२३ पुस २०८१ मंगलबार
image/svg+xml
ग्राहक विशेष

वैदेशिक रोजगारीले जन्माएका अनिच्छित आमाहरू-ख

आमालाई सन्तानको माया नलाग्ने कुरै भएन। १२ वर्षकी छोरी र १० वर्षको छोरा पढाउने सपना बोकेर उनी बिदेसिइन्।

‘म सोच्छु मुढो बन्चरो ताक्छ घुँडो’ भनेजस्तो नियतिलाई उनको त्यो चाहना स्वीकार्य थिएन।  यतिबेला छोराछोरीको सुखद भविष्यको उनको कामना अलमलिएको छ। भत्केको घरको छानो टाल्ने सपनालाई बिचैमा आँधीले उडाइदिएको छ।

यतिबेला उनको पेटमा नौ महिनाको अनिच्छित गर्भ खेलिरहेको छ। त्यही अवाञ्छित गर्भले उनलाई आफ्नो सपना बिचैमा थाँती राखेर स्वदेश फर्कनुपरेको छ।

यसअघिका दुई सन्तानको औधी माया गर्ने यी आमा पेटमा खेल्दै गरेको सन्तानप्रति अत्यन्तै क्षुब्ध छन्। ‘मेरो जिन्दगीमा कसैले गरेको खेलबाडले सबै सपना भताभुङ्ग भएका छन्,’ उनले भनिन्, ‘हुर्केका छोराछोरीको औधी माया गर्ने म अहिले पेटमा रहेको सन्तानलाई माया नगर्न बाध्य भएकी छु।’

पेटमा हुर्किरहेको यो पीडा बिसाएर उनी फेरि बिदेसिन चाहन्छिन्। उनका निम्ति प्रत्येक क्षण लम्बिरहेका छन्।  यो बच्चा जन्मिने समय चाँडो आओस् र फेरि जीवनको लयमा फर्किन पाइयोस् भन्ने उनलाई लागिरहेको छ।

पेटमा आएको सन्तानको भारी बिसाएर तत्काल बिदेसिन चाहन्छिन्। ‘यो बाबुलाई कसैको जिम्मा लगाएर घरमा भएका नानीहरूलाई एक पटक हेर्ने धोको छ,’ उनले आफ्नो बढेको पेटतिर इसारा गर्दै भनिन्, ‘त्यसपछि म मेरो अपुरो सपना पूरा गर्न फेरि बिदेसिनेछु।’

यो पनि पढ्नुहोस्

किसुनजीको को पर्छिन् कपाली ?

उनका अनुसार कुवेत जानुपूर्व एजेन्टले गरेको यौन शोषणका कारण यो बच्चा पेटमा आएको हो। आफूलाई होटलमा पुर्‍याउनुअघि एजेन्टले चिया खुवाएपछि बेहोस भएको उनले बताइन्। ‘विदेश जाने भनेर गाउँबाट साथमा हजार रूपैयाँ मात्रै बोकेर आएकी थिएँ,’ उनले नागरिकसँग भनिन्, ‘एजेन्टले मसँग पैसा मागेको थियो। मैले पैसा छैन भनेपछि एजेन्टले पठाओमा राखेर होटल पुर्‍याएको हो।  त्यसपछि मलाई केही थाहा छैन। कुवेत गएपछि मात्रै पेटमा बच्चा भएको थाहा पाएँ।’

अन्तर्वार्ता सकेर निस्किने बेलामा उनले यो संवाददातालाई भित्र कोठामा बोलाइन् र भनिन्, ‘पेटमा सलबलाइरहेको यो सन्तान मलाई सर्प जस्तै लाग्छ।’

अवाञ्छित गर्भ बिचैमा खेर फाल्न उनले अनेक उपाय पनि गरिन्। ‘कुवेतमा बच्चा मार्ने कुनै औषधी किन्न पाइँदैनथ्यो,’ उनले भनिन्, ‘कुवेत घरमै रहेका विभिन्न किसिमका औषधी पनि खाएँ। बच्चा खेर गएन। आफ्नै पेटमा मुड्कीले धेरै हानेँ। गह्रौं भारी पनि उचालेँ। केही गरेर पनि बच्चा खेर गएन।  रातभरि पेट कसिने गरेर पटुकी बाँध्दा पनि बच्चा मरेन।’

सहज सम्बन्धमा फुल्ने एउटा सृष्टिको फूल अहिले उनका निम्ति कहर बनेको छ। त्यही फूल कहिले चुडाएर फ्याकौं भन्ने भएको छ। डाक्टरका अनुसार पेटको बच्चा जन्मिनलाई अब महिना दिन बाँकी छैन। उनलाई गर्भवती महिलालाई देखिने समस्याहरूले सताइरहेको छ।  उनको दाँत दुखिरहेको छ। शरीरमा अन्य जटिलता पनि भोग्नुपरेको छ।

उनको रातदिनको सपनाजपना पेटमा हुर्कंदै गरेको बच्चा कहिले बाहिर निस्किएला र झन्झट बिसाउन पाइएला भन्ने छ। हामीले भेटेका बेला नौ महिना लागेको पेटको बच्चा धेरै बोझ भएको उनले बताएकी थिइन्।

