कपिलवस्तुको तौलिहवास्थित नेपाल बाल संगठनद्वारा सञ्चालित बालगृहमा रहेका बालबालिकाहरूले यस वर्षको रक्षाबन्धनमा दिदीको मायासहित आशिर्वाद पाएका छन्।
पारिवारिक स्नेहबाट वञ्चित ३२ जना बेसहारा बालक तथा युवाहरूलाई दुई दिदीले राखी बाँधिदिँदा बालगृहको वातावरण नै आत्मीय र उल्लासमय बनेको थियो।
बालगृहकै एक पूर्व सदस्य टीका पुन मगर र कर्मचारी कविता थारूले बालगृहका ३० बालक र त्यहीँ हुर्केर विभिन्न पेशामा आबद्ध २ युवालाई राखी बाँधेर, टीका लगाई प्रसाद वितरण गर्दै आशीर्वाद दिएका थिए। उनीहरूको यो कदमले बालबालिकाको मुहारमा खुसीको चमक ल्याएको थियो।
सात वर्षसम्म यही बालगृहमा बाल्यकाल बिताएकी र हाल काठमाडौंमा बस्दै आएकी टीकाले २०७२ सालदेखि हरेक वर्ष रक्षाबन्धनमा भाइहरूलाई राखी बाँध्न आउने गरेकी छन्।
‘म यहीँ हुर्केकी हुँ, त्यसैले यहाँका भाइहरू मलाई साख्खै लाग्छन्,’ उनले भनिन्, ‘उनीहरूको हातमा राखी बाँधेर आशिष दिन पाउँदा छुट्टै आनन्द मिल्छ।’
यस्तै, बालगृहकी कर्मचारी कविता थारूले पनि बालगृहका बालबालिकालाई आफ्नै भाइ सम्झेर माया साट्न पाउँदा निकै खुसी लागेको बताइन्। दिदीहरूको हातबाट राखी र आशिष पाएपछि बालबालिकाहरूले पनि आफूहरूले कहिल्यै दिदीको अभाव महसुस नगरेको भन्दै खुसी व्यक्त गरे।
बालगृहका प्रबन्धक रामप्रसाद अर्यालले यस्ता कार्यक्रमले बालबालिकामा पारिवारिक भावनाको विकास हुने र उनीहरूको मुहारमा खुसी छाएको बताए।
नेपाल बाल संगठनका अध्यक्ष गोपालमणि ज्ञवालीले भने, ‘सहाराविहीन बालबालिकाले दिदीहरूको हातबाट टीका र राखी ग्रहण गर्दा उनीहरूको अनुहारमा देखिएको खुसी अमूल्य थियो।’
यसैगरी, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तौलिहवा शाखाले पनि बालगृहमा रक्षाबन्धन कार्यक्रम आयोजना गरेको थियो। विश्वविद्यालयकी सञ्चालिका राजु दिदीले बालगृहका सम्पूर्ण बालबालिकालाई राखी बाँधेर पर्वको शुभकामना दिएकी थिइन्।
प्रकाशित: २४ श्रावण २०८२ १४:२४ शनिबार





