१६ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

सूचना लुकाउँछन खेलकुद कर्मचारी

बाँके - क्षेत्रीय खेलकुद विकास समितिका कर्मचारीले आठौं राष्ट्रिय खेलकुदबारे सूचना लुकाउन खोजेको आरोप लागेको छ । गत वैशाखमा प्रदेश– ५ मा भएको आठांै राष्ट्रिय खेलकुदबारे नेपालगन्जका नागरिकले सूचना मागेका थिए । नमस्कार शाह, हेमराज भट्ट, मन भण्डारी र शम्भुप्रसाद चौधरीले जेठ २१ गते विभिन्न शीर्षकमा चारवटा सूचना मागेका थिए । सूचना मागेअनुसार क्षेत्रीय खेलकुद विकास समिति प्रदेश– ५ ले सूचना नदिएको हेमराज भट्टले नागरिकसँग बताए ।

असल शासनकर्मी भट्टले भने, ‘समितिसँग मागेको सूचनाको विवरणअनुसार उत्तर उपलब्ध हुन सकेन । यति संवेदनशील कुरामा क्षेत्रीय खेलकुदका कर्मचारीले हल्का रूपमा लिए । अब पुनः सूचना माग्ने तयारी गरेका छौं । त्यो पनि प्राप्त नगरे सूचनाको हकअन्तर्गत राष्ट्रिय सूचना आयोगमा निवेदन दिनेछौं ।’ राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा गत वैशाख ११ गते प्रदेश– ५ मा आठौं राष्ट्रिय खेलकुद सम्पन्न भएको थियो ।

प्रतियोगिताको सफलतासँगै खेलकुदमा भएका केही बेथितिले नेपाली खेलकुदमा पुनः निरन्तरता पाएकाले सत्य तथ्य बुझन सूचना माग भट्टले बताए । भट्टजस्तै सूचना माग्ने नेपालगन्ज निवासी विष्णु ओलीले पनि अपूरो सूचना पाएको गुनासो गरे । उनले भने, ‘हामीले क्षेत्रीय खेलकुदसँग सम्बन्धित सूचना मागेको थियौं । तर तोकिएको समयमा सूचना पाइएन । १७ दिनपछि पाएको सूचनामा खाली प्रक्रिया पु¥याउन मात्र खोजिएको छ ।’

आठौ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर क्षेत्रीय खेककुद विकास समिति प्रदेश–५ ले ५ करोड २२ लाख, ७२ हजार ८ सय ९३ रुपैयाँ पूर्वाधारमा खर्च गरेको थियो । यसै गरी समितिले क्षेत्रीय छनोट प्रतियोगिता, बन्द प्रशिक्षण र खेलसामग्री खरिदमा रकम खर्च गरेको थियो ।

नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ अनुसार मागेका चारवटा सूचनाको सही जबाफ नपाएको ओलीले बताए । उनले भने, ‘क्षेत्रीय खेलकुद विकास समितिले पछिल्लो चार वर्षमा विभिन्न संघसंस्थालाई आर्थिक सहयोग गरेको थियो । सहयोग गरेका संस्था र रकमको बारेमा सूचना माग्दा अपूरो सूचना दिइएको छ ।  भलिबल संघलाई १० लाख पेस्की दिएको र मंगोलियन जुडो क्लबलाई ७ हजार सहयोग गरेको मात्र विवरण दिइएको छ । त्यसबाहेक समितिले थुप्रैलाई आर्थिक रकम दिएको छ । तर त्यो सूचना कर्मचारीले दिएनन् ।’

अपुरो सूचना दिएको बारेमा सम्पर्क गर्न खोज्दा क्षेत्रीय खेलकुद विकास समिति प्रदेश– ५ का कार्यालय प्रमुख विष्णुप्रसाद शर्मा, लेखा प्रमुख तथा सूचना अधिकारी मीनबहादुर जिसी सम्पर्कमा आउन चाहेनन् । भलिबलका पूर्वखेलाडी ओलीले समितिसँग क्षेत्रीय खेलकुदले पछिल्लो चार वर्षमा खेलकुद विकासका लागि विभिन्न संघसंस्थालाई गरेको सहयोग, खरिद गरेको सामग्री, क्षेत्रीय छनोट प्रतियोगिता खर्च भएको रकम र राष्ट्रिय प्रतियोगितामा प्रदेश ५ बाट सहभागी खेलाडी, अफिसियल र उनीहरूले प्राप्त गरेको भत्ता रकमको बारेमा सूचना मागेका थिए ।

ओलीले भने, ‘यति ठूलो भव्य प्रतियोगिता नेपालगन्जमा भयो । हाम्रा लागि यो गर्वको कुरा हो । खेल सकिएपछि यसको बारेमा धेरै गुनासा आए। खेलाडी र पदाधिकारीबाट आएका गुनासोका आधारमा सत्य तथ्य जान्न पाउने नागरिकको अधिकार हो । र सूचना दिनु पदाधिकारीको दायित्व हो ।’ अपुरो सूचना दिएको बारेमा सम्पर्क गर्न खोज्दा क्षेत्रीय खेलकुद विकास समिति प्रदेश– ५ का कार्यालय प्रमुख विष्णुप्रसाद शर्मा, लेखा प्रमुख तथा सूचना अधिकारी मीनबहादुर जिसी सम्पर्कमा आउन चाहेनन् ।  

 

प्रकाशित: ३ श्रावण २०७६ ०५:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App