१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

दुर्गेश र प्रियंकाले माफी माग्दै युट्युवबाट हटाए ‘मास्टर्नी’ गीत

गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनीत चलचित्र ‘मास्टर्नी’को प्रमोसनका लागि सार्वजनिक गरिएको गीत ‘ताराबाजी लैलै’ विवादमा परेपछि युट्युबबाट हटाइएको छ।

गीत सार्वजनिक भएलगत्तै त्यसमा प्रयोग भएका शब्द र दृश्यलाई लिएर व्यापक आलोचना भएको थियो। गीतले समग्र शिक्षक समुदाय, विशेषगरी महिला शिक्षक तथा शिक्षण पेसाको गरिमामा आँच पुर्‍याउने र अमर्यादित तथा सामाजिक संस्कृतिलाई भड्काउने खालको प्रस्तुति दिएको भन्दै विभिन्न पक्षबाट आपत्ति जनाइएको थियो।

यस विषयमा परेको निवेदनमा पनि ‘ताराबाजी लैलै’ गीतमार्फत शिक्षक समुदायको सम्मानमा ठेस पुग्ने सामग्री समावेश गरिएको आरोप लगाइएको थियो।

विवाद चर्किएपछि अभिनेत्री प्रियंका कार्की र गायक दुर्गेश थापाले सामाजिक सञ्जालमार्फत छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।

यसअघि नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समितिले पनि संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उक्त गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको भन्दै आपत्ति जनाएका थिए।

आफ्नो विज्ञप्तिमा अभिनेत्री प्रियंका कार्कीले गीतका केही शब्द र दृश्यले सम्मानित शिक्षक–शिक्षिका पेसा तथा त्यससँग जोडिएका व्यक्तित्वहरूको गरिमामा आँच पुगेको भन्ने गुनासोलाई आफूले अत्यन्त गम्भीर रूपमा लिएको उल्लेख गरेकी छन्।

उनले कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा समाजको सबैभन्दा सम्मानित पेसा र मार्गदर्शक व्यक्तित्वप्रति कुनै पनि प्रकारको नकारात्मक सन्देश दिने उद्देश्य आफू वा आफ्नो टोलीको नरहेको स्पष्ट पारेकी छन्।

कार्कीले अन्जानमा प्रस्तुतिले शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै व्यक्तिगत रूपमा तथा सम्पूर्ण निर्माण टोलीका तर्फबाट हृदयदेखि नै क्षमायाचना पनि गरेकी छन्।

प्रकाशित: १ श्रावण २०८३ २२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App