खुवाउन सके हुन्थ्यो। छोराछोरीको भविष्य खोज्दै विदेश गयो, यस्तो अवस्था हुने।’
पारिवारिक अवस्था बिग्रिएर, गरिबीका कारण महिला बिदेसिन्छन्। त्यति मात्रै नभएर पति विदेश गएको छ भने उतै हराइदिने, छोराछोरीको जिम्मेवारी आमामाथि, एकल महिला, एजेन्टको विभिन्न प्रलोभन जस्ता कारणले धेरै महिला बिदेसिएका छन्। ‘एजेन्टले महिलालाई ठुलो प्रलोभन दिएका हुन्छन्। सामान्य बच्चा हेर्ने हो, विदेशमा केही गाह्रो छैन। खाना बनाउने, सरसफाइ गर्ने र टेबुल पुछ्ने काम हो भनेपछि नेपाली महिला यति काम त घरमा पनि गरेकै हो, विदेशमा पनि गर्न सकिहालिन्छ भन्दै एजेन्टको पछि लाग्छन्। विदेशमा बच्चा हेर्न होस् वा अरू काम गर्न होस्, त्यसबारे राम्रो सिप भएको हुनुपर्छ।
-विदेशमा अलपत्र परेका, दुःख पाएका महिलाको उद्धार र संरक्षणमा क्रियाशील अमृतसर नामक गैरसरकारी संस्थाकी अध्यक्ष गौतमसँग गरिएको कुराकानीमा आधारित।
अवैध रूपमा विदेशमा बसेकालाई वैध बनाउन लागेका छौं
-शरतसिंह भण्डारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री
नेपाल सरकारले श्रम सम्झौता नभएका मुलुकमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा विदेश जान बन्देज लगाएको छ। नेपालको संविधानले भने कुनै पनि किसिमको विभेदलाई प्रोत्साहन गर्दैन। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) प्रोटोकलले पनि श्रमिक रोजगारीका लागि कहीं पनि जान पाउने व्यवस्था गरेको छ।
विभिन्न माध्यमबाट कामका लागि विदेश गएका महिला दिदीबहिनीमाथि दुव्र्यवहार भएकोमा उनीहरूको सुरक्षाका लागि सरकार लागिपरेको छ। दुई पक्षीय श्रम सम्झौता भएका मुलुकहरूसँग विशेष व्यवस्थासहित एउटा प्रोटोकलमा महिला कामदारहरूको हक सुरक्षित हुने गरी काम भइरहेको छ।
नेपाल र युएईबिच दुईपक्षीय सम्झौता भएको छ। त्यसका आधारमा महिला हकहितका लागि पाइलट प्रोजेक्ट (परीक्षण परियोजना) को डिजाइन गरेका छौं। त्यसअन्तर्गत काम गर्ने अवस्थामा पुगेका छौं। वैदेशिक रोजगारीमा जान चाहने महिलालाई तलब, खाने, बस्नेलगायत सेवासुविधासहितको प्रस्ताव अगाडि बढाएका छौं।
महिला कामदारलाई विदेशमा जे कामका लागि जाने भनिएको छ, त्यहीअनुसारको तालिम दिएर दक्ष बनाउने हो। जुन काममा जाने भनिएको हो, त्यहीअनुसारको तालिम दिने, त्यसपछि सम्बन्धित देश गइसकेका महिलालाई होस्टेलमा राखेर आठ घण्टा ड्युटी गर्ने गरी पाइलट प्रोजेक्टका रूपमा काम गर्ने प्रस्ताव अगाडि बढाएका छौं। यसमा युएई सरकारसँग सहमति भए पाइलट प्रोजेक्टका रूपमा लागु गर्ने र सुरक्षित, व्यवस्थित भए अन्य देशमा पनि लागु गर्ने व्यवस्था गर्दै जाने छौं।
आवाञ्छित गर्भ
नेपाल सरकारले घरेलु कामदारका रूपमा महिलालाई विदेश जान अनुमति नदिए पनि हजारौं संख्यामा महिला बिदेसिएका छन्। त्यसरी अवैध रूपमा गएका महिला अप्ठेरोमा परेको खण्डमा घर फर्किन पनि मुस्किल पर्छ। हामीलाई झिकाउन पनि सहज हुन्न।
यो पनि पढ्नुहोस्
जलवायु संकट टार्न भूराजनीति बाधक बन्दैछ?
