२६ पुस २०८२ शनिबार
image/svg+xml
प्रविधि

गुणस्तरीय सफ्टवेयरमा ध्यानै दिँदैनन् प्रयोगकर्ता

काठमाडौं-काम गर्ने तौरतरिका बदलिदै जाँदा सफ्टवेयर व्यवसाय पनि बढ्दो छ। कम्पनीका हरेक काम प्रविधिले सजिलोसँगै छिटो छरितो बनाउँदै छ।


सानादेखि ठुल्ठूला कम्पनीले काम छिटोछरितो बनाउन, फाइल, डाटा र सूचना सुरक्षित राख्न प्रयोग गर्ने सफ्टवेयर भने आफैं कति सुरक्षित छन् त? लगायत गुणस्तर र सुरक्षाको विषयमा सफ्टवेयर प्रयोगकर्ता नै सचेत हुन नसकेको सरोकारवाला बताउँछन्।

'अहिले बजारमा प्रयोग भएका सफ्टवयरमध्ये २० प्रतशितले मात्र क्वालिटी एस्सुरेन्समा ध्यान दिएका छन्,' सफ्टवेेयर गुणस्तरसम्बन्धी काम गर्न स्थापना भएको इमिनेन्स वेयजका फाउन्डर तथा सफ्टवेयर इन्जिनियर नारायण कोइराला भन्छन्, '८० प्रतिशतका सफ्टवेयरमा क्वालिटी एस्सुरेन्स छैन।' यसको प्रमुख कारण सफ्टवेयर प्रयोगकर्ता नै यस विषयमा सचेत नहुनु हो भन्छन्, तिवारी। प्रयोगकर्ताले जस्तो अर्डर गर्योन त्यस्तै सफ्टवेयर बनाइने भएकाले पनि गुणस्तरमा धेरै ध्यान नगएको कोइरालाले बताए।

गुणस्तर ग्यारेन्टीसहितको सफ्टवेयर बनाउँदा धेरै खर्च र समय लाग्ने भएकाले गुणस्तरीय सफ्टवेयर उत्पादन हुन नसकेको हो। सफ्टवेयर उत्पादन गरिरहेका जानकी टेक्नोलोजीका मनिष मोदी पनि यसमा सहमत छन्। 'प्रयोगकर्ता नै सफ्टवेयरको गुणस्तरमा खासै ध्यान दिँदैनन्,' मोदी भन्छन्, 'उनीहरू सस्तो र छिटो खोज्छन्।'

हरेक कम्पनीमा स–साना काम गर्न पनि सफ्टवेयर प्रयोग हुन थालेपछि यसको 'क्वालिटी एस्सुरेन्स' र 'इन्सुरेन्स'को कुरा उठ्न थालेको हो। नेपालको सन्दर्भमा 'सफ्टवेयर इन्सुरेन्स'को कुराभन्दा पनि 'क्वालिटी एस्सुरेन्स'मा बढी ध्यान दिनुपर्ने विचार कोइराला राख्छन्। नेपालमा भर्खर सफ्टवेयर व्यवसाय जुर्मुराउन थालेको बेला कसरी गुणस्तरीय सफ्टवेयर उत्पादन गर्ने भन्ने विषय महŒवपूर्ण हुने उनले बताए। 'अहिले हाम्रो सन्दर्भमा सफ्टवेयर इन्सुरेन्सभन्दा पनि क्यालिटी एस्सुरेन्स बढी सान्दर्भिक हुन्छ,' कोइरालाले भने, 'अहिले गुणस्तर कायम गर्नुनै पहिलो प्राथमिकता हो।'

अहिले सफ्टवेयरको इन्सुरेन्सभन्दा पनि यसमा आउने समस्या, डाटा ब्याकअप, सुरक्षा, ह्याक हुने ठाउँहरू जस्ता विषयमा उत्पादकले सेवा दिइरहेको मोदी बताउँछन्। उत्पादकले आफ्ना ग्राहकलाई यस्ता सेवा दिन्छन्।

