सांसद अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहमाथि दर्ता गरिएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा फिर्ता लिन माग गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापनपत्र बुझाइएको छ।
शुक्रबार कृष्णनगर नगरपालिका–१० का वडाध्यक्ष तथा नगर प्रवक्ता हरिपाल चतुर्वेदीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हो।
ज्ञापनपत्रमा असार २८ गते कृष्णनगर–२ स्थित शाह कम्प्लेक्समा भएको घटनाको वास्तविकता बुझ्न सांसद शाह र नगर प्रमुख शाह घटनास्थल पुगेको मात्र आधार बनाएर उनीहरूमाथि ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको उल्लेख गरिएको छ।
कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम (रितेश) शर्माले राजनीतिक प्रतिशोधका कारण सांसद शाह र नगर प्रमुख शाहविरुद्ध झुटो जाहेरी दिएको दाबी पनि ज्ञापनपत्रमा गरिएको छ। शर्माले अदालत तथा जिल्ला प्रहरी कार्यालयमा दिएको बयानमा आफू डिप्रेसनको औषधि सेवन गरिरहेको उल्लेख गरेको भन्दै त्यस्तो व्यक्तिको जाहेरीका आधारमा राजनीतिक प्रेरित मुद्दा अघि नबढाउन आग्रह गरिएको छ।
ज्ञापनपत्रमार्फत सांसद शाह र नगर प्रमुख शाहमाथि दर्ता गरिएको मुद्दा तत्काल फिर्ता लिन, निष्पक्ष अनुसन्धान गर्न तथा निर्दोष व्यक्तिमाथि धरपकड नगर्न प्रशासनसँग माग गरिएको छ। माग सम्बोधन नभए वा धरपकडको प्रक्रिया अघि बढाइए शान्तिपूर्ण आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिइएको छ। आन्दोलनका क्रममा हुन सक्ने क्षतिको जिम्मेवारी सम्बन्धित प्रशासनले लिनुपर्ने उल्लेख गरिएको छ।
नगर प्रवक्ता चतुर्वेदीले सांसद शाह र नगर प्रमुख शाहमाथि प्रतिशोधपूर्ण ढंगले मुद्दा दर्ता गरिएको भन्दै त्यसलाई तत्काल फिर्ता लिनुपर्ने बताए।

रितेश शर्मामाथि पनि उपद्रोसम्बन्धी मुद्दा
यसैबीच, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम (रितेश) शर्मामाथि पनि उपद्रोसम्बन्धी मुद्दा दर्ता भएको छ।
एक महिनाअघि शिवराज नगरपालिकास्थित सिद्धार्थ ग्रिन रिसोर्टमा क्यासिनो प्रवेशको विषयलाई लिएर उत्पन्न विवादपछि असार २८ गते शर्माले कृष्णनगरस्थित शाह कम्प्लेक्समा तालाबन्दीसहित विरोध गरेका थिए। त्यसपछि विवाद बढ्दै जाँदा केही युवाहरू शर्मा निवास पुगेका थिए। सोही घटनालाई लिएर सांसद शाह र नगर प्रमुख शाह विवाद मिलाउन पुगेका थिए।
तर, सोही घटनालाई आधार बनाएर शर्माले दुवै शाहविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गराएको वडाध्यक्ष चतुर्वेदीको दाबी छ।
उता, शाह कम्प्लेक्सका बैभव प्रताप शाहले पनि रितेश शर्माविरुद्ध उपद्रोसम्बन्धी मुद्दा दर्ता गराएका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार दुवै मुद्दामा प्रतिवादीहरूलाई पक्राउ पुर्जी जारी गरिएको छ भने खोजी कार्य जारी रहेको छ।
मुद्दापछि कृष्णनगर र बहादुरगञ्ज बजार बन्द
सांसद अभिषेक प्रताप शाह र नगर प्रमुख रजत प्रताप शाहविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएपछि शुक्रबार कृष्णनगर र बहादुरगञ्ज बजार दिनभर बन्द भएको छ।
व्यापारीहरूले स्वतःस्फूर्त रूपमा बजार बन्द गर्दै मुद्दा फिर्ताको माग गरेका छन्। बजार बन्दका कारण मालवाहक तथा सार्वजनिक सवारीसाधनको आवागमनसमेत प्रभावित भएको छ।
प्रकाशित: १ श्रावण २०८३ १७:४६ शुक्रबार





