२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

इटहरी हिंसा : मेयरदेखि मन्त्रीको घरमा आगजनी

इटहरीका मेयर हेमकर्ण पौडेलको घरमा आगजनी। तस्बिर: नागरिक

सोमबारदेखिको आन्दोलनका कारण प्रदर्शनकारीले मंगलबार अपराह्न इलाका प्रहरी कार्यालय इटहरीमा आगजनी र तोडफोड गरेका छन्। सोमबार प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको निधन भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन समयका लागि कर्फ्यू लगाए पनि मंगलबार बिहानैदेखि प्रदर्शनकारीले इटहरी बजार क्षेत्रलाई कब्जा गरी इलाका प्रहरी कार्यालय इटहरीमा आगजनी गरेका छन्।  

प्रदर्शनकारीले प्रहरीको हतियारलगायतका अन्य सामग्री पनि लिएर गएका छन्। प्रदर्शनकारी प्रहरी कार्यालय प्रवेश गरेपछि प्रहरीको टोली भागेको छ। यहाँ डिएसपीको कमाण्डमा प्रहरीको टोली रहेको थियो। इटहरीको स्थिति झन्-झन् अनियन्त्रित बन्दै गएको छ। प्रदर्शनकारीले इटहरीकै हलगडामा रहेको प्रहरी चौकी पनि आगजनी गरेका छन्।  

यसैक्रममा इटहरीका मेयर हेमकर्ण पौडेलको घरमा पनि आगजनी गरी पूर्ण रूपमा ध्वस्त बनाएका छन्। इटहरी उपमहानगरपालिकामा रहेका थप सवारी साधन र बाँकी रहेको संरचनामा पनि आगजनी गरेका छन्। सोमबार पनि प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकामा आगजनी गरेका थिए।

प्रदर्शनकारीले इटहरी वडा नं. ६ मै रहेको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको घरमा तोडफोड गरेका छन्। कोशी गाउँपालिका अध्यक्ष अयूव अन्सारीको इनरुवामा रहेको घरमा आगजनी गरेका छन्।

इनरुवा नगरपालिका कार्यालयमा आगजनी र तोडफोड गरेका छन्। यस्तै, इनरुवाका मेयर केदार भण्डारीको घरमा आगजनी गरेका छन्। प्रदर्शनकारीले इनरुवामै रहेको सुनसरी क्षेत्र नं. २ का संघीय सांसद भीम आचार्य र वडा नं. ६ का वडाध्यक्ष सुमन थापाको घरमा पनि क्षति पुर्‍याएका छन्।

दुहवी नगरपालिकामा आगजनी र तोडफोड गरेका छन्। यस्तै, आन्तरिक राजस्व कार्यालय इटहरीमा आगजनी गरिएको छ। इटहरीमै रहेको कर कार्यालय र यातायात कार्यालयको सवारी एवम् लाइसेन्स शाखाको कार्यालयमा प्रदर्शनकारीले तोडफोड गरेका छन्।  

इटहरी उपमहानगरपालिका वडा नं. ८ का वडाध्यक्ष रोहित चौधरीको घरमा पनि प्रदर्शनकारीले तोडफोड गरेका छन्।  

नेपाली काँग्रेस र नेकपा एमाले इटहरीको कार्यालयमा आगजनी र तोडफोड गरेका छन्। धरानमा नेकपा एमालेको कार्यालयमा आगजनी गरेका छन् भने नेपाली काँग्रेसका कार्यालयमा तोडफोड गरेका छन्।  

प्रदर्शनकारीले श्रृंखलाबद्ध रूपमा साँझ अबेरसम्म पनि आगजनी र तोडफोड जारी राखेकाले गर्दा इटहरीका बासिन्दा त्राहीमाम भएका छन्।  

नागरिक समाजसहित यस क्षेत्रमा क्रियाशील सामाजिक संस्थाका अगुवाहरूको भेलाले स्थिति काबुबाहिर गएकाले आन्दोलनलाई शान्तिमा रूपान्तरण गर्न अपिल गरेका छन्। नागरिक समाज इटहरीका अध्यक्ष आर के राईले प्रेस विज्ञप्ति जारी गरी स्थितिलाई सहज बनाउने दायित्व पनि भएकोले संयम अपनाउन आग्रह गरेका छन्। भेलाले आन्दोलनमा घुसपैठ हुँदा कतिपयले व्यक्तिलाई निशाना बनाएर पनि व्यक्तिगत क्षति पुर्‍याउने क्रम बढेकाले आन्दोलनरत पक्षलाई विशेष ध्यान दिन आग्रह गरेको छ।  

प्रकाशित: २४ भाद्र २०८२ २२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App