भोजपुर-मुकामको बीच भागमा टुँडिखेल । त्यसको एउटा कुनामा ठूलो रोटेपिङ । नजिकै पिङ जस्तै झुन्ड्याइएको नाऊ । त्यस आसपास चटपटेका ठेला अनि टुँडिखेल वरिपरि जुवाजन्य खेलको तमासा । यिनै कुरालाई साक्षी राखी पूर्वतर्फ स्टेजको भित्तामा टाँसिएको छ ‘ऐतिहासिक नगर डबलीमेला’को ठूलो ब्यानर ।
त्यही टुँडिखेलपछाडितिर छ जिल्ला प्रहरी कार्यालय । जसले उक्त जिल्लाको शान्ति सुरक्षाको जिम्मा सम्हालेको छ । तर टुँडिखेलमा मेलाको नाममा भइरहेको जुवा देखेर पनि नदेखे जस्तो गर्नु उसको विवशता हुनसक्छ । टुँडिखेलको यही बाटो भएर जिल्ला प्रशासनसहित सरकारी अड्डाका कर्मचारीहरू ओहोरदोहोर गरिरहेका हुन्छन् ।
बिहान पौने १० बजे कार्यालयतिर जाने उनीहरू अपरान्ह ४ बजेपछि निवासतिर सोझिइरहेका हुन्छन् । सायद उनीहरूलाई पनि डबली मेलाका नाममा खुलेआम जुवा खेलाइएको देख्दा काउकुती लाग्छ होला । प्रमुख जिल्ला अधिकारी, राजनीति दलका नेता-कार्यकर्ता, सामाजिक अभियन्ता र बुद्धिजीविको मनमा पनि जुवाजन्य खेल देख्दा प्रश्न उठ्दो होला। डबली मेलाका नामा जुवा चलिरहेछ, दैनिक स्थानीय सरकार प्रमुखहरू गाडीमा बिनालाज हुइँकिरहन्छन्, यही बाटो भएर । ठूला भवनबाट जनताको पक्षमा कस्तो सेवा प्रवाह हुँदैछ, त्यो अर्को बसाइमा कुरा गरौँला ।
‘डबली’ मेलाको नाममा भोजपुरको माटोले जन्माएका थुप्रै स्रष्टाहरूले मीठा-मीठा सृजना गरेका छन् । त्यहीकारण अहिले पनि ऐतिहासिक शब्दको बिल्ला भिर्न बाध्य छ डबली मेला । पछिल्ला पुस्तालाई यसबारे खास चासो भयो, भएन ? अर्थात् लेनदेन केही गरे गरेनन्, त्यो चासोको कुरा होला । तर अहिले चलिरहेको मेलास्थल पुग्नासाथ झट्ट मनमा कुनै समय लाग्ने ऐतिहासिक डबली मेला ताजा भएर आइदिन्छ । अहिलेको डबली मेला आयोजकले पुराना कुरा साँच्चिकै बिर्सेझैँ लाग्छ ।
मेलामा स्थानीय सरकारको लगानी
खासमा यो ऐतिहासिक मेला २०४६ सालमा प्रजातन्त्र सुरु भएसँगै लाग्न थालेको जानकारहरू बताउँछन् । ओखलढंगा, सोलुखुम्बु, खोटाङ, संखुवासभा, धनकुटा, सुनसरी, उदयरपुरसम्म डबली मेलाको चर्चा हुने गरेको थियो । अर्थात्, डबली मेलामा आफ्ना मौलिक उत्पादन र सामान बेच्न ती जिल्लाका पनि बासिन्दा आउने गर्थे।
माओवादी आन्दोलनले पश्चिमबाट पूर्वतिर प्रभाव बढाउँदै गएको समय २०५८ सालताका स्थानीयबासी र तत्कालीन शाही नेपाली सेनाबीचको झगडापछि यो मेला लाग्न छाडेको जानकारहरू बताउँछन् । २०६२/०६३ को राजनीतिक परिवर्तनपछि तत्कालीन भोजपुर गाविसको अपनत्वमा मेला फेरि लाग्न सुरु भएको थियो । त्यसबेला गाविसले मेला आयोजकबाट ६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । मेलाबाट संकमलित राजस्वबाट भोजपुर गोल्डकप सुरु भएको स्थानीय युवाहरूले बताउने गरेका छन् ।
देश संघीय संरचनामा गएपछि उल्टै मेला सञ्चालनका लागि भोजपुर नगरपालिकाले वर्षेनि बजेट विनियोजन गर्दै आइरहेको छ ।
मेयरका स्वकीयलाई मेलाको जिम्मा
खासमा डबली मेलामा स्थानीय कृषि उपज, घरेलु हस्तकला र संस्कृतिले स्थान पाउनुपर्ने हो । तर, स्थानीय सरकारले मेला सञ्चालनको जिम्मा वर्षेनि सामाजिक विकास संस्था भोजपुरलाई दिने गरेको छ । जुन संस्थाका अध्यक्ष भोजपुर नगरपालिकाका मेयर कैलाश आलेका स्वकीय सचिव हुन् । पछिल्ला वर्षहरूमा यो मेलाको आकर्षण झन्झन् घट्दो छ । हुन त बढ्दो प्रविधिको विकासको प्रभाव पनि परेको छ । तर, डबली मेलाको नाममा टाँसिएको ब्यानरले आयोजकको लाज ढाक्न पनि मुस्किल परेकको छ ।
विगतका डबली मेलाको प्रभावमा रचिएका गीतहरू अहिले पनि सदावहार गुञ्जिने गरेका छन् । तिनै गीत-संगीतको ओजलाई अहिलेको डबली मेलाले धान्न छाडेको छ । कुनै समयको डबली मेला पूर्वीपहाडकै ठूलो आर्थिक कारोबारको केन्द्र थियो । तर, अहिले ‘ऐतिहासिक डबली मेला’को ब्यानरमुनि जुवाखाल चलाइएको छ । वर्तमान हेर्दा यस्तो लाग्छ, डबली मेलाको नाममा विगतको गर्विलो इतिहासलाई झन्झन् बदना गरिँदैछ ।
स्थानीयस्तरमा उत्पादि कृषि उपज, अन्तर्राष्टियस्तरमा चर्चित भोजपुरे खुकुरी, पुराना स्थानीय भाकाले अहिलेको डबलीमा स्थान पाउँदैनन् । ती कुरालाई बिर्सिएर आयातित कलाकारको तडकभडक र हो-हल्ला मात्रै सुन्न/हेर्न पाइन्छ अहिलेको डबलीमा । डबलीको ऐतिहासिकता बुझ्नेले अहिलेको मेला हेर्न गएमा पक्कै पनि जिब्रो टोक्नेछन् । हिजोबाट मेलालाई नजिकबाट नियाल्नेहरूको मन अहिलेको मेला देख्दा कति दुख्दो होला ?
