यो बच्चा कहाँको हो ? नेपाल कि कुवेतको ? उनका आँखाबाट अविराम आँसु झरिरहेका थिए। प्रश्नले आँसु अरू थपिए। एउटा हातले बच्चा थुमथुम्याउँदै उनले भनिन्, ‘बच्चा नेपालकै हो।’
नेपालकै विवाहित पुरुषसँग प्रेम सम्बन्धमा रहेपछि गर्भ रहेको दाबी उनको थियो। उनी विदेश गएपछि उक्त विवाहित पुरुषसँग सम्पर्कमा नरहेको उनले बताउन बिर्सिनन्।
‘पेटमा बच्चा छ भन्ने थाहा भएन। विदेश गएपछि उहाँसँग कुराकानी पनि भएन। पछि नेपाल आएर उहाँलाई यो खबर सुनाउँदा यो मेरो बच्चै होइन भन्नुहुन्छ,’ उनले भनिन्।
त्यसपछि उनी केही शान्त भइन्। ‘हुन त, नेपालबाट विदेश जाँदा मेडिकल गर्नुपर्थ्यो। त्यति बेला मेडिकल गर्दा पेटमा बच्चा छ भनेर भनेनन्,’ उनले भनिन्, ‘विदेश गएको सात/आठ महिनामा बच्चा जन्मियो।’
उनले थपिन्, ‘त्यो मान्छे विवाहित हो। उसको परिवार छ। यो बच्चा मेरो होइन, डिएनए गराउँदा हुन्छ भन्नुभएको छ रे ? खै अब के गर्ने हो ? केही थाहा छैन। यो बच्चा अब मै हेर्छु। एक महिना भइसक्यो। अब त माया लाग्ने रहेछ। बरु विदेश अलिपछि जान्छु।’
आफ्नो पेटमा बच्चा छ भन्ने नै थाहा नभएको उनी बताउँछिन्। ‘मलाई थाहै भएन। विदेश जाँदा त्यत्रो मेडिकल गराउँदा केही भनेनन्। डाक्टरले नै सबै चेकजाँच गरेको हो। राम्रै छ विदेश जाऊँ भनेको हो। कुवेतमा गएर पनि मेडिकल गराएको पनि हो। त्यहाँ पनि केही भनेनन्,’ उनले काखमा भएकी छोरीलाई नियाल्दै भनिन्।
परिवारलाई पाल्न परदेश हिँडेकी २१ वर्षकी उनी वर्ष दिन नपुग्दै स्वदेश फर्किन बाध्य भइन्। जाँदा उनी एक्लै थिइन्, फर्किंदा उनीसँगै महिना दिन पनि नपुगेकी शिशु काखमा छन्। उनलाई स्थानीय अमृतसरले संरक्षणमा राखेको छ। उनी विदेशबाट आउँदै गर्दा त्यो संस्थाकी उदारमना सञ्चालकले विमानस्थलबाटै संस्थामा ल्याएकी हुन्। हामी उनलाई भेट्न जाँदा काखमा त्यही शिशुसहित उनी आइन्। उनले हामीसँगको संवादमा जे बताइन्, त्यसले सुन्नेका आङ जिरिङ्ङ पार्छ।
उनी पनि अरू धेरै महिलाजस्तै पारिवारिक अवस्थाका कारण बिदेसिएकी हुन्। घरमा दाजुभाइ कोही छैनन्। बाबुले अर्की पत्नी ल्याए। उनकी आफ्नी आमा भने कुवेतमा छन्।
यो पनि पढ्नुहोस्
