१६ आश्विन २०७७ शुक्रबार
खेल

ऋणले थिचिएको तुलसाको परिवार

तुलसा, तुलसाकी आमा पद्मा खत्री र लेकबेसी नगरपालिका–३ ब्याओरेस्थित तुलसाको घर। तस्बिर ः नागरिक

सुर्खेत - पूर्वी सुर्खेतको लेकबेसी नगरपालिका–३ स्थित भेरी नदीकिनारको ब्याओरेस्थित टायलले छाएको काठे घरको चुल्होमा आगो नबलेको साता पुग्यो। ४४ वर्षीया मुटुरोगी पद्मा खत्रीका आँखा ओभाएका छैनन्। पद्माका पति रोजगारीका लागि मलेसिया छन्। पद्माले जेठी छोरी तुलसाको आवाज सुन्न नपाएको एक साता भयो।

देशमा अहिले १३औं दक्षिण एसियाली खेलकुल (साग) सञ्चालन भइरहेको छ। एथ्लेटिक्सकी राष्ट्रिय खेलाडी तुलसा बन्द प्रशिक्षणमै रहेका बेला रोजगारीका लागि कतार गएकी हुन्। धेरैले तुलसालाई साग प्रतियोगिता छोडेर देशकै गरिमामा आँच पु-याएको आरोप लगाइरहेका छन् तर घरको अवस्था हेर्दा उनी रहरले नभएर बाध्यताले श्रम गर्न कतार पुगेको देखिन्छ।

पद्माका चार छोराछोरीमध्ये जेठी हुन् तुलसा। सुर्खेतको पहाडी क्षेत्र रझेनामा तुलसासहित भाइबहिनीको जन्म भयो। गाउँमा नजिक विद्यालय थिएन। छोराछोरीको शिक्षाका लागि खत्री परिवार २०६४ सालमा भेरीकिनारको ब्याओरेमा बसाइँ स¥यो। ब्याओरेमा पाँच कट्ठा जमिन छ। आफ्नो जमिनको उब्जनीले पाँच महिना पनि खान पुग्दैन। घरखर्च चलाउन र छोराछोरी पढाउन तुलसाका बुवा भीमबहादुरले १२ वर्षदेखि मलेसियामा पसिना बगाइरहेका छन्। उनी ४५ वर्ष पुगे। पाखुराको बलमा कमाउने उमेर पनि सकिनै थाल्यो। तुलसाकी आमा पद्मा मुटुरोगी छिन्। ‘अब तिमीहरुलाई पढाउने र आमाबुवा पाल्ने जिम्मेवारी मेरो काँधमा आएको छ,’ कतार जानु दुई दिनअघि काठमाडौंबाट बहिनी गौरीलाई फोन गरी तुलसाले भनेकी थिइन्, ‘म टाढा हुनेछु, आमाको ख्याल गर्नू।’

तुलसाका बाबु भीमबहादुरले १२ वर्षदेखि मलेसियामा पसिना बगाइरहेका छन्, आमा पद्मा मुटुरोगी छन्। तुलसाका तीन भाइबहिनी छन्। पाँच कट्ठा जमिनको उब्जनीले खान पुग्दैन। बुबाको कमाइ र आफ्नो तलबले घरखर्च पुग्न छाड्यो। ऋण थपिँदै गएपछि जेठी छोरी तुलसा साग छाडेर कमाउन कतार हानिइन्।

मंसिर २ गते पद्मा खेतमा काम गर्दै थिइन्। बिहानै काठमाडौंबाट तुलसाको फोन आयो, ‘आमा चाँडो छिन्चु (रत्न राजमार्गले छोएको बजार) जानू, बस पुग्नै लाग्यो।’ उनी हतारहतार छिन्चु पुगिन्। छोरीले बसमा पठाएका दुई ठूला झोला अटो रिक्सामा राखेर घर ल्याइन्। ‘खोलेर हेर्दा एथ्लेटिक्स अभ्यासका क्रममा लगाउने पोसाक, जुत्ता र झुल थियो,’ पद्माले भनिन्, ‘मलाई त्यही दिन नै ऊ (छोरी) बाहिर जाँदैछे भन्ने शंका लागिसकेको थियो।’ त्यसपछि पद्माले तारन्तार छोरीलाई फोन गरी घर आउन कर गरिन्। ‘तलबले औषधि र डाइट खान तथा पोसाक किन्नै पुग्दैन, अब पैसा कमाएर मात्रै घर फर्किन्छु,’ छोरीले फोनमार्फत भनेका कुरा सुनाउँदै उनले भनिन्, ‘विदेश जाने तयारी रहेछ र पो पुराना लत्ताकपडा पठाएकी रहिछ।’

