३१ चैत्र २०८१ आइतबार
image/svg+xml ६:३८ पूर्वाह्न
अपराध

तीन हजार बढी फरार प्रतिवादी पक्राउ

नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिको खोजी अभियान तीव्र पारेको छ।

सोही क्रममा गएको माघमा मात्रै तीन हजार दुई सय ६४ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ। सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट यसरी फरार व्यक्ति पक्राउ परेका छन्। अदालतबाट मुद्दा फैसला भएर जरिवाना तथा कैद भुक्तानी गर्न बाँकी रहेकाको प्रहरीले खोजी गरेर अदालतमा बुझाउने गरेको छ।

सोही क्रममा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका र अदालतबाट दोषी ठहर भएर फरार रहेका उनीहरूलाई देशभरबाट परिचालित फरार अपराधी खोजी अभियानका खटिएका प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।

उनीहरूबाट रु २३ करोड ९२ लाख ९१ हजार जरिवाना उठाइएको छ। उनीहरू कुल छ सय ७२ वर्ष छ महिना २३ दिन कैद तोकिएका व्यक्तिहरू हुन्। प्रवक्ता आचार्यका अनुसार कोशी प्रदेशबाट मात्रै पाँच सय २७ र मधेस प्रदेशबाट सात सय १३ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

यस्तै बागमती प्रदेशबाट एक सय ७०, गण्डकी प्रदेशबाट दुई  सय १७, लुम्बिनी प्रदेशबाट पाँच सय ८३, कर्णाली प्रदेशबाट ५५ र सुदूरपश्चिम प्रदेशबाट ८९ जना पक्राउ परेका छन्। सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट नौ सय तीन र केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न क्षेत्रबाट सात जना फरार प्रतिवादी पक्राउ गरेको छ।

उनीहरूलाई अदालतमा पेस गरिएको र अदालतबाट कैद भुक्तानीका लागि कारागार पठाइसकेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: ११ फाल्गुन २०८१ १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App