एक्लोपन, मानसिक तनाव वा मनका कुरा कसैसँग बाँड्न नसक्ने अवस्थाबाट गुज्रिरहेका व्यक्तिलाई ११६६ नम्बरको निःशुल्क हटलाइन सेवा प्रयोग गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले आग्रह गरेको छ।
संगठनले हालै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा "तपाईंलाई एक्लो महसुस भइरहेको छ? मनमा लागेको कुरा कसैलाई भन्न सक्नुभएको छैन?" भन्ने प्रश्न गर्दै यस्ता समस्या भए आत्तिनु नपर्ने र ११६६ नम्बरमा सम्पर्क गरी निःशुल्क मनोसामाजिक सहयोग लिन सकिने जनाएको छ।
यही सन्देशलाई स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रले पनि आफ्नो सामाजिक सञ्जालमार्फत साझा गर्दै मानसिक स्वास्थ्य समस्यालाई लुकाएर नराख्न आग्रह गरेको छ।
केन्द्रले जारी गरेको सन्देशमा भनिएको छ, "सम्झनुहोस्, तपाईं एक्लो हुनुहुन्न। अप्ठेरा दिन सबैको जीवनमा आउँछन्। धैर्यताका साथ समस्याको समाधान खोज्नु नै बुद्धिमानी हो।"
२४सै घण्टा उपलब्ध छ निःशुल्क मनोसामाजिक सेवा
११६६ नम्बरमा सम्पर्क गर्ने व्यक्तिलाई प्रशिक्षित मनोपरामर्शदाताले निःशुल्क परामर्श सेवा प्रदान गर्छन्। आवश्यक परे थप उपचार, परामर्श वा उद्धार सेवासम्म पहुँच गराउन पनि सहयोग गरिने व्यवस्था रहेको छ।
सरकार र विश्व स्वास्थ्य संगठनको सहकार्यमा सञ्चालन भइरहेको यो हटलाइन सेवा मानसिक रोग अस्पतालमार्फत २४सै घण्टा उपलब्ध छ।
भावना लुकाएर नराख्न सुझाव
विश्व स्वास्थ्य संगठनका अनुसार एक्लोपन, निराशा वा मानसिक तनाव महसुस हुनु असामान्य होइन। यस्ता भावना मनमै दबाएर राख्नुको सट्टा आफूले विश्वास गर्ने व्यक्ति, परिवार वा साथीसँग खुलेर कुरा गर्न सके मानसिक बोझ कम हुन सक्छ।
संगठनले जारी गरेको सन्देशमा भनिएको छ, "आफ्नो भावनालाई मनमै गुम्साएर नराख्नुहोस्। विश्वास गर्ने व्यक्तिसँग आफ्नो कुरा साझा गर्नुहोस्। कुराकानीले मन हलुका मात्र बनाउँदैन, समस्यासँग जुध्ने बल र नयाँ ऊर्जा पनि दिन सक्छ।"
मानसिक समस्यामा परेकालाई कसरी सहयोग गर्ने?
विश्व स्वास्थ्य संगठनले मानसिक समस्या झेलिरहेका व्यक्तिका परिवार, साथीभाइ र आफन्तलाई पनि सक्रिय सहयोग गर्न आग्रह गरेको छ। संगठनका अनुसार यस्ता व्यक्तिलाई सहयोग गर्न:
उनीहरूको अवस्था बुझ्ने गरी संवेदनशील प्रश्न सोध्ने,
पूर्वाग्रह नराखी धैर्यपूर्वक कुरा सुन्ने,
आफू उनीहरूको साथमा रहेको अनुभूति गराउने,
आवश्यकता परे मनोपरामर्श वा स्वास्थ्य संस्थामा लैजान सहयोग गर्ने,
सकारात्मक सोच र नियमित खानपानमा प्रोत्साहित गर्ने
जस्ता उपाय प्रभावकारी हुन सक्छन्।
संगठनले मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्यजत्तिकै महत्वपूर्ण भएको उल्लेख गर्दै एक्लोपन वा मानसिक तनावको अनुभव हुनु व्यक्तिको कमजोरी नभई धेरै मानिसले भोग्ने सामान्य अवस्था भएकाले समयमै सहयोग लिन आग्रह गरेको छ।
प्रकाशित: १ श्रावण २०८३ १६:३६ शुक्रबार


-600x400.jpg)