विदेश उडेको दिन मंसिर १३ गते बिहान पनि तुलसाले आमालाई फोन गरिन्। ‘केही दिन सम्पर्क हुँदैन होला,’ छोटो कुराकानीमा तुलसाले भनिन्, ‘आमा, आफ्नो ख्याल गर्नु, केही समस्या परे बहिनीलाई खबर गर्नु।’ भोलिपल्टै उनी साग छोडेर विदेश उडेको खबर आउन थाले। पद्मालाई गाउँलेले ‘छोरी भागी’ भन्ने खबर सुनाए। एक त मुटुको बिरामी, त्यसमाथि छोरीले नेपाल छोडेको सुनेदेखि पद्मालाई असह्य भएको छ।

तुलसाकी बहिनी गौरी वीरेन्द्रनगरमा अध्ययनरत छिन्। भाइ नवीन सरकारी कोटाबाट नाम निकालेर सल्यानमा ओभरसियर अध्ययन गर्दैछन्। माइली बहिनी चनमायाले भर्खरै नेपाली सेनाको जवानमा नाम निकालेकी छन्। ‘छोराछोरी पढाउन र घरखर्च चलाउन महिनामा ४०–५० हजार रुपैयाँ लाग्छ, श्रीमान्ले महिनामा ३० हजार रुपैयाँ पठाउनुहुन्छ, ऋण थपिँदै गएको छ,’ पद्माले भनिन्।

तुलसाले सानैदेखि संघर्ष गरिन्। घरदेखि दशरथपुरस्थित जनज्योति मावि पुग्न एक घन्टा लाग्थ्यो। विदेशमा बुवाले पसिना बगाएको पैसाले पुग्दैनथ्यो। ‘बिहान–बेलुका नजिकैको कागते खोलामा गिटी कुटेर आफू पनि पढ्नुभयो, हामीलाई पनि पढाउनुभयो,’ बहिनी गौरीले भनिन्, ‘सेनामा जागिर खाएपछि आर्थिक रुपमा सहज हुन्छ भन्ने लागेको थियो, झन्झन् ऋणले गाँज्दै गएपछि देश छोडेर जानुभयो।’

तुलसा बहिनी गौरी र बुवा भीमबहादुरसँग मात्रै खुलेर कुरा गर्छिन्। आफू विदेश नजाँदै उनले बुवालाई नेपाल फर्कन भनेकी थिइन्। ‘घरमा आमा बिरामी हुनुहुन्छ। बिरामी पर्दा उहाँलाई पानी दिने मानिस पनि छैन,’ छोरीले भनेको सम्झँदै भीमबहादुरले नागरिकसँग भने, ‘तपाईं घर फर्कनू, म सबैलाई पाल्छु भन्थी। घरकै लागि कमाउन छोरी कतार पुगेको खबर पाएँ।’ भीमबहादुर मलेसियाबाट घर फर्कने तयारीमा छन्।

तुलसाले बेलाबेलामा ज्यानको बाजी थापेर देशको नाम उँचो राखे पनि आफूजस्ता आर्थिक हैसियत कमजोर भएका खेलाडीलाई सरकार र विभागीय टीमले सहयोग नगरेको दुखेसो आफन्तसँग गर्थिन्। उनी अभ्यासका क्रममा आवश्यक पर्ने पोसाक, डाइट र औषधोपचारमै आफ्नो तलब सकिने बताउँथिन्। ‘देशको झन्डा बोकेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन कसलाई पो रहर नलाग्ला र,’ बहिनी गौरीले भनिन्, ‘राज्यले खेलाडीको कदर गरेको भए दिदी अर्काको देशमा पसिना बगाउन जानुहुन्थेन।’

तुलसा स्कुले जीवनदेखि नै खेलकुदमा प्रवेश गरेकी हुन्। विद्यालयमा हुने खेलकुदतर्फका हरेक विधामा उनी सहभागी हुन्थिन्। उनले स्कुलमा खेलाडीमात्र होइन, खेल शिक्षकको भूमिका पनि निर्वाह गर्थिन्। उनले दशरथपुरस्थित जनज्योति माविबाट व्यवस्थापन संकायमा प्लस टु उत्तीर्ण गरेकी छन्।

‘उनैको प्रयासले हामी तीन वर्षअघि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जित्न सफल भयौं,’ विद्यालयका शिक्षक दधिराम आचार्यले भने, ‘तुलसा विद्यार्थीमात्रै होइन, खेल शिक्षक पनि थिइन्। यहाँका धेरै विद्यार्थीलाई खेल क्षेत्रमा लाग्न उनले प्रोत्साहन गरेकी थिइन्।’

प्रकाशित: १९ मंसिर २०७६ ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App