उनी पनि आमा गएकै देश कुवेत जाँदा नेपालमा मेडिकल गराएकी थिइन्। त्यतिबेला उनी गर्भवती भएको मेडिकल रिपोर्टमा देखिएको थिएन। ‘त्यहाँ गएपछि मैले बच्चा पाएँ,’ ती युवतीले नागरिकसँग भनिन्, ‘अब के भनौं धेरै दुःख पाएँ। धेरै गाह्रो पनि भयो। जुन घरमा काम गर्न बसेको थिएँ, त्यही घरबाट निकालिदिनुभयो।’
काम गर्न बसेकै घरमा उनले बालिकालाई जन्म दिइन्। उनलाई एक महिनाजति अस्पताल राखियो। त्यसपछि उनलाई थुनामा लगियो। धन्य, उनले चार/पाँच दिन मात्रै थुनामा बस्नुपर्यो। नेपाली दूतावासले उनलाई नेपाल फर्काउन पहल गर्यो।
‘म कुवेतीकै घरमा काम गर्न बसेकी थिएँ,’ उनले भनिन्, ‘उनीहरूले मलाई धेरै राम्रो व्यवहार गर्थे। त्यस्तो नराम्रो केही गर्ने थिएनन्।’
उनलाई कुवेती एक सय १० केडी पारिश्रमिक दिने भनेर कुवेत लगिएको हो। त्यसैअनुसार उनले तलब पनि पाइन्। अस्वाभाविक अवस्थामा घर फर्कनु परेपछि उनले दुई महिनाको तलब पाइनन्।
‘उहाँहरूले त्यो स्यालरी दिनुभएको छैन,’ उनले भनिन्, ‘मलाई अस्पताल पुर्याएपछि कुवेती परिवार कोही मलाई भेट्न आउनुभएन। त्यो घरमा मेरा धेरै कपडा थिए,’ काखमा भएको आफ्नो बच्चालाई हेर्दै उनले भनिन्।
वास्तवमा उनी बच्चा जन्मिने बेलासम्म घरको काममै व्यस्त थिइन्। उनलाई बच्चा जन्मिन्छ जस्तो लागेको पनि थिएन। काम गर्दागर्दै व्यथा लागेको थियो। ‘काम गर्दागर्दै बच्चा जन्मियो,’ उनले भनिन्, ‘बच्चा जन्मिएको पाँच मिनेट अघिसम्म म काम गरिरहेकी थिएँ। एक्कासी दाँत र पेट दुख्न थाल्यो। अनि म बाथरुम गएँ। बच्चा निस्कियो।’
उनी एक्लैले बच्चा पाइन्। उनी आफैंले बच्चाको नाभी काटिन्। कुवेती परिवारले थाहा पाएपछि एम्बुलेन्स बोलाएर अस्पताल लगे। अस्पतालमा उनलाई छाडेर फर्केका उनीहरू फर्केर आएनन्। अस्पतालमा उनलाई केही लत्ताकपडा दिएनन् तर बच्चालाई दिएका थिए।
त्यसको तीन सातामा कुवेतस्थित नेपाली दूतावासले उनलाई नेपाल फर्काएको हो। फर्केको करिब महिना दिनमा नागरिकले उनलाई भेटेको थियो। ‘एयरपोर्टमा बच्चा च्यापेर आएकी थिएँ, सोही समयमा अमृतसर सामाजिक संस्थाले यहाँ ल्याएको हो,’ उनले भनिन्, ‘मेरो घरपरिवार कसैलाई पनि थाहा थिएन, तर नेपाल आएपछि सबैले थाहा पाउनुभयो। कुवेतमा भएकी मेरी आमालाई पनि थाहा भयो।’
‘तपाईंको सपना अर्कै थियो होला ? भविष्यमा केही गर्ने सोच थियो होला, अब के भयो त ? कसरी दिनचर्या बिताउने सोच्नुभएको छ ?’ हाम्रा यी प्रश्नमा उनले आँखाबाट आँसुको धारा बगाउँदै भनिन्, ‘खै, अब केही सोचेकै छैन। सपना त थियो नि ? विदेशमा गएर टन्न पैसा कमाएर बाआमा पाल्ने, मेरो घरमा दाजुभाइ कोही छैनन्। हामी दिदीबहिनी मात्रै पाँच जना हो। बहिनीहरू ससाना छन्।’
