४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
समाज

१० महिनामा १२७३ नेपाली ‘कफिन’ मा फर्किए

वैदेशिक रोजगारीको पीडा

घरको आर्थिक अवस्था सुधार्ने, परिवारलाई सुख दिने र उज्ज्वल भविष्य बनाउने सपना बोकेर हरेक दिन हजारौं नेपाली युवा रोजगारीका लागि बिदेसिन्छन्।

तर त्यही सुनौलो सपनाको खोजीमा बिदेसिएका कतिपय नेपालीका लागि वैदेशिक रोजगारी कमाइको अवसर नभएर जीवनकै अन्तिम यात्रा बन्न पुगेको छ। रोजगारीको खोजीमा गएका धेरै युवा बाकसमा फर्किन थालेपछि वैदेशिक रोजगारीको यथार्थ झन् पीडादायी बनेको छ।

वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु हुने क्रम दिनप्रतिदिन बढ्दो छ। वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को (साउनदेखि वैशाख २८ सम्म) १० महिनामा मात्रै वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका एक हजार २७३ नेपालीले ज्यान गुमाएका छन्। तीमध्ये ४४ जना महिला छन्।

आफ्नो परिवारको आर्थिक अवस्था सुधार्ने आशामा बिदेसिएका महिला तथा पुरुष दुवैले विदेशमै अकालमा ज्यान गुमाउनुपरेको बोर्डको तथ्यांकले देखाएको छ। यो तथ्यांक केवल श्रम स्वीकृति लिएर गएका र बोर्डबाट क्षतिपूर्ति पाउनेहरूको हो।

अवैध रूपमा वा श्रम स्वीकृति नवीकरण नगरी बसेकाहरूको मृत्यु संख्या जोड्ने हो भने यो आँकडा अझै भयावह हुने निश्चित छ। तर सरकारसँग त्यसको यकिन तथ्यांक छैन। औसतमा दैनिक चार जनाको शव बाकसमा आउने गरेको बोर्डका अधिकारीहरू बताउँछन्।

वैदेशिक रोजगार बोर्डका निर्देशक भूपेन्द्र सापकोटाका अनुसार मृत्युदर बढ्नुमा विदेश जाने श्रमिकको संख्या पनि बढ्दै जानु प्रमुख कारण हो। रोजगारीको खोजीमा विदेशी भूमिमा पुगेका नेपालीहरूको जीवन दिनप्रतिदिन असुरक्षित बन्दै जानुका अन्य धेरै कारण रहेको उनले बताए।

‘विदेश जानेको संख्या जति बढ्दै जान्छ, मृत्यु हुने संख्या पनि केही प्रतिशत बढ्नु स्वाभाविक हो,’ उनले भने, ‘संख्या बढेको देखिए पनि प्रतिशतका हिसौ अस्वाभाविक वृद्धि भएको छैन।’

असुरक्षित कार्य वातावरण, स्वास्थ्य परीक्षणको कमी, मानसिक तनाव, कामको चाप, पर्याप्त आरामको अभाव र कतिपय अवस्थामा आत्महत्या पनि मृत्युदर बढ्नुका अन्य कारण रहेको उनले बताए। साथै तालिम र सिप नलिई विदेश जाने प्रवृत्तिले पनि जोखिम बढाएको उनी बताउँछन्।

ऋणको दबाब, परिवारबाट टाढा, काममा हुने शोषण, भाषाको अज्ञानताजस्ता समस्याले बिदेसिएका नेपालीहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने गरेको छ। कतिपय श्रमिकले बिरामी हुँदा समयमै उपचार नपाउनु वा रोजगारदाताले स्वास्थ्य अवस्थालाई बेवास्ता गर्दा ज्यान गुमाउनुपरेका उदाहरण पनि प्रशस्त छन्।

उनका अनुसार गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा एक हजार ५०० नेपालीको मृत्यु भएको थियो भने चालु आवको हालसम्म एक हजार २७३ जनाले ज्यान गुमाइसकेका छन्। बाँकी समयलाई हेर्दा यो संख्या गत वर्षकै हाराहारीमा पुग्ने अनुमान गरिएको छ।

गत आर्थिक वर्ष २०८१÷८२ मा मात्रै एक हजार ५१७ जना युवाले विदेशी भूमिमा ज्यान गुमाए। यो संख्या अघिल्ला वर्षहरूमा क्रमशः बढ्दो क्रममा छ। आर्थिक वर्ष २०८०/८१ मा एक हजार ३७८ र २०७९/८० मा एक हजार २०८ जनाले ज्यान गुमाएको बोर्डको तथ्यांक छ। बोर्डका अनुसार मृत्युका प्रमुख कारणहरूमा सडक दुर्घटना, कार्यस्थल दुर्घटना, मुटुसम्बन्धी रोग, हृदयाघात, मिर्गौला फेल, क्यान्सर र आत्महत्या रहेका छन्।

विशेष गरी खाडी मुलुक र मलेसियामा कार्यरत नेपालीहरूमा सुतेकै अवस्थामा मृत्यु हुने (हृदयाघात वा प्राकृतिक कारण) र मिर्गौलाको समस्या बढी देखिएको छ।

सापकोटाले विगतमा विदेशमा मृत्यु भएका सबै श्रमिकका परिवारले वैदेशिक रोजगार बोर्डमा क्षतिपूर्ति दाबी गर्न आउने नगरेको तर प्रचारप्रसार बढेसँगै अहिले धेरै परिवार दाबीका लागि आउने गरेको बताए।

‘पहिले सबै घटनाको जानकारी बोर्डसम्म नआउन पनि सक्थ्यो। अहिले सचेतना बढेकाले परिवारहरू दाबी गर्न आउँछन्, त्यसले तथ्यांक बढी देखिएको हो,’ उनले भने। नेपाली युवाहरूका लागि खाडी मुलुकहरू तथा मलेसिया प्रमुख गन्तव्य मानिन्छन्। विशेष गरी उच्च तापक्रम, जोखिमपूर्ण कार्यस्थल र लामो श्रम समयका कारण श्रमिकहरू विभिन्न स्वास्थ्य समस्याको सिकार हुने गरेको उनी बताउँछन्।

‘असुरक्षित ठाउँमा काम गर्न जाँदा विभिन्न रोग लाग्ने, हृदयाघात हुने, मिर्गौला फेल हुनेजस्ता समस्या बढिरहेका छन्,’ उनले नागरिकसँग भने।

स्वास्थ्य परीक्षण गरेर गएका श्रमिकहरू पनि विदेशमा अकस्मात् मृत्यु हुने घटनाले धेरैलाई चकित बनाउने गरेको छ। यसबारे सापकोटाले श्रम सम्झौता नगरी वा असुरक्षित माध्यमