२५ भाद्र २०८२ बुधबार
image/svg+xml ०:३ पूर्वाह्न
अपराध

खैनीको निहुँमा श्रीमतीको हत्या, ‘लडेर घाइते’ भन्दै झुक्याउन खोज्ने श्रीमान् पक्राउ

सामान्य घरायसी विवादमा आफ्नै श्रीमतीलाई कैंची प्रहार गरि हत्या गर्ने एक व्यक्तिलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।

घटनालाई लुकाउन ‘बाटोमा लडेर रडले घोपियो’ भन्दै प्रहरीमा झुठो जाहेरी दिने फुङलिङ नगरपालिका–६ का सञ्जमान लिम्बू (विजय) लाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डीएसपी) बेदप्रसाद गौतमका अनुसार, घटना शंकास्पद देखिएपछि गरिएको सुक्ष्म अनुसन्धानबाट श्रीमान् नै हत्यामा संलग्न रहेको तथ्य खुलेको हो।

पक्राउ परेका लिम्बूमाथि आफ्नै ३० वर्षीया श्रीमती शान्ति राईको हत्या गरेको अभियोग छ। उनलाई ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको डीएसपी गौतमले बताए।

प्रहरी अनुसन्धानअनुसार, गत साउन ८ गते सञ्जमानले श्रीमती शान्तिलाई खैनी माड्न लगाउँदा सुरु भएको विवाद चर्किएपछि कोठामा रहेको कैंचीले श्रीमतीको योनाङ्गभन्दा केही माथि पेटमा घोपेका थिए।

घटनापछि उनले घाइते श्रीमतीलाई ‘बाटोमा हिँड्दा लडेर रडले घोच्यो भन्नू’ भनी दबाब दिएर उपचारका लागि ताप्लेजुङ अस्पताल लगेका थिए।

अस्पतालमा चोटमा सिलाएर घर फर्काइएकी शान्तिको स्वास्थ्य अवस्था साउन ९ गते पुनः बिग्रियो। दिसापिसाब बन्द हुने र बान्ता गर्न थालेपछि उनलाई फेरि अस्पताल भर्ना गरियो। तर, उपचारकै क्रममा साउन १० गते राति ११:३० बजे उनको मृत्यु भयो।

श्रीमतीको मृत्युपछि सञ्जमानले घटनाबाट बच्न ‘बाटोमा हिँड्दै गर्दा रडले घोचेर घाइते भएको’ भनी प्रहरीमा झुठो जाहेरी दिएका थिए। तर, प्रहरीले विशेष सूचना र आफन्तहरूसँगको सोधपुछका आधारमा घटनाको रहस्य खुलेको हो।

‘यो घटनाको अनुसन्धान र तथ्य पुष्टि गर्न प्रहरीले निकै मिहिनेत गरेको छ,’ डीएसपी गौतमले भने।

प्रहरीले शान्तिको मृत्यु लडेर नभई श्रीमानले प्रहार गरेको कैंचीकै कारण भएको प्रारम्भिक निष्कर्ष निकाल्दै सञ्जमानलाई पक्राउ गरेको हो। मृतकको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ श्रावण २०८२ १६:१९ सोमबार

खुशी 0 %
दुखी 100 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App