नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश निसासिएर ऐठनको अवस्थामा पुगेको बताएका छन्।
पार्टीको वेबसाइटको नवीन संस्करण सार्वजनिक कार्यक्रममा शुक्रबार बोल्दै ओलीले समाजमा कानुनविपरीत हुने गतिविधिको नेतृत्व सरकारले नै गरिरहेको आरोप लगाए। उनले संसद्सहित राज्यका तीनवटै अंग कार्यकारीको नियन्त्रणमा रहेको दाबी गरे।
ओलीले सडकमा विरोधका आवाज उठाउनेहरूमाथि आक्रमण गराउन सरकारले नै सिभिल ड्रेसमा मानिस परिचालन गर्ने तयारी गरिरहेको आरोप लगाए। देश फासिवादउन्मुख अवस्थामा पुगेको उल्लेख गर्दै उनले सत्यको पक्षमा उभिएर वर्तमान अवस्थालाई परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए।
एमाले अर्काको सहारामा टिक्ने पार्टी नभई आफ्नै बलमा उभिएको स्वतन्त्र र विशाल वृक्ष भएको उनको भनाइ थियो। उनले एमाले परिस्थितिसँग आत्तिने वा प्रतिकूल अवस्थामा निराश हुने पार्टी नभएको पनि स्पष्ट पारे।
वर्तमान समाजमा सत्यलाई तोडमोड गर्ने ‘महागोएबल्स शैली’ हाबी हुँदै गएको भन्दै ओलीले चिन्ता व्यक्त गरे। कालोलाई सेतो र सुल्टोलाई उल्टो बनाएर भ्रम फैलाउने प्रवृत्ति केवल तत्कालीन राजनीतिसँग मात्र नभई सामाजिक संस्कृति र सभ्यताको रक्षासँग जोडिएको रणनीतिक विषय भएको उनको भनाइ थियो।
सूचना प्रविधि (आईटी) को प्रतिस्पर्धामा पार्टी केही पछि परेको स्वीकार गर्दै ओलीले अब आफ्ना कमजोरी सुधार गर्दै अघि बढ्ने बताए।
पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आयोजित कार्यक्रममा महासचिव शंकर पोखरेलले सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत युवा पुस्तालाई पार्टीको सही वैचारिक धारसँग जोड्नुपर्ने आवश्यकता औंल्याए।
वेबसाइटको नवीन संस्करण सार्वजनिक कार्यक्रम पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको थियो। विभाग प्रमुख निरज आचार्यले वेबसाइटका नयाँ विशेषताबारे जानकारी गराएका थिए। कार्यक्रममा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा विभिन्न जनसंगठनका पदाधिकारीको सहभागिता रहेको थियो।
प्रकाशित: १ श्रावण २०८३ १६:२३ शुक्रबार