अवैध रुपमा विदेश गएका श्रमिकको तथ्यांक राख्न पनि सकिँदैन। श्रम स्वीकृति लिएर विदेश जानेको तथ्यांक मात्र सरकारसँग छ। तर महिलालाई घरेलु काममा विदेश जान निषेध गरिएपछि लुकीछिपी विभिन्न माध्यमबाट जाने गरेका छन्। विभिन्न बाटो हुँदै धेरै महिला घरेलु कामदारका रूपमा विभिन्न देश पुगेको भन्ने जानकारी हामीलाई आएको छ।
त्यति मात्रै नभएर धेरै ठुलो संख्यामा साउदी र कुवेतमा घरेलु कामदारका रूपमा नेपाली महिला पुगेको जानकारी पनि छ। हामीलाई उनीहरूको तथ्यांक मात्रै होइन, को कहाँ छन् भन्ने पनि थाहा छैन।
सम्बन्धित देशमा रहेका कूटनीतिक नियोगहरूले विदेशमा समस्यामा परेका महिलाको बारेमा जानकारी गराएको अवस्थामा उद्धार भइरहेको पनि छ। विदेशमा समस्यामा परेका महिलालाई आवश्यकता अनुसारको सहयोग गर्दै आएका छौं।
सरकारले महिलालाई श्रम स्वीकृति लिएर घरेलु कामदारको रूपमा नपठाए पनि सन् २०२४ सेप्टेम्बरभन्दा अघि काम गरिरहेका महिलाले कूटनीतिक नियोगबाट श्रम स्वीकृति लिने व्यवस्था गरेका छौं। जसले गर्दा अवैध रूपमा विदेश गएर बसेका महिलाको संख्या र स्थिति नेपाल सरकारको तथ्यांकमा समेट्न सकिने छ।
विभिन्न देशमा लुकेर बसेका महिलालाई वैधानिक रूपमा श्रम स्वीकृति लिन आउन पाउने व्यवस्था मिलाउन थालेका छौं अर्थात् अवैधानिक रूपमा विदेशमा बसेका महिलालाई वैधानिक बनाउन हामी लागिपरेका छौं।
भिजिट भिसाको दुरूपयोग गरी अवैधानिक रूपमा घरेलु कामदारमा गएका महिला समस्या पर्ने गरेका छन्। भिजिट भिसामा गएका महिला समस्यामा पर्ने भएकाले गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको प्रतिनिधि राखेर एक समिति बनाएका छौं। जसले भिजिट भिसाको दुरूपयोग रोक्न सघाउ पुग्ने छ।
भिजिट भिसामार्फत वा अवैध रूपमा विदेश गएका महिलाहरूबाट जन्मिएका सन्तानलाई नागरिकता दिने सम्बन्धमा समस्या परेको छ। त्यसका लागि नेपालमा नै एकल महिलाको नामबाट नागरिकता पाउने व्यवस्था भएको छ।
राज्यको पहिलो दायित्व भनेकै अवैध रूपमा हुने आप्रवासन रोक्नु हो। अवैध आप्रवासन रोक्न हामीले अन्तर्राष्ट्रिय कानुन अनुसरण गरी विभिन्न देशसँग समझदारी गरेका छौं। विदेशमा नेपाली कामदार समस्यामा परेमा तुरुन्त उद्धार गर्नु राज्यको दायित्व हो।
-मन्त्री भण्डारीसँग कुराकानी/
प्रकाशित: २० पुस २०८१ ०६:४६ शनिबार