२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

ऐलानी जग्गा हड्पेको भन्दै आश्रम र स्थानीयबिच ढुङ्गा हानाहान, अनुसन्धान गर्दै प्रहरी

धनुषामा ऐलानी जग्गाको विषयमा भएको झडपमा १२ जना घाइते भएका छन्। जिल्लाको मिथिला नगरपालिका-२ नक्टाझिज सुखजोरमा रहेको सतलोक आश्रमले ऐलानी जग्गा हड्पेको भन्दै जग्गा खाली गराउन गएका स्थानीय र आश्रमका प्रतिनिधिबीच झडप हुँदा १२ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रुगमबहादुर कुँवरका अनुसार झडपमा घाइते भएका सबैलाई प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि लगिएको छ। स्थानीय सुनिल परियार, विक्रम परियारसहित अधिकांशको टाउकोमा चोट लागेको उनले बताए।

स्थानीय प्रदर्शनकारीले आश्रमबाट निस्केको एम्बुलेन्समाथि तोडफोड गरेपछि सम्भावित दुर्घटना हुन नदिन र अवस्था नियन्त्रणमा लिन प्रहरीले छ सेल अश्रुग्याससमेत प्रहार गरेको प्रहरी प्रमुख कुँवरले बताए। यसैबीच, दुई पक्षबीच भएको झडपका कारण अवरुद्ध बनेको ढल्केवर–जनकपुर सडक खण्डलाई प्रहरीको सक्रियतामा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमको नेतृत्वमा खटिएको टोलीले जग्गा तथा आश्रमको वास्तविकताबारे अध्ययन गरिरहेको छ। उनका अनुसार विवाद उग्र बन्दा दुवै पक्षबीच ढुङ्गा हानाहानको स्थिति पैदा भएको थियो। रासस

प्रकाशित: २६ पुस २०८२ २०:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App