१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

फिफा विश्वकप : च्याम्पियनले ५० मिलियन डलर पाउँदा अरुले कति पाउँछन् ?

अब फिफा विश्वकप २०२६को केवल दुई खेल मात्र बाँकी छन्।

विश्वकप सकिन अन्तिम तीन दिन बाँकी रहँदा पुरस्कार रकम र विश्वकपका च्याम्पियनहरूले प्राप्त गर्ने रकम कति होला भन्नेबारे चासोको विषय रहेको छ। फिफाले प्रतियोगिताभरि टोलीहरूलाई कीर्तिमानी रकमको पुरस्कार राशि प्रदान गर्ने तयारी गरेको छ।

गत डिसेम्बरमा फिफाले २०२६ को प्रतियोगिताको लागि ६५५ मिलियन डलरको कीर्तिमानी पुरस्कार कोष अनावरण गर्‍यो। जुन चार वर्षअघि कतारमा भएको अघिल्लो संस्करणको तुलनामा ५० प्रतिशतले बढी हो।

आइतबार (जुलाई १९) स्पेन र अर्जेन्टिना बीचको फाइनल खेलका विजेताले ५० मिलियन डलर पाउनेछन् भने उपविजेताले ३३ मिलियन डलर पाउनेछन्।

शनिबार फ्रान्स र इंग्ल्याण्ड बीचको तेस्रो स्थानको प्लेअफमा जित्ने टोलीले २९ मिलियन डलर र चौथो स्थानको फिनिशरले २७ मिलियन डलर पाउनेछन्।

क्वाटरफाइनलमा पराजित मोरक्को, बेल्जियम, नर्वे र स्विट्जरल्याण्डले प्रत्येकले १९ मिलियन डलर घर लैजानेछन्। राउन्ड अफ १६ मा प्रतियोगिताबाट बाहिरिएका आठ टोलीलाई १५ मिलियन डलर दिइनेछ। राउन्ड अफ ३२ मा बाहिरिएका १६ टोलीलाई ११ मिलियन डलर दिइनेछ।

आइतबारको फाइनलभन्दा ३८ दिन अगाडि सुरु भएको प्रतियोगितामा खेलेका सबै ४८ टोलीहरूलाई कम्तिमा १०.५ मिलियन डलर ग्यारेन्टी गरिएको छ, जसमा समूह चरणबाट अगाडि बढ्न नसकेका टोलीहरूले ९ मिलियनडलर र ‘तयारी लागत’ बेहोर्न १.५ मिलियन डलर पाउनेछन्।

यी पुरस्कार कोषहरू प्रत्येक राष्ट्रका फुटबल संघ र महासंघहरूलाई प्रदान गरिन्छ, त्यसपछि ती निकायहरूले आफ्ना खेलाडी र प्रशिक्षकहरूलाई कति वितरण गर्ने भन्ने निर्णय गर्छन्। बाँकी पुरस्कार रकम प्रायः सम्बन्धित देशमा फुटबल विकासको लागि कोषको रूपमा प्रयोग गरिन्छ।

गैर–नाफामुखी संस्था फिफाले ४८ टोलीको यो पहिलो विश्वकपबाट १० अर्ब डलर भन्दा बढी आम्दानी हुने अनुमान गरेको छ। जसको अर्थ यसको पुरस्कार कोष प्रतियोगिताको कारोबारको लगभग ६.५ प्रतिशत बराबर छ।

यो अघिल्ला विश्वकपहरूसँग कसरी तुलना हुन्छ?

राजस्वमा भएको त्यो वृद्धिले यस प्रतियोगितासहित फिफाको चार वर्षे चक्रमा १३ अर्ब डलरको प्रक्षेपणमा योगदान पुर्‍याउनेछ। जुन २०२२ को फाइनल सहितको अघिल्लो चार वर्षे अवधिको ७.६ अर्ब डलर भन्दा बढि हो।

विजेताहरूको लागि पुरस्कार कतारबाट उल्लेखनीय वृद्धि भएको हो। त्यस वर्ष अर्जेन्टिनाले ४२ मिलियन डलर कमाएको थियो, जुन आइतबारको च्याम्पियनले पाउने भन्दा ८ मिलियन डलर कम हो।

यस पटक दोस्रो स्थानमा रहेको देशले २०२२ मा फ्रान्सले पाएको भन्दा भन्दा ३ मिलियन डलर बढी कमाउनेछ। तेस्रो र चौथो स्थानमा रहने टोलीहरूले पनि २ मिलियन डलर बढि पाउँनेछन्।

फिफाले १९८२ को प्रतियोगिताबाट आफ्नो पुरस्कार राशिको प्रचार सुरु गरेको थियो, जहाँ इटालीले स्पेनमा विजय हासिल गरेबापत केवल २.२ मिलियन डलर पाएको थियो। जसको कुल पुरस्कार राशि २० मिलियन डलर थियो।

त्यसबेलादेखि प्रत्येक विश्वकपमा पुरस्कार राशि बढेको छ र यस वर्षको विजेताहरूलाई जाने रकम इटालीले ४४ वर्षअघि कमाएको भन्दा २० गुणा बढी छ।

रकम बाहेक विजेताहरूले अरू के पाउँछन्?

आइतबार विश्वकप जित्ने टोलीका २६ खेलाडी र प्रशिक्षकले स्वर्ण पदक प्राप्त गर्नेछन्। त्यस्तै, उपविजेताले रजत पदक र शनिबारको तेस्रोरचौथो प्लेअफ विजेताले कांस्य पदक प्राप्त गर्नेछन्।

१९७८ भन्दा अगाडि फाइनलमा खेलेका ११ खेलाडीहरूलाई मात्र पदक प्रदान गरिएको थियो। २००७ मा फिफाले अन्तिम सुरुवाती ११ मा स्थान पाउनबाट चुकेका टोलीका खेलाडीहरूलाई पनि पदक प्रदान गर्ने घोषणा गर्यो।

प्रतियोगिताको फारम र प्रतिस्पर्धा गर्ने टोलीहरूको योग्यताको आधारमा छनोट गरिएका फाइनलका खेल अधिकारीहरूले पनि पदक प्राप्त गर्छन्।

फाइनल पछि प्रतियोगिताको उत्कृष्ट खेलाडी (गोल्डेन बल) र उत्कृष्ट गोलकिपर (गोल्डेन ग्लोभ) लाई व्यक्तिगत पुरस्कार वितरण गरिनेछ। जसको लागि फिफा–मान्यता प्राप्त मिडिया प्रतिनिधिहरूले मतदान गर्नेछन्।

प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई प्रदान गरिने गोल्डेन बुटको दौडमा मेस्सी र एमबाप्पेले समान ८ गोल गरेका छन्। जसमा असिस्टको आधारमा मेस्सी अग्रस्थानमा छन्। उनीहरुलाई हालान्ड, बेलिङ्घम र ह्यारी केनले पछ्याइरहेका छन्।

प्रकाशित: १ श्रावण २०८३ १२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App