अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण जनवरी २० मा ह्वाइट हाउसमा हुँदै छ। विश्व शक्ति राष्ट्रको चार वर्षे कमान सम्हाल्न गइरहेका ट्रम्पले समारोहलाई यादगार बनाउन विश्वका शक्तिशाली नेताहरूलाई धमाधम निमन्त्रणा पठाइरहेका छन्।
ट्रम्पले करिब ८० देशका राष्ट्रप्रमुख, सरकार प्रमुख र विश्व नेतालाई आमन्त्रण गरिसकेका छन्। जसमा अमेरिकाका सहयोगी राष्ट्रका नेता त परेका छन् नै, प्रतिद्वन्द्वी देशका नेतालाई समेत आमन्त्रण गरिएको समाचार बाहिरिँदै छन्। ट्रम्पको निमन्त्रणा एल साल्भाडोरका राष्ट्रपति नायब बुकेलेदेखि, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी र अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीसम्म पुगेको सिएनएनले जनाएको छ।
यस्तै अमेरिकाको प्रमुख प्रतिद्वन्द्वी चीनका राष्ट्रपति सी जिनपिङलाई पनि आमन्त्रण गरिएको छ। जुन असाधारण र दुर्लभ प्रस्ताव मानिएको छ। अर्को रोचक पक्ष सी जिनपिङ बोलाइदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा नपठाइएको विषय यति वेला चर्चामा छ।
यसै चर्चाका बिच भारतीय विदेश मन्त्री एस जयशंकर २४ देखि २९ डिसेम्बरसम्म ६ दिन लामो अमेरिका भ्रमणमा निस्किएका थिए। उनी ट्रम्पको शपथग्रहण समारोहमा प्रधानमन्त्री मोदीलाई सहभागी गराउने चाँजोपाँजो मिलाउन त्यहाँ पुगेको अन्तर्राष्ट्रिय समाचारमा टिप्पणी भइरहेको छ। जयशंकरले अमेरिका भ्रमणमा रहँदा ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारमा मनोनीत माइकल वाल्टेजसँग भेटेका पनि थिए।
मोदीका लागि निमन्त्रणा माग्न अमेरिका पुगेको भन्दै मोदीका आलोचकले जयशंकरलाई ट्रोल बनाइरहेका छन्। ट्रम्पको सचिवालयले अझैँ पनि निमन्त्रणा पठाउने क्रम जारी राखेकाले अझैँ पनि मोदीलाई निमन्त्रणा पठाउने अपेक्षा भारत सरकारको छ।
प्रकाशित: २१ पुस २०८१ १४:४३ आइतबार