मधेस प्रदेश सरकारमा मुख्यमन्त्रीसहित अर्थ र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी रौतहटका तीन जना नेताले पाउनु जिल्लाका लागि राजनीतिक दृष्टिले सुखद संयोगका रूपमा देखिएको छ। मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव, अर्थमन्त्रीमा युवराज भट्टराई ‘समीर’ र स्वास्थ्यमन्त्रीमा नागेन्द्र साह रहनु रौतहटवासीका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
तर, राजनीतिक रूपमा महत्वपूर्ण अवसर प्राप्त हुँदासमेत जिल्लाको स्वास्थ्य सेवा अपेक्षाअनुसार सुधार हुन नसकेको गुनासो बढ्दै गएको छ।
रौतहटको स्वास्थ्य क्षेत्रको अवस्था नियाल्दा सबैभन्दा खड्किने विषयमध्ये एक हो, सरकारी अस्पतालमा अत्यावश्यक सीटी स्क्यान सेवाको अभाव। जिल्ला सदरमुकाम गौरमा आधुनिक र आकर्षक अस्पताल भवन निर्माण भए पनि गम्भीर प्रकृतिका बिरामीका लागि आवश्यक सीटी स्क्यान सेवा उपलब्ध नहुँदा उपचारका लागि वीरगञ्ज, जनकपुर वा सीमावर्ती भारतीय सहरसम्म पुग्नुपर्ने बाध्यता कायमै छ।
गौर अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्ने माग
नागरिक समाजका सचिव विजयकिशोर झाले गौर प्रादेशिक अस्पताललाई मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको शिक्षण अस्पतालका रूपमा विकास गर्न पहल गर्नुपर्ने बताएका छन्।
उनका अनुसार गौर अस्पताललाई प्रतिष्ठानसँग आबद्ध गर्न सके विशेषज्ञ चिकित्सकको उपलब्धता, उपचार सेवा तथा स्वास्थ्य शिक्षाको वातावरणमा उल्लेख्य सुधार ल्याउन सकिन्छ।
तीन मन्त्री, तर स्वास्थ्य सेवामाथि प्रश्न
एउटै जिल्लाबाट प्रदेश सरकारको नेतृत्वसहित अर्थ र स्वास्थ्यजस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा तीन जना प्रतिनिधि हुनु सामान्य अवसर होइन। यसले रौतहटको स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सुधारका लागि आवश्यक नीति, बजेट र कार्यान्वयनबीच समन्वय गर्ने ठूलो सम्भावना बोकेको छ।
तर जिल्लावासीले प्रदेश सरकारको नेतृत्वदेखि स्वास्थ्य मन्त्रालयसम्म रौतहटकै प्रतिनिधित्व हुँदा पनि गौर अस्पतालमा सीटी स्क्यानजस्तो अत्यावश्यक आधुनिक स्वास्थ्य उपकरण किन जडान हुन सकेन भन्दै प्रश्न गर्न थालेका छन् ।
गम्भीर चोटपटक, टाउकोसम्बन्धी समस्या, मस्तिष्कघात, दुर्घटना तथा अन्य जटिल स्वास्थ्य अवस्थाका बिरामीको परीक्षण र उपचारमा सीटी स्क्यान महत्वपूर्ण मानिन्छ। यस्तो सुविधा नहुँदा बिरामी तथा उनका आफन्तले अतिरिक्त खर्च, समय र जोखिम बेहोर्नुपर्ने अवस्था छ।
मधेसमा सीटी स्क्यान सेवाको असमान पहुँच
सरकारी स्वास्थ्य संस्थाको अवस्था हेर्दा मधेस प्रदेशमा सीटी स्क्यान सेवा सीमित अस्पतालमा मात्र सञ्चालनमा रहेको देखिन्छ। वीरगञ्जको नारायणी अस्पताल, जनकपुरको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र राजविराजस्थित गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस्तो सेवा सञ्चालनमा छ।
बारा, रौतहट, सर्लाही, महोत्तरी र सिरहाका धेरै सरकारी अस्पतालमा भने सीटी स्क्यान सेवा उपलब्ध छैन। नारायणी अस्पताल र गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान संघीय सरकारअन्तर्गत रहेका छन्।
निजी क्षेत्रमा भने सिरहाको गोलबजारस्थित आरके अस्पताल तथा सर्लाहीको मलंगवास्थित तिरुपति बालाजी अस्पतालमा सीटी स्क्यान सेवा उपलब्ध रहेको बताइएको छ। यद्यपि निजी स्वास्थ्य संस्थामा उपलब्ध सेवाको पहुँच र खर्च सबै नागरिकका लागि सहज हुन सकेको छैन।
यसैगरी, मधेस प्रदेशमा चुम्बकीय अनुनाद इमेजिङ (एमआरआई) सेवा पनि वीरगञ्ज र जनकपुरमा मात्र सीमित रहेको अवस्था छ। यसले प्रदेशको स्वास्थ्य पूर्वाधारमा रहेको क्षेत्रीय असमानतालाई थप उजागर गर्छ।