उनका बहिनीहरू सानै छन्। घरमा कमाउने कोही छैनन्। दिदीहरू बिहे गरेर आफ्नै घरव्यवहारमा लागिसकेका छन्।
बोल्दाबोल्दै उनी धेरैपटक मौन बसेकी छन्। अझ कैयन् पटक उनले सुँक्क सुँक्क रुँदै आफ्ना कथाव्यथा सुनाएकी छन्। ‘बहिनीहरू हजुरबुबा–हजुरआमासँग बस्छन्। बहिनीहरूका लागि मैले पढाइ खर्च दिन पनि सकिनँ।’
आमा यति धेरै पीडामा भए पनि भदौ ८ गते कुवेतमै जन्मिएकी बालिका आमाको काखमा ढुक्क देखिन्थिन्।
कुवेती घरमा काम गर्दा उनले त्यहाँको भाषा जानेकी थिइनन्। यतिकै डर लाग्थ्यो। पढाइ पनि धेरै होइन। नेपाली साथीहरू पनि कोही थिएनन्। एउटी फिलिपिनो साथी पछि थपिएकी थिइन्।
कुवेती घरमा खाना बनाउने, लत्ताकपडा धुनेदेखि सरसफाइसम्मको सबै काम उनले गर्नुपर्थ्याे। ‘घरको काम सबै सकेर मालिकहरूको कपडामा आइरन पनि लगाउनुपर्थ्याे,’ उनले भनिन्, ‘पछि बच्चा जन्मिएर नेपाल आउनुपर्यो। पछि सबैले थाहा पाएर कोही बोल्नुभएन। ममी पनि बोल्नुभएन।’
बेसहाराको सहारा: अमृतसर
उनी विमानस्थलमा बच्चा दिएर आएकी थिइन्। कता जाने भन्ने कुनै टुंगो थिएन। विमानस्थलमा उनको सामाजिक संस्था अमृतसरका प्रतिनिधिसँग भेट भयो। ‘हामीहरू तपाईंलाई लिन आएका हौं, अब आत्तिनुपर्दैन भन्नुभयो,’ उनले भनिन्, ‘मलाई पनि कहाँ जाने के गर्ने भन्ने पिरचिन्ता लागेको थियो। पछि उहाँहरूसँगै आएँ।’
विदेशबाट आउँदा उनीसँग दुईवटा फोनबाहेक केही थिएन। कुवेती सरकार र मालिकले केही नदिएको गुनासो उनले गरिन्। कुवेती प्रहरीमा बस्दा उनले धेरै आग्रह गरेपछि मात्र दुईवटा फोन ल्याएर दिइएको थियो।
‘त्यहाँ कमाएको सबै पैसा घर पठाइदिएकी थिएँ,’ उनले भनिन्, ‘एक रूपैयाँ पनि आफूसँग राखिनँ। करिब दुईलाख रूपैयाँ जति पठाइदिएँ होला घरमा।’
तपाईंलाई परेजस्तो समस्या के गरेको भए पर्ने थिएन भन्ने प्रश्नमा उनले भनिन्, ‘अँ, खै यहीं देखेको भए त फालिन्थ्यो होला ? उता गएर देखेको भए पनि मैले केही गर्न सक्दिनथेँ। अरूको ठाउँमा गएर बच्चा फाल्न पनि गाह्रो। फेरि विदेशमा बच्चा मार्यो भनेर फाँसी दिन्छ। आफैंले पाएँ अनि नेपाल ल्याएँ।’