‘यो पेटमा भएको बच्चाको केही माया लाग्दैन,’ पीडैपीडाबिच उनले भनिन्, ‘घरमा सासूसँग मेरा छोराछोरी छन्। उनीहरूको मात्रै माया लाग्छ। यो बच्चा जन्मनलाई अझै एक महिना बाँकी भनेको छ। कहिले पाउने होला र घरमा आफ्नै छोराछोरीको मुख हेर्न जाने होला जस्तो भएको छ।’

वैदेशिक रोजगारीमा जाँदा सबैको ध्यान कमाइमा हुन्छ। त्यहाँबाट पारिवारिक गर्जो टार्न सकिने गरी कमाएर फकिन्छन्। राजधानी काठमाडौं नजिकैको एउटा जिल्ला (जिल्लाको नाम गोप्य राखिएको) को दुर्गम गाउँकी यी ३२ वर्षीया महिला त्यहाँ पुगेको आठ महिना नपुग्दै देश फर्किन बाध्य भइन्।

उनी देश फर्के पनि घरपरिवारलाई उनी यहाँ आएको जानकारी छैन।  उनले यसलाई गोप्य राखेकी छन्। उनका अनुसार, कुवेतमा काम गर्दै गर्दा करिब सात महिनाको बच्चा पेटमा छ भन्ने घर मालिकले चाल पाएपछि टिकट काटेर नेपाल फर्काइदिएको हो। पेट ठुलो हुँदै गएपछि घर मालिकले नै अस्पताल लिएर गएका थिए।

‘मेरो पेट बढ्दै गएको देखेर म्याडमले तिमी पाउने छौ कि क्या हो भनी अस्पताल पुर्‍याइन्,’ उनले भनिन्, ‘त्यहाँ चेकजाँच गर्दा आफ्नै पेटभित्र छोरा देखेँ। करिब सात महिनाको बेबी छ भनेर डाक्टरले म्याडमलाई भन्नुभएको थियो।’

उनका पति पनि विदेश कमाउन गएका थिएँ। उनी विदेश जाँदाको ऋण पनि उत्तिकै थियो।  पति पनि काम गर्न नसकी देश फर्किए। पतिले लिएको ऋण तिर्ने र नयाँ घर बनाउने सपना बोकेर उनी विदेश हिँडेकी थिइन्।

उनले सुस्केरा हाल्दै भनिन्, ‘आज यस्तो अवस्थामा फर्कनु परेको छ।’

कुवेत बस्दा उनले घर खर्च र छोराछोरीको पढाइका लागि करिब डेढ लाख रूपैयाँ पठाएकी थिइन्। बिचैमा गर्भ रहेको थाहा पाएपछि देश फर्कनुपर्‍यो, कमाउने सपना अधुरै रह्यो।

यो पनि पढ्नुहोस्

दुई वर्षपछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान : स्थानीयमा छैन उत्साह

आफ्नो गर्भमा आएको बच्चा कुवेतमै जन्माएर कतै फाल्ने ध्याउन्नमा उनी थिइन्। यसो गर्दा कस्तो खतरा हुन्छ भन्ने उनलाई लागेको थिएन। डरको अगाडि कसको के लाग्छ र? त्यो बच्चा विदेशमा होइन, नेपालमै जन्माउनुपर्ने नियति रहेछ।

पति फेरि विदेश गएका छन्। नियमित रूपमा कुरा हुने गरेकामा अहिले उनीसँग टाढै रहेकी छन्। बच्चा जन्माएर फेरि विदेश हानिने चिन्ता उनलाई छ।

‘सुरुमा ग्यास्ट्रिक भएजस्तो पेटमा केही हिँड्न थाल्यो,’ उनले भनिन्, ‘बच्चा होला भन्ने त कल्पनै नगरेको कुरा हो। पछि पेट पनि बढ्दै गयो। बच्चा पनि धेरै चल्दै गयो। त्यसपछि मात्रै बच्चा छ भन्ने थाहा पाएँ।’

प्रायः महिलाहरू गर्भवती भएपछि बच्चा खेर जान्छ भनेर ठुलो डरमा हुन्छन्। त्यसका लागि सावधानी अपनाउँछन्। उनले भने गर्भ खेर फाल्न निकै प्रयास गरिन्। बच्चा केही गरेर पनि खेर नगएको उनी बताउँछिन्।

नेपाल फर्केकी उनी अहिले अमृतसरको आवास गृहमा छिन्। उनी भने बच्चाको माया नगरी रातभरि दह्रोसँग पटुका कसेर बस्ने गरेको संस्थाकी एक कर्मचारी बताउँछिन्।

‘उनको पेटमा भएको बच्चा मार्नलाई उनले धेरै प्रयास गरेकी हुन्,’ ती कर्मचारीले नागरिकसँग भनिन्, ‘हामीले यहाँ ल्याएर कति धेरै परामर्श दिँदा पनि उनी मान्न तयार भएकी छैनन्। उनलाई बच्चा नचाहिएको हुँदा पेटमा भएको बच्चा खेर गइदिए हुन्थ्यो भनेर रातभरि पटुका कसेर सुत्ने गरेकी छिन्। एक महिना टिकाउन सके बच्चाले जन्म पाउने थियो। त्यो बच्चाको के दोष र ?’