कुनै बेला डबली मेला लाग्ने खबर फैलिएपछि स्थानीयहरू राडीपाखी, डालो, नाङ्लो, फिपी, खुकुरीसहितका स्थानीय उत्पादन बेलैमा तयार पारेर राख्थे । त्यसबेला डबली मेलाको स्टल पाउन पनि मुस्किल हुन्थ्यो । तर, अहिले पुराना दिनमा जस्तै स्थानीय उत्यादन र वस्तु मेलामा खरिद गर्न त के हेर्न पनि पाइँदैन । त्यहीकारण जुवाखाल बनेको डबली मेलाप्रति कसैको आकर्षण देखिँदैन ।
सांस्कृतिक कार्यक्रममा जिल्लाका कलाकारलाई बेवास्ता
हरेक शुक्रबार र शनिबार हुने सांस्कृतिक कार्यक्रम र नाचनगानले एउटा उमेर समूहका दर्शक र स्रोताको मन तानिरहेको छ । साँझपख हुने सांस्कृतिक कार्यक्रममा युवा-युवतीहरू झुमिएको देख्न सकिन्छ । तर, यो कार्यक्रममा पनि आयातित कलाकारकै बाहुल्यता छ । कला र संस्कृतिको राजधानी मानिने भोजपुरको माटोले जन्माएका दर्जनौँ मुर्धन्य स्रष्टा भए पनि उनीहरूलाई देख्न पाइँदैन । हाँस्य कलाकार ‘फुलन्देकी आमा’ बाहेक भोजपुरे कलाकारलाई मञ्चमा देख्न पाइएको छैन । स्थानीय कलाकारलाई त आयोजकले अवसर दिनु परको कुरा भएको छ ।
सांस्कृतिक सत्ताका रूपमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई पौवादुङ्मा गाउँपालिकामा जन्मिएका हुन् । परिषद् सदस्य एवम् लेखक राजन मुकारुङ टेम्केमैयुङ गाउँपालिकाका हुन् । ललित कला प्राज्ञ प्रतिष्ठानका कुलपति नारदमुनि हर्ताम्छाली षडानन्द नगरपालिकाको देउराली हुन् । संगीत तथा नाट्य प्राज्ञ प्रतिष्ठानका प्राज्ञ तथा चर्चीत गायत भीषण मुकारुङ पनि टेम्केमैयुङको अन्नपूर्णका हुन् । राष्ट्रिय नाचघरका अध्यक्ष चन्द्रकुमार हतुवाली हतुवागढी र प्राज्ञ डा. विप्लव ढकाल अरुण गाउँपालिकाका हुन् ।
देशको सांस्कृतिक सत्तामा भोजपुरको हस्तक्षेपकारी उपस्थिति हुँदा पनि ऐतिहासिक भनिएको डबली मेलामा यहाँको माटोका प्रतिभाहरूले अवसर पाउँदैनन् । भोजपुरमा जन्मिएका कलाकार बेवास्तामा पर्दा आयातितहरूका लागि आयोजकले मोटो रकम खर्चिरहेका छन् ।
यही वर्ष डबली मेलामा गीत गाउन आएकी एक कलाकारले त यहाँका स्थानीय आयोजकसँग चिनजान नै नरहेको बताइन् । उनले तराईतिरका आयोजकले बोलाएर आएको सुनाइन् ।
स्थानीय आयोजकले तराईतिरका आयोजकलाई ८ लाख रुपैयाँमा मेला जिम्मा लगाएको चर्चा अहिले एक कान, दुई कान, मैदान भएर भोजपुरभर सुनिन थालेको छ ।
ऐतिहासिक भनिएको डबली मेलाको हालत खेतबाली जोगाउन बनाएर ठड्याइएको बुख्याँचाको भन्दा बिरुप छ । पुर्खाले त्यसै भनेका थिएनन्, ‘गँडाहा गाउँमा जँड्याहा तन्नेरी।’ अहिले डबली मेलाको हालत त्यो बुख्याँचा र पुर्खाहरूको उखानभन्दा पनि कन्तबिजोग भएको छ।
प्रकाशित: २३ पुस २०८१ २१:१८ मंगलबार