८ भाद्र २०८३ सोमबार
image/svg+xml
प्रविधि

नेपालमै बनेको ‘सिप्रदी यात्री पी–२ स्कूटर’ सार्वजनिक

नेपालमै उत्पादन भएको ‘सिप्रदी यात्री पी –२ विद्युतीय स्कूटर’ सार्वजनिक भएको छ । टाटा गाडीको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ कम्पनीले सोमबार पहिलोपटक स्वदेशी डिजाइन र इन्जिनियरिङमा उत्पादन भएको ‘सिप्रदी यात्री पी– २ विद्युतीय स्कूटर सार्वजनिक गरेको हो ।  

काठमाडौंको बुढानिलकण्ठमा इन्जिनियरिङ डिजाइन भई धादिङको गजुरिमा नेपालको सडक तथा भूगोल सुहाउँदोगरि उत्पादन भएको सो स्कूटर निर्माणको विभिन्न चरणहरूबारे प्राविधिक जानकारी दिलाउन कारखानाको स्थलगत अवलोकन पछि आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस विद्युतीय स्कूटर सार्वजनिक गरेका हुन ।  

अर्थमन्त्री वाग्लेले बुढानिलकण्ठमा डिजाइन गरि धादिङको गजुरीमा उत्पादन भएको यस विद्युतीय यात्री पी–२ स्कूटर सार्वजनिक गर्न पाउँदा आफुलाई गौरव लागेको बताए । उनले देशमा केही हुँदैन भन्नेहरुका लागि सिप्रदीको यो स्कूटर निर्माणले अब नेपाल सवारी साधन आयातमा निर्भर नभई आफुलाई आवस्यक स्कूटरलगायतका आकर्षक डिजाइन र मोडलका सवारी साधन उत्पादन गर्न सक्षम भएको उदाहरण प्रस्तुत गरेको बताए । उनले अब यो स्कूटर नेपालमा मात्र नभएर विश्वकै नम्बर १ लोकप्रिय ब्रान्ड हुने अपेक्षा गरिएको बताए । उनले यो स्कूटरको डिजाईन र मोडल पनि एकदम आकर्षित र लोभलाग्दो भएको बताए ।        

सिप्रदी ट्रेडिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) राजनबाबु श्रेष्ठले यो स्कूटर नयाँ विद्युतीय उत्पादन मात्र नभएर सम्पूर्ण नेपालीको विश्वासको प्रतीक भएको बताए । ४४ वर्षदेखि टाटा गाडीको नेपालस्थित आधिकारिक विक्रेता कम्पनी सिप्रदीले मुलुकको अटो बजारमा आवस्यक पूर्वाधार तथा औद्योगिक वातावरण सिर्जना गर्दै आएको जानकारी गराउँदै उनले यस सिप्रदी यात्री पी–२ मोडलको विद्युतीय स्कूटर उत्पादनको सफलतापछि अझै आगामी दिनमा थप डिजाइन र मोडलका स्कूटर तथा मोटरसाइलक उत्पादन गर्दै जाने लक्ष्य लिएको बताए । सो कार्यक्रममा सिप्रदी ट्रेडिङका ग्रुप प्रेसिडेन्ट मनीष अग्रवाल र यात्री पी– २ स्कूटर उत्पादनको डिजाइन निर्देशक तथा सीईओ असिम पाण्डेले साढे २ घण्टा नर्मल चार्ज गर्दा १५७ किमी माइलेज दिने र डिसी फास्ट चार्जबाट जम्मा ४१ मिनेटमै फुलचार्ज हुने यस स्कूटरको ब्याट्री, च्यासिस इन्जिन अगाडीको डिस्प्लेलगायत सम्पूर्ण नेपाली डिजाइको उत्पादन भएको बताए । हिमाल, पहाड र तराईका विभिन्न भू भागमा गुडाउन अनुकुल हुनेगरि उत्पादन भएको यो विद्युतीय स्कूटर नेपाली उपभोक्ताको मन जित्न सफल हुने बताए ।  

सिप्रदी यात्री कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद गिरीले स्वदेशी डिजाईनमा उत्पादन भएको यो स्कूटर सार्वजनिक भएपछि नेपाल सावारी साधनमा छिटै आत्मनिर्भरतर्फ लम्कन सक्ने क्षमता प्रस्तुत गर्न यस कम्पनी सफल भएको बताए । उनले अहिले काठमाडौको बुढानिलकण्ठमा डिजाइन भई गजुरीमा उत्पादन गरिएको यस कम्पनीको मुख्य कारखानाको औपचारिक उद्घाटन भने आगामी असोज १ गते हुने जानकारी गराए । यस कम्पनीको मुख्य कारखाना धादिङको गजुरीमा रहेको छ । उनले नेपालमै बनेको सिप्रदी यात्री पी–२ स्कूटर ले छिटै उपभोक्ताको मनजितेर बजार पाउने अपेक्षा गरिएको बताए ।  

सिप्रदी यात्रीले स्वदेशमै निर्मित ‘यात्री’ ब्रान्डको दुई पाँग्रे सवारी साधनको नयाँ मोडल ‘पी–२’ विद्युतीय स्कूटर सार्वजनिक गरेको हो । एकपटक ‘फुल चार्ज’ गरेपछि १५७ किलोमिटर माइलेन दिने यो स्कूटरमा १० किलोवाटको मोटर र ५.२ किलोवाटको ब्याट्री रहेको सो कम्पनीले जनाएको छ ।

यस स्कूटर चार्जिङका लागि पनि धेरै समय नलाग्ने जानकारी गराउँदै कम्पनीले यो स्कूटरलाई धरायसी चार्जरबाट ८० प्रतिशतसम्म चार्ज गर्न साढे दुई घण्टा तथा डीसी फाष्ट चार्जिङ प्रयोग गर्दा ८० प्रतिशत चार्ज गर्न ४१ मिनेट मात्र लाग्ने बताएको छ । विशेष गरि सहरी सडकका लागि बढी उपयोगी भनिए पनि २१ डिग्रीसम्म ठाडो उकालो र भौगोलिकरूपमा चुनौतिपूर्ण सडकमा पनि सहजै गुड्नसक्ने गरी डिजाइन र निर्माण गरिएको ‘यात्री पी–२’ स्कूटरमा उन्नत कनेक्टिभिटि प्रणाली जडान, प्रविधिमैत्री, उच्च मोटर क्षमता र लामो माइलेज दिनसक्ने क्षेमता रहेको सो कम्पनीले जनाएको छ ।  

सिप्रदीले यात्री पी–२ मोडलको यस विद्युतीय स्कूटर मंगलबारबाट काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘नाडा अटो सो’ मा विशेष आकर्षणको रुपमा प्रदर्शन गर्ने भएको छ ।

प्रकाशित: ८ भाद्र २०८३ २२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App