रातभरि पेट कसेर सुत्ने गरेकाले हुनुपर्छ संवेदनशील अंगबाट रगतसमेत बग्ने गरेको अमृतसर संस्थाकी अध्यक्ष मुना गौतम बताउँछिन्।

उनका अनुसार वैदेशिक रोजगारीमा यस्तो बेथिति घट्नेभन्दा पनि बढिरहेको छ। समाजमा पुरुष धेरै देखिन्छन् तर महिला कम देखिन थालेका छन्। गाउँघरमा रहेका सबै महिला विदेश पुगेसँगै बेतिथिको शिकार भएर देश फर्किरहेका छन्।

उनको अनुभवमा एकल, अविवाहित र पारिवारिक अवस्था उकास्न विदेश पुगेका महिला अहिले झन् धेरै बिचल्लीमा परेका छन्। घरबाट निस्किएदेखि विदेश नपुगेसम्म महिलामाथि यौन हिंसा हुने गरेको उनले बताइन्।

अपरिचित पुरुषसँगको सम्पर्कमा पुगेका महिलाको गर्भको ठेगान हुँदैन। अधिकांश महिला एजेन्टदेखि काम गर्न विदेश गएका ठाउँसम्म यौन शोषणमा परेका हुन्छन्। कसैलाई थाहा नदिई महिला आफैंले जन्माएर बच्चा फाले भने ढुक्कै भयो। पीडित महिलाको सम्पर्कमा आउँदा गौतमको बुझाइ रहेको छ– उनीहरूका लागि विदेशी भूमिमा गर्भमा आएको बच्चालाई पेटमा नौ महिनासम्म हुर्काई जन्माएर फाल्नलाई नौ दिनजस्तो मात्र लाग्छ।

यो पनि पढ्नुहोस्

विश्वास, अविश्वास र परम्पराको कथा : आधुनिक काठमाडौं झारफुके र माताको शरणमा

उनले भनिन्, ‘महिलाको अवैध रूपमा पेटमा बच्चा छ भन्ने विदेशीले थाहा पाएपछि जसरी पनि नेपाल फिर्ता गरिदिन्छन्। ती महिलालाई पनि बच्चा चाहिएको हुँदैन। उनीहरूका लागि त्यो बच्चा बोझ हुन्छ। अनि हामीले पनि यो बच्चाको पिता तपाईं हो भनेर कसलाई समात्न जाने हो र ? धेरै गाह्रो छ बच्चालाई आफ्नो पिता चिनाउन।’

एकातिर महिलाको अवाञ्छित गर्भको पीडा छ। अर्कातिर, यस्ता महिलालाई सम्भावित आम्दानीको स्रोत ठानेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै मेडिकल वा चिकित्सकमा पुर्‍याउने गिरोहसमेत सक्रिय छ। यस्तो गिरोहले आर्थिक लोभले आठनौ महिना पुगेका गर्भसमेत फ्याक्न सक्रिय रहेका छन्।

गौतमका अनुसार अवैध गर्भ रहेका महिला ३/४ महिनामै नेपाल फर्किएर बच्चा फाली पुनः विदेश जाने गर्छन्।  तर ६, ७ महिना पार भएका महिला विदेशमै बच्चा जन्माएर फाल्ने सोचमा हुन्छन्। विदेशीले थाहा पाएर नेपाल फर्काइदिएमा उनीहरूलाई एयरपोर्टमा भएका गिरोहले समातेर आफूहरूसँग सम्पर्कमा रहेका डाक्टरकोमा पुर्‍याई बच्चा जन्मनै लागेको छ भने जन्माउने वा मार्ने योजना छ भने मारिदिने गर्छन्।

‘त्यसरी जन्मिएको बच्चालाई गिरोहले बच्चै नभएका बाबुआमालाई दुईचार लाख रूपैयाँमा बेच्ने गर्छन्। विदेशबाट पेटमा बच्चा लिएर आएका महिला बच्चा जन्माएपछि एक दुई साता होटलमा बसेर पुनः बिदेसिने गरेका पनि थुप्रै घटनाहरू छन्,’ उनले भनिन्।

स्वदेश आएर बच्चा फालेर पुनः विदेश गएको खबर परिवारलाई थाहै हुँदैन। केही समय विभिन्न समस्यामा परेको हुँदा सम्पर्कमा आउन नसकेको खबर परिवारलाई विदेश पुगेपछि सुनाउने गरेका पीडितहरूका अनुभव अध्यक्ष गौतमसँग प्रशस्त छन्।

यो पनि पढ्नुहोस्

अनिच्छित आमाहरू: वैदेशिक रोजगारीको कहालीलाग्दो कथा

यो पनि पढ्नुहोस्

वैदेशिक रोजगारीले जन्माएका अनिच्छित आमाहरू (क) (भिडियोसहित)

प्रकाशित: २१ पुस २०८१ १३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App