२७ पुस २०८२ आइतबार
image/svg+xml
प्रविधि

टेलिकमले ग्राहक १ करोड पुर्‍याउने

काठमाडौं, चैत २७ (नागरिक) - नेपाल टेलिकमले चालु आर्थिक वर्षभित्र ग्राहक संख्या करिब १ करोड पुर्याउने घोषणा गरेको छ। त्यस्तै टेलिघनत्वमा आफ्नो हिस्सा ३४ दशमलव शून्य पाँच प्रतिशत पुर्याउने लक्ष्य पनि सार्वजनिक गरेको छ।

कम्पनीको सोमबार भएको पाँचौं वार्षिक साधारणसभामा अध्यक्ष ध्रुवप्रसाद शर्माले डाटा सेवालाई आयको प्रमुख स्रोत बनाउन जिएएम तथा सिडिएमए प्रविधिमार्फत् ब्रोडब्यान्ड सेवालाई प्राथमिकतामा राख्ने रणनीति अवलम्बन गरेको बताए।

उनका अनुसार चालु आर्थिक वर्ष अन्त्यसम्ममा जिएसएम मोबाइल, सिडिएमए सेवा, आधारभूत टेलिफोनज सेवा, ब्रोडब्यान्ड सेवाका साथै भ्यालु एडेड सेवामा विस्तार गरी ग्राहक संख्या ९२ लाख ६६ हजार पुर्याोइने छ। 'गुणस्तरीय र एकीकृत सेवा सञ्चालनबाट ग्राहकको दूरसञ्चार सेवाको चाहना पूरा गर्न सजिलो हुन्छ,' उनले भने।

कम्पनीको खर्चमा थप मितव्ययिता अपनाउने र पारदर्शी बनाउन जोड दिने पनि उनले बताए। मोबाइ सेवा गुणस्तर अझ उच्च स्तरको बनाउन पुराना उपकरणलाई नयाँ प्रविधियुक्त उपकरणमार्फत् प्रतिस्थापन गर्ने जानकारी उनले दिए।

'आन्तरिक बजारमा सेवा विस्तारको सम्भावना रहेको छ, त्यही भएर ग्रामीण तथा सहरोन्मुख सम्भावित क्षेत्रमा आवश्यक पूर्वाधार स्थापनामा प्राथमिकता दिइएको छ,' नयाँ बजार विस्तारण रणनीतिबारे जानकारी दिँदै अध्यक्ष शर्माले भने, 'नविन प्रविधि अवलम्बन, सेवा विविधीकरण र सेवाको गुणस्तरमा जोड दिन्छौं।'

साधारणसभामा दिइएको जानकारी अनुसार तारसहितको टेलिफोन सेवामा ग्राहकलाई सञ्चारसम्बन्धी सबै आवश्यकता सम्बोधन हुनेखालका 'नेक्स्ट जेनेरेसन नेटवर्क' (एनजिएन), अत्याधुनिक आइपी बेस्ड प्रविधिमा आधारित 'सफ्ट-स्वीच', 'मिडिया गेटवे', 'मल्टी सर्भिस एक्सेस नड' (एमएसएएन) बाट भ्वाइस, डाटा, भिडियो र वाइम्याक्स प्रविधिमा आधारित 'वायरलेस ब्रोडब्यान्ड इन्टरनेट', ईभिडिओलगायत सेवालाई तीव्रता दिइने छ।

आर्थिक वर्ष २०६८/६९ का नाफा रकममध्येबाट प्रतिसेयर ४८ रुपैयाँका दरले नगद लाभांश वितरण गर्नेलगायत प्रस्ताव साधारणसभाले पारित गरेको छ। साधारणसभामा ९१.५६ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीको उपस्थिति रहेको टेलिकमले जनाएको छ।

कम्पनीका अनुसार गत आर्थिक वर्ष २०६८/६९ मा कूल आय १५.२१ प्रतिशतले वृद्धि भई ३६ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ। यसमा करपछिको नाफा ११ अर्ब ६० करोड भएको छ। २०६७/६८ मा अघिल्लो वर्षको दाँजोमा कूल आय १७.३० प्रतिशतले वृद्धि भई ३१ अर्ब ९३ करोड रुपैयाँ पुगेको थियो।

२०६५ असारसम्म सेयरधनीको जेथा ३५ अर्ब ३४ करोड रहेकोमा आर्थिक वर्ष २०६८/६९ मा आइपुग्दा ४९ अर्ब ४७ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।

'प्रविधि विकास र तीव्र प्रतिस्पर्धाले महसुल दरमा भएको क्रमिक कटौती, ऊर्जा संकट, उच्च मुद्रास्फीति, बढ्दो प्रशासनिक र सञ्चालन खर्चले नाफा संकुचनतर्फ उन्मुख हुने देखिएको छ,' टेलिकमका अध्यक्ष शर्माले भने, 'यति हुँदाहुँदै पनि हामीले आफ्ना ग्राहक आधार र आम्दानीको दायरा फराकिलो बनाएकाले कम्पनी आर्थिक रूपमा सवल छ।'

सूचना प्रविधिको दायरा झन् फराकिलो हुँदै गएको र सूचनामा सबैको पहुँच पुर्यानउन भौगोलिक विकटता, सीमित पूर्वाधारजस्ता अवरोध सिर्जना भइरहे पनि कम्पनीले यसलाई न्यूनीकरण गर्दै दूरसञ्चार सेवा क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको पनि उनले बताए।

साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०६९/७० का लागि कम्पनीको लेखा परीक्षकमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट कुवेर शर्मालाई नियुक्त गरेको छ।

प्रकाशित: २७ चैत्र २०६९ ००:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App