२ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

तीन दिन देशभर वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले साउन १ देखि ३ गतेसम्म देशभर मनसुनी सक्रिय रहने जनाएको छ। विभागका अनुसार शुक्रबारदेखी देशभर सामान्यदेखि पूर्ण बदली रहनुको साथै हिमाली भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। 

त्यसैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। 

शुक्रबार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान, कोशी, बागमती र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। रातिको समयमा पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा वर्षा जारी रहने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

त्यसैगरी देशभर वर्षाको गतिविधि अझ सक्रिय हुने पूर्वानुमान विभागले गरेको छ। हिमाली भू–भागका धेरै स्थान तथा देशका अधिकांश पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना हुनुको साथै तराईका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। 

त्यसैगरी शनिबार राति देशभर अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ। पहाडी भू–भागका थोरै स्थान, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा धेरै भारी वर्षा समेत हुन सक्ने विभागले जनाएको छ। 

आइतबार पनि देशभर मनसुनको प्रभाव कायम रहनेछ विभागले जनाएको छ । अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा हिमाली भू–भागका धेरै स्थानमा वर्षासँगै हिमपातको सम्भावना रहेको विभागको पूर्वानुमान छ। पहाडी भू–भागका अधिकांश स्थान र तराईका धेरै स्थानमा वर्षा हुने अनुमान गरिएको छ। 

आइतबार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। रातिको समयमा पनि कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा अधिकांश स्थान तथा अन्य प्रदेशका पहाडी र तराईका धेरै स्थानमा वर्षा जारी रहने विभागले जनाएको छ। कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान र बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

मौसमविद्हरूले लगातार वर्षा हुने र केही स्थानमा भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेकाले नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुन सक्ने स्थानका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।  

प्रकाशित: १ श्रावण २०८३ ११:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App