कुवेती घरका साहुसाहुनी धेरै राम्रा भएको उनले बताइन्। ‘मलाई राम्रै व्यवहार गर्थे,’ उनले भनिन्, ‘म अस्पताल गएपछि सम्पर्कमा उहाँहरू पनि आउनुभएन।’
अस्पतालले उनकी नवजात छोरीलाई केही कपडा दिए। उनलाई भने केही दिएनन्। ‘जुन कपडामा अस्पताल गएको थिएँ, त्यही कपडामा नेपाल आएकी हुँ,’ उनले भनिन्।
उनले आफ्ना प्रेमी दाबी गरेका पुरुषसँग कुनै कुराकानी नभएको बताइन्। नेपाल आएपछि अमृतसरका प्रतिनिधिले तिनलाई सम्पर्क गरे पनि आफूसँग कुनै कुराकानी नभएको बताइन्। ‘विदेशमा होस् या नेपालमा उहाँसँग कुरा भएको छैन,’ उनले भनिन्, ‘अब के कुरा गर्नु र ? नानीलाई अलि ठुलो बनाएर फेरि विदेश जान्छु।’
विदेशबाट काखमा नानी लिई आउनेलाई सबैले नराम्रो सोच्ने गरेकाले मनमा ठुलो पीडा हुने उनले बताइन्। लामो सुस्केरापछि उनले भनिन्, ‘यहाँ अरूले नराम्रो भन्छन्। गाउँघरका मान्छेले विदेशबाट बच्चा बोकर आ’को छ भन्छन्। बुबाआमाको इज्जत पनि गयो। धेरै नराम्रो लागेको छ। आफैंले पाएको बच्चा फाल्न पनि सकिएन। बच्चा खेलाउँदै र देख्दै गएपछि अब त झन् माया लाग्ने रहेछ।’
यो पनि पढ्नुहोस्
नेपालमा बढ्दै वृद्धवृद्धाको संख्याः सक्रिय रहनु दीर्घ जीवनको रहस्य
उनलाई जस्तै घटना अरूलाई पनि भएको छ। उनी अरूलाई के भयो भन्ने भन्दा पनि आफ्नै दुःखले पीडित छिन्। कमाउन गएकी महिलाले बच्चा लिएर आउनु परेको घटना उनी आफ्नै लागि अपत्यारिलो छ। ‘कमाउन गएको म यसरी बच्चा लिएर आउनुपर्छ भनेर कहिल्यै साचेको थिइनँ,’ उनले भनिन्, ‘खुरुखुरु काम गर्थें र आएको तलब घर पठाइदिन्थेँ। त्यही भएर दुई महिनाको एक्कैचोटि पठाउने भनेर तलब पनि लिएकी थिइनँ।’
घरमालिकले पनि उनलाई तलब एकैचोटि दिन्छु भनेका थिए। दसैंमा परिवारलाई दुई महिनाको तलब पठाउने धोको हुँदाहुँदै उनी पहिल्यै छोरीसहित देश आइपुगिन्।
उनका पिता घरमै छन्। करिब ८५ वर्षका हजुरबुबा–हजुरआमा छन्। चार, १० र १२ वर्षका बहिनीहरू छन्। उनी चिन्तित हुँदै भन्छिन्, ‘बहिनीहरू पढ्दै छन्। तिनीहरूले के सोचिरहेका होलान्।’
के गर्दैछ सरकार?
यस्तो अवस्थामा रहेका महिलालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुनै योजना सरकारको छैन। बच्चासहित देश फर्केका महिलालाई दोहोरो तेहरो जिम्मेवारी पूरा गर्न सहज छैन। ‘मसँग एक रूपैयाँ पनि छैन,’ उनी चिन्तित हुँदै भन्छिन्, ‘खै अब के गर्नु ?’
