नेपालमा भड्किएको हिंसात्मक प्रदर्शन र त्यसमा भएको मानवीय क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिन्ता व्यक्त गरेका छन्। मङ्गलबार साँझ सामाजिक सञ्जाल एक्समार्फत नेपाली भाषामा लेख्दै उनले नेपालको शान्ति, स्थिरता र समृद्धिका लागि सबैलाई संयम अपनाउन अपिल गरेका छन्।
मोदीले लेखेका छन्, ‘आज दिनभरको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमको बारेमा विस्तृत छलफल भयो। नेपालमा भएको हिंसा हृदयविदारक छ। धेरै युवाले आफ्नो ज्यान गुमाउनुपरेकोमा मेरो मन अत्यन्तै विचलित छ।’
उनले थपे, ‘नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्त्वपूर्ण छ। म नेपालका सबै दाजुभाइ तथा दिदीबहिनीलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपिल गर्छु।’
प्रकाशित: २४ भाद्र २०८२ २२:४७ मंगलबार