शिक्षण अस्पताल बने विशेषज्ञ चिकित्सकको पहुँच बढ्ने अपेक्षा
गौर प्रादेशिक अस्पताललाई मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत शिक्षण अस्पतालका रूपमा विकास गर्न सके जिल्लाको स्वास्थ्य क्षेत्रमा संरचनात्मक परिवर्तन ल्याउन सकिने सरोकारवालाको विश्वास छ।
रौतहटको गढीमाई नगरपालिका–धरमपुर निवासी चिकित्सक डा. रञ्जित यादवले सामाजिक सञ्जालमार्फत जिल्लाको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्।
उनले जिल्लाका तीन जना प्रभावशाली नेता प्रदेश सरकारमा महत्वपूर्ण जिम्मेवारीमा रहे पनि रौतहटको स्वास्थ्य अवस्था विकट पहाडी जिल्लाभन्दा पनि कमजोर हुनु दुःखद पक्ष भएको बताएका छन्।
डा. यादवका अनुसार प्रदेश सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएमा पहिलो चरणमा जिल्लाको आवश्यकता र बिरामीको चापअनुसार विशेषज्ञ चिकित्सक परिचालन गर्न सहज हुनेछ। दोस्रो, चिकित्साशास्त्रमा स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीको उपस्थिति र चिकित्सकीय प्रशिक्षणले बिरामीको उपचार सेवामा थप जनशक्ति र दक्षता जोड्न सक्छ। तेस्रो, शिक्षण अस्पतालको वातावरणले चिकित्सकलाई ठूला सहरमै केन्द्रित हुने प्रवृत्तिबाट बाहिर ल्याई जिल्ला अस्पतालमै काम गर्ने वातावरण निर्माण गर्न सहयोग पुर्याउन सक्छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अभ्यासलाई यसको उदाहरणका रूपमा लिन सकिने डा. यादवको तर्क छ। प्रतिष्ठानसँग आबद्ध अस्पताल तथा जिल्ला अस्पतालमा आवश्यकताअनुसार सामान्य चिकित्सा तथा पारिवारिक चिकित्साका विशेषज्ञ, स्त्रीरोग तथा प्रसूति विशेषज्ञ र बेहोस बनाउने चिकित्सकलगायत विशेषज्ञ चिकित्सक परिचालन गर्ने अभ्यासले दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न सहयोग पुर्याएको उनको भनाइ छ।
त्यसैगरी, सुदूरपश्चिममा समेत शिक्षण अस्पतालको अवधारणाअन्तर्गत विभिन्न अस्पताललाई प्रतिष्ठानसँग आबद्ध गर्ने प्रयास हुँदै आएको छ।
अब भवन होइन, चाहियो प्रभावकारी स्वास्थ्य सेवा
गौर अस्पतालको भौतिक संरचना आकर्षक बनाउँदैमा स्वास्थ्य सेवा सुधार भएको मान्न सकिँदैन। अस्पतालमा भवनसँगै आवश्यक उपकरण, दक्ष जनशक्ति, विशेषज्ञ चिकित्सक र प्रभावकारी सेवा प्रणाली पनि उत्तिकै आवश्यक हुन्छ।
रौतहटवासीको अहिलेको मुख्य अपेक्षा पनि यही रहेको चिकित्सक प्रमोद ठाकुरले बताए।
“अस्पतालको भवन हेरेर गर्व गर्नलायक छ। तर बिरामी पर्दा उपचारका लागि जिल्ला बाहिर जान नपर्ने अवस्था सिर्जना हुनुपर्छ,” ठाकुरले भने।
रौतहटबाटै मुख्यमन्त्री, अर्थमन्त्री र स्वास्थ्यमन्त्री रहेको वर्तमान अवस्थालाई जिल्लाको स्वास्थ्य पूर्वाधार सुधारका लागि ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्ने उनको सुझाव छ।
गौर अस्पतालमा सीटी स्क्यान सेवा स्थापना, आवश्यक विशेषज्ञ चिकित्सकको व्यवस्था तथा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग संस्थागत आबद्धता गराउन सके त्यसको प्रत्यक्ष लाभ हजारौँ नागरिकले पाउने मत्सरीका शिक्षक वीरेन्द्र मिश्र बताउँछन्।
राजनीतिक प्रतिनिधित्वलाई नागरिकको स्वास्थ्य अधिकारसँग जोडेर ठोस परिणाममा रूपान्तरण गर्ने हो भने अहिलेको अवसर रौतहटको स्वास्थ्य क्षेत्रका लागि निर्णायक बन्न सक्छ। अन्यथा, “तीन जना मन्त्री, तर जिल्लाको स्वास्थ्य अवस्था उस्तै” भन्ने प्रश्न आगामी दिनमा अझ गम्भीर रूपमा उठ्ने निश्चित देखिन्छ।
प्रकाशित: ८ भाद्र २०८३ २२:०९ सोमबार