आखिर सन्तान हो, जेजस्तो परिस्थितिमा जन्मेको भए पनि। सानी नानी हाँस्दा उनलाई खुसी लाग्छ। छोरीसँगै उनी पनि हाँस्छिन्। एकैछिन आफूलाई बिर्सिन्छिन्। आफ्नो अगाडि उभिएका चुनौतीका पहाड देखेर उनी झसङ्ङ हुन्छिन्। फेरि उनका अगाडि अभिभावकीय जिम्मेवारी उभिन्छ। उनी बलियो मन बनाउँदै भन्छिन्, ‘अहँ, अब यसलाई मजस्तै कुवेत पठाउन्न।’
‘जे जस्तो भए पनि ठुलो हुन्जेल पढोस् मेरो छोरीचाहिँ,’ उनी भन्छिन्, ‘मैले जसरी दुःख नपाओस् भन्ने छ। छोरीलाई पढाउँछु।’
आफूसँगै गएका साथीहरूले कमाइरहेको कल्पनाले स्वाभाविक रूपमा उनलाई दुःखी बनाउँछ। आफू भने यस्तो अवस्थामा फर्किनु परेकोमा चिन्तित हुन्छिन्।
कुवेतमा आफ्नै गर्भमा हुर्किंदै गरेको बच्चाबारे उनले केही सोचेकी पनि थिइनन्। बच्चा जन्मेपछि भने नेपाल ल्याउने पक्षमा थिइनन्। बच्चा पाउँदै गरेको अवस्थामा अरू कसैले देखेका कारण पनि उनी त्यसलाई लिएर आउन बाध्य भएकी हुन्।
उनीजस्ता छन् अनेक
आप्रवासी श्रमिकको उद्धार, उत्थान र पुनस्र्थापना क्षेत्रमा काम गर्दै आएको अमृतसर सामाजिक संस्थाकी अध्यक्ष मुना गौतमका अनुसार विदेशमै बच्चा फालेर वा लिएर आएका महिला संख्या ठुलो छ।
कुवेतबाट यी महिलाले शिशु लिएर आउन पाउनुपछाडिको एउटै कारण उनीसँगै रहेकी फिलिपिनो महिलाले बच्चा रोएको आवाज सुन्नु नै हो। उनले दौडँदै गएर ढोका खोलेका कारण आमा र बच्चा नेपाल आउन सफल भएका हुन्। अन्यथा उनले त्यो बच्चा फालेर उम्किने सोच बनाएकी थिइन्।
बच्चा नेपाल आउन सक्ने अवस्था नै नभएको गौतमले बताइन्। ‘यो बहिनीको एब्युजको केस हो,’ उनले भनिन्, ‘नौ महिनासम्ममा पेटमा बच्चा भएको थाहा हुन्छ। तर, उनले आफू गर्भवती भएको लुकाइरहेकी थिइन्। बच्चा पेटमा आएपछि जन्माएर फाल्ने योजना हो। तर, त्यो सम्भव भएन।’
उनका अनुसार ती युवतीलाई यो बच्चाको बुबा नेपालमै छ भन्न लगाएर मात्रै नेपाल आइपुगेको हो। अरबी नागरिकको बच्चा हो भनेमा त्यहाँ प्रहरी मुद्दा र प्रक्रियामा जान्छ। बच्चा ठुलो भएपछि विदेशी आफैंले लिन्छ। त्यसपछि आमासँग बच्चा छुटाउने कानुनी प्रक्रिया सुरु हुन्छ।
‘यसको बाबा नेपालमै छ। यो बहिनीलाई नेपाल पठाइदिनुस् भनेर चिठी पठाएपछि मात्रै स्वदेश आउन सम्भव भएको हो,’ अध्यक्ष गौतमले भनिन्, ‘यी बहिनीलाई पनि कुवेतमा त्यही भन्न सिकाइयो। त्यसपछि मात्रै त्यहाँ विभिन्न प्रक्रिया चालेर नेपाल ल्याउन सफल भएका हौं।’
बच्चा र बच्चाकी आमा नेपाल आएपछि परिवारलाई पनि खबर गरेको उनले बताइन्। ‘गाउँका पूरै ३५÷४० जना मान्छे जम्मा भएसँगै उनीहरू पूरै छक्क परिरहेका थिए,’ उनले नागरिकसँग भनिन्, ‘हामीले पनि जोखिम लिन सक्दैनौं। पछि केही भइहाल्यो भने परिवारलाई खबर त दिनुप¥यो। अब यसलाई प्रहरीमा लिएर जाँदा मुद्दा दायर नै गर्दैनन्।’
