नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजक माधवकुमार नेपाल उदयपुर आउँदै छन्। पार्टीले आउँदो २८ गते सोमबार सदरमुकाम गाईघाटमा आयोजना गर्ने ‘बृहत पार्टी एकता सन्देशसभा’ लाई सम्बोधन गर्न नेताद्वय यहाँ आउन लागेका हुन्।
नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टीसहित विभिन्न साना तथा ठूला गरी १७ वटा वामपन्थी घटकहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले देशव्यापी एकता सन्देशसभा आयोजना गरिरहेको छ। नेकपाले सुरुमा ७ वटै प्रदेशस्तरीय सन्देशसभा सकेर स्थानीय तहस्तरमा सकेर अहिले जिल्लास्तरीय सन्देशसभा आयोजना गरिरहेको छ।
सोही क्रममा २८ गते गाईघाटमा आयोजना हुने त्रियुगा नगरस्तरीय तथा जिल्लास्तरीय सन्देश सभामा संयोजक दाहाल र सहसंयोजक नेपाल अतिथिका रूपमा आउन लागेको माओवादी जिल्ला संयोजक द्रोण पौडेल (निरज)ले बताए। पौडेलका अनुसार जिल्लाका ४ नगर र ४ गाउँपालिका गरि ८ वटै स्थानीय तहमध्ये त्रियुगाबाहेक बाँकी सबैमा सन्देशसभा सम्पन्न भइसकेको छ।
पार्टी केन्द्रले मङ्सिर २५ गतेदेखि पुस मसान्तसम्ममा देशभरका सबै वडा, स्थानीयतह र जिल्लास्तरीय सन्देशसभा सक्नुपर्ने निर्देशन दिएको छ। सोही निर्देशन अनुसार मङ्सिर २९ गते ताप्ली गाउँपालिकाबाट सुरु भएको सन्देशसभा शनिबार चौदण्डीगढी नगरपालिका बेलटारमा सम्पन्न भएसँगै त्रियुगाबाहेक सबै पालिकामा सकिएको छ।
त्यसअघि पुस २४ गते बेलका नगरपालिका ९ रामपुरमा, २१ गते उदयपुरगढी गाउँपालिका ५ गढीमा, १९ गते लिमचुङबुङ गाउँपालिका ३ बाराहामा, १८ गते कटारी नगरापालिका ३ कटारीमा र पुस १५ गते रौतामाई गाउँपालिका ७ मुर्कुचीमा सन्देशसभा सम्पन्न भईसकेको पौडेलले बताए। अव बाँकी त्रियुगा नगरपालिका र जिल्लास्तरीय सन्देशसभा एकैदिन २८ गते गाईघाटमा आयोजना गर्न लागेको पौडेलले बताएका छन्।
माओवादी त्रियुगा नगर कमिटी अध्यक्ष मानबहादुर राईले त्रियुगा सदरमुकामको स्थानीय तह भएकाले जिल्लास्तरमा समेत एकैदिन आयोजना गर्न लागेको बताए। जिल्लाको अन्तिम सन्देशसभालाई भव्यरुपमा सम्पन्न गर्न पार्टी संयोजक दाहाल र सहसंयोजक नेपाललाई अतिथि बोलाइएको बताउँदै उनले सर्वोच्च नेताहरूको सम्बोधन हुने सभामा जिल्लाका सबै स्थानीय तहका ७५ वटै वडाबाट नेता कार्यकर्ता र सर्वसाधारण उपस्थित हुने अध्यक्ष राईले बताए।
गाईघाट बजारको लोकतान्त्रिक (पिपल) चोकमा आयोजना हुने कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि विद्यार्थी, वाईसिएल, महिला, मजदुर, निटर्नी, किसान, जेष्ठ नागरिक मञ्च र प्रेस सेन्टरलगायत सबै जनवर्गीय सङ्गठनहरुलाई परिचालन गरिसकिएको छ। कार्यक्रम सफल पार्न एकीकृत समितिको कार्यदलले मञ्च व्यवस्थापन, झाँकी तयारी, र्याली, मार्चपास, प्रचारप्रसारलगायत छुट्टाछुट्टै उपसमितिहरू बनाएर तयारी गरिरहेको सचिवालय सदस्य संयमले बताएका छन्।
प्रकाशित: २६ पुस २०८२ २०:१७ शनिबार





