हामी नेपालीले आफूलाई विकासपीडितका रूपमा चित्रण गरे कुनै अत्युक्ति हुनेछैन। विकास नचाहने कोही छैन। मन्त्रीदेखि वडा सदस्यसम्मको एकमात्र ध्येय विकास रहेको छ। यति हुँदाहुँदै पनि विकासको काम किन हुँदैन ? विकासलाई राष्ट्रिय ढुकुटी दोहनको हतियारका रूपमा प्रयोग गर्ने एउटा टाठोबाठो वर्ग मुलुकमा सक्रिय छ। यसलाई विकास आयोजनाको ठेक्का हत्याउने तरिका थाहा छ। त्योभन्दा बढ्ता त्यस्ता आयोजनाको काम सम्पन्न नगरी भुक्तानी लिन पनि उत्तिकै जानेको छ। यस्तो अवस्थामा विकासनिर्माणको काम समयमै सम्पन्न भएन भनेर सर्वसाधारणले अरण्यरोदन गर्नुको कुनै अर्थ छैन। राज्यका सरोकारवाला निकाय सबैको यसमा मिलेमतो छ। देखाउनका लागि बेलाबेलामा कारबाही गर्नें भने पनि त्यो धम्कीको रूपमा मात्र रहेको छ। विकासका काम लथालिंग छाडेर परिचालनबापत् पाएको रकम व्यक्तिगत व्यवसाय सुधारका लागि प्रयोग गरिरहेका ठेकेदार मात्र यो मुलुकको भ्रष्ट प्रणाली बुझ्न सिपालु छन्। तिनले यो प्रणालीमा शोषण गरेका छन्। र, सर्वसाधारणको कष्टमा आफ्नो समृद्धिको इँटा थपिरहेका छन्। विकासपीडित नागरिकबाहेक को भुक्तभोगी होला र अहिलेको नेपालमा। वर्षौंसम्म काम नभएर सडकको धुलो खाएर पनि बाँचिरहेका जिउँदा सहिदलाई यसबारे सोधे पुग्छ। आफ्नो र परिवारको उपचारका लागि तिनको खर्च कति बढेको छ ? भन्ने सर्वेक्षण राज्यले गरेर हेरे पनि हुन्छ। सडक, पुल आदि समयमा नबनेर व्यक्तिको जीवन र जीविकामा परेका समस्याको पनि कुनै लेखाजोखा छैन।