परिवार सदस्यलाई उधृत गर्दै गौतम भन्छिन्, ‘हामीलाई मतलब छैन। यसलाई कहाँ लैजाने, के गर्ने तपाईंहरू आफैं गर्नूस्।’
कुवेतबाट बच्चा लिएर फर्किएकी ती आमासँग कुराकानी हुँदै गरेको र कुनै न कुनै रूपमा यसलाई किनारा लगाउने गौतमले बताइन्।
उनका अनुसार यतिबेला कुवेतमा आगो बलिरहेको छ। त्यहाँ धेरै महिलाले दुःख पाएका छन्। अरू देशमा बरू कुवेतमा जस्तो बिचल्ली छैन। धेरै नेपाली महिलाले विदेशमा बच्चा आफैंले जन्माएर ट्वाइलेटमा फाल्ने गरेका छन्। कतिपय महिलाले बच्चा जन्माएर मारिदिने र झोलामा प्याक गरेर बाहिर कतै डस्टबिनमा फालिदिनेसमेत गरेका छन्।
‘बाहिर डस्टबिनको त्यो फोहोर धेरै भएपछि गाडीले उठाएर लैजाने हो,’ उनले भनिन्, ‘त्यसलाई कहाँ पुर्याउँछ थाहै हुन्न। कतिपय त कुहिएर मान्छेको बच्चा हो कि अरू जनावरको भन्ने पत्तै लगाउन सक्दैनन्।’
कोभिड–१९ पछि मध्यम वर्गीय परिवारका महिलाले पनि विभिन्न देशमा घरेलु कामदारका रूपमा काम गर्ने क्रम बढेको छ। अहिले आर्थिक विपन्नताका कारण विदेश जाने बढेका छन्। २५ शड्ढयाको आवसगृहसहित सञ्चालित अमृतसरमा अहिले विदेशबाट उद्धार हुने महिलाको चाप बढ्दो छ। दुई वर्षअघिसम्म विदेशमा अप्ठेरोमा परेका केही महिलालाई उद्धार गर्दै आए पनि अहिले दैनिक करिब १५ जना आइरहेको गौतमले बताइन्।
अहिले खाडीमुलुकबाट बिचल्लीमा परेका महिला मध्येरात १२ देखि बिहान तीन बजेसम्म आउँछन्। त्यहाँका एजेन्सी अफिस, घरमालिक तथा साहुले सस्तो फ्लाइटमा उनीहरूलाई नेपाल फर्काउँछन्। त्यसरी फर्किएका पीडित महिलाहरूलाई केही दिइँदैन। परिवारसँग पनि तिनको सम्पर्क हुँदैन। पीडित महिलासँग भएका मोबाइल फरम्याट अथवा डिलिट गरेर पठाइन्छ, जसले सबै प्रमाण मेटाइसकेको हुन्छ।
त्यसरी एयरपोर्टमा धेरै महिलाहरूको गन्तव्य कहाँ हो भन्ने समेत थाहा नहुने अमृतसरकी गौतमले बताइन्। अझै विदेशबाट अवाञ्छित बच्चाहरू लिएर आउने महिलाहरूलाई समाज, परिवार र साथीभाइले समेत तिरस्कृत गरेका कारण पीडितहरूका लागि आवासको व्यवस्था गरिएको हो। विदेशीका बच्चासहित आउने, तिनकै गर्भ बोकेकाहरूको अवस्था झनै भयावह रहेको उनले बताइन्।
यसरी आउने महिला र तिनका बच्चाको बिचैमा मृत्यु भयो भने तिनको अन्तिम सतगतसमेत यही संस्थाले गर्ने गरेको छ। ‘यी सबै महिला आफैंले चाहेर मात्र यति गम्भीर अवस्था सिर्जना भएको होइन। पारिवारिक अवस्था कमजोर भएपछि उनीहरू बिदेसिन्छन्। विदेशमा नसोचेको र नदेखेको पीडा उनीहरूले भोग्नुका साथै पीडादायी अवस्थामा नेपाल फर्किने गरेको उनको अनुभव बताउँछिन्।
