नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकारलाई असफलताको नमूना भएको टिप्पणी गरेका छन्।
केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले दाहाल नेतृत्वको सरकारले राजनीतिक स्थिरता, सुशासन, र विकासमा नकारात्मक असर पारेको दाबी गरे।
ओलीले प्रतिवेदनमा भनेका छन्, ‘प्रचण्ड नेतृत्वको सरकार भ्रष्टाचार र अव्यवस्थाको प्रतीक बन्यो। सुशासन र पारदर्शिताको मर्मलाई कुल्चिएर ठूला भ्रष्टाचार प्रकरणहरूलाई ढाकछोप गर्न खोजियो। त्यो सरकारको अक्षम व्यवस्थापनले देशमा राजनीतिक अस्थिरता थपेको छ। जनता निराश भएका छन्।’
ओलीले दाहाल नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रणमा पूर्ण असफल भएको आरोप लगाए। उनका अनुसार दाहाल सरकारले भ्रष्टाचारविरुद्धको अभियानलाई प्राथमिकता दिनुपर्नेमा उल्टो ठूला भ्रष्टाचार प्रकरणहरू दबाउने खेलमा लाग्यो। ‘यसले लोकतन्त्रको मूल्यमान्यतामा गम्भीर चोट पुर्यायो।’ उनले भने।
ओलीले दाहाल सरकार जनताका अपेक्षा पूरा गर्न नसकेको र व्यक्तिगत तथा पार्टीगत स्वार्थमा सीमित रहेको उल्लेख गरे। ‘यो सरकारले जनताका लागि होइन, सत्ताको लागि मात्र काम गर्यो। सुशासन र विकासलाई प्राथमिकता दिनुपर्नेमा सरकार व्यक्तिगत स्वार्थको चक्रव्यूहमा अल्झियो,’ उनले भने।
ओलीका अनुसार दाहाल नेतृत्वको सरकारले गरेका निर्णयहरूले देशलाई स्थिरता दिनेभन्दा अस्थिरतामा धकेल्यो। ‘जनताले स्थिरता, सुशासन, र विकासको अपेक्षा गरेका थिए, तर ती अपेक्षामाथि यो सरकारले प्रहार गर्यो।’
प्रधानमन्त्री ओलीले अघिल्लो सरकारप्रति असन्तोष व्यक्त गर्दै जनताको भरोसा जित्न असफल भएको निष्कर्ष समेत प्रस्तुत गरे।
प्रकाशित: २१ पुस २०८१ १५:०० आइतबार