सामान्यतया सफ्टवेयरहरू ५–७ हजारदेखि करोडौंसम्मका हुन्छन्। सफ्टवेयर कत्तिको सुरक्षित र राम्रो बनाउने भन्ने विषय पैसामा भर पर्छ। जति खर्च गर्यो त्यत्तिनै सुरक्षित सफ्टवेयर बन्ने भए पनि हाम्रोमा अहिलेसम्म गुणस्तर उत्पादनमा जोड नभएको उत्पादक बताउँछन्।

सामान्य स्तरका, ई–कमर्सदेखि ठुल्ठूला कर्पोरेट हाउसको लागि इआबी सफ्टवेयरहरू बन्छन्। यी सफ्टवेयर कसरी बनाउने भन्नेमा गुणस्तर पनि भर पर्ने कोइरालाले बताए। सफ्टवेयर बनाउने धेरै प्रविधि छन्। कुन प्रविधिमा बनाइएको छ, डाटा आर्किटेक्चर, सिस्टम आर्किटेक्चर कस्तो छ सफ्टवेयर यी कुरामा भर पर्छ। त्यस्तै, सफ्टवेयर बनाउने क्रममा टेस्ट इन्जिनियरले विभिन्न लेभल टेस्ट गरेको छ–छैन, इन्टिग्रेसन टेस्ट, सिस्टम टेस्ट भएको छ कि छैन जस्ता विषयहरू गुणस्तरीय सफ्टवेयरसँग सम्बन्धित छन्।

गुणस्तरीय सफ्टवेयरको लागि प्रमाणित कम्पनीको टेम्प्लेट, प्लगिङहरू प्रयोग भएको हुनुपर्छ। महँगो परे पनि यसले सफ्टवेयर गुणस्तरीय बनाउँछ। तर यहाँ धेरै ठाउँबाट कोड कपी गरेर ल्याउने प्रवृत्तिले सस्तो सफ्टवयरमा गुणस्तर कायम भएको छैन।

'यी प्रक्रिया अपनाउने हो भने मात्र गुणस्तरीय सफ्टवेयर उत्पादन हुन सक्छ,' कोइरालाले भने, 'हाम्रोमा अहिले यी प्रक्रिया अपनाइँदैन।' यी सबै प्रक्रिया अपनाउँदा महँगो र धेरै समय लाग्ने भएकाले प्रयोगकर्ता झन्झन्ट उठाउन चाहँदैनन्।

'हामीले उत्पादकले जस्तो भन्यो त्यस्तै बनाइदिन्छौं,' मोदीले भने, 'प्रयोगकर्ताले सस्तो भन्यो भने त्यस्तै गर्ने हो।' नेपाली बजारमा पनि कतिपय निजी कम्पनीले उच्च गुणस्तरका सफ्टवेयर प्रयोग गरिरहेको उनले बताए। आउटसोर्सिङबाट उच्च गुणस्तरका काम पनि नेपालमा भइरहेका छन्। 'नेपालमा उच्च गुणस्तरका सफ्टवेयर उत्पादन भइरहेका छन्, त्यस्तो दक्ष जनशक्ति नेपालमा छ,' कोइरालाले भने, 'त्यो नेपालमा प्रयोग नभएको मात्र हो।' नेपालामा यस्ता धेरै कम्पनी पनि छन् जसले विश्वस्तरका उत्पादन गरिरहेका छन्।

सफ्टवेयर गुणस्तरीय नभए के हुन्छ?

पछिल्लो समय विभिन्न साइटहरु ह्याक हुने, बैंकिङ सिस्टमभित्र गएर पैसा चोर्ने, विभिन्न कम्पनीका सूचना चुहाउने प्रवृत्ति बढ्नु गुणस्तरीय सफ्टवेयर नभएरै हो। गुणस्तरीय सफ्टवेयर हुने हो भने ह्याकिङ हुनबाट बच्न सकिने उत्पादक बताउँछन्।

प्रकाशित: ८ भाद्र २०७२ २१:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App