यसरी फर्किएका महिलाहरूलाई सरकारले पनि केही सहयोग नगरेको उनको गुनासो छ। ‘हाम्रो पनि सानो आवासगृह छ। त्यसमा उनीहरूलाई हेरचाह गर्नेदेखि बस्ने, खाने व्यवस्था गर्न पनि गाह्रो छ,’ उनले भनिन्, ‘हामीलाई सरकारबाट केही सहयोग छैन। बरू केही मात्रामा प्राइभेट व्यक्ति तथा संस्थाले सहयोग गरिदिएको छ।’
विदेश जानुअघि सामान्य सोच्ने महिलाहरू फर्केर आएपछि सोचजस्तो होइन रहेछ भन्ने निष्कर्षमा पुग्छन्। गौतमका अनुसार कतिले विदेशबाट उद्धारका लागि लाइभ भिडियो कल गरेर हारगुहार माग्छन्।
यो पनि पढ्नुहोस्
अख्तियारबाट जोगिन अदालतमा ‘लेनदेन’ मुद्दा
उनीहरूलाई उधृत गर्दै उनले भनिन्, ‘दिदी यहाँ हेर्नुस् त साहुको छोराले अन्डरवेयर मात्रै लगाई रातभरि ढोका ढकढक्याएर हैरान गर्छ। मैले यसै भनेकी होइन। यहाँको जञ्जालबाट बचाइदिनुहोस्। म नेपाल आउन चाहन्छु।’
आफूलाई रातदिन विदेशमा अलपत्रमा परेका महिलाले फोन गरेको ग¥यै गर्ने गरेको अमृतसरकी अध्यक्ष गौतम बताउँछिन्। ‘नेपाली महिला विदेशीसँग मात्रै होइन, विदेशमै नेपाली एजेन्सी खोलेर बसेका एजेन्टहरूसँग पनि सुरक्षित छैनन्,’ उनले भनिन्, ‘यौन शोषणमा परेर फर्केका महिला त कति हुन्छन् हुन्छन्, तिनीहरूलाई कसरी सरक्षण गर्ने, त्यो नै गाह्रो छ। सम्हालेर सम्हाल्न सक्ने अवस्था छैन। हरेक दिन नेपाल फर्किएका तीनचार जना महिला यौन शोषणमा परेकै हुन्छन्।’
अवैधानिक रूपमा विदेश गएका महिलालाई स्वदेश ल्याउन झनै कठिन छ। त्योभन्दा कठिन यस्ता व्यक्तिको त्यहीं निधन भयो भने लास ल्याउनलाई हुन्छ। कुवेतमा भिजिट भिसामार्फत त्यहाँ पुगेका सबै अवैधानिक हुन्। नेपाल सरकारले घरेलु कामदारका लागि विदेश जान बन्देज गरेको छ। तर, भिजिट भिसामा अत्यधिक महिला त्यहाँ पुगेका छन्। एक अनुमानअनुसार प्रतिमहिना हजारभन्दा बढी महिला अवैधानिक तवरले विदेश जाने गरेका छन्।
नेपालबाट महिलालाई सेटिङमार्फत सहजै विदेश जान हवाई उडान मिलाउने गरिएको छ। ‘एयरपोर्टबाट खाडी जाने महिलालाई रातिको मात्रै उडान छ। राति एयरपोर्टभित्र कसको ड्युटी कहाँ छ भन्ने सबै एजेन्टलाई थाहा हुन्छ। एयरपोर्टका कर्मचारीसँगै सबै सेटिङ भएका कारण यसरी अवैध तवरले दूरदराजका महिला विदेश पुग्ने गर्छन्,’ गौतमले नागरिकसँग भनिन्।
यो पनि पढ्नुहोस्
अनिच्छित आमाहरू: वैदेशिक रोजगारीको कहालीलाग्दो कथायो पनि पढ्नुहोस्
वैदेशिक रोजगारीले जन्माएका अनिच्छित आमाहरू-ख
प्रकाशित: २० पुस २०८१ ०८:१४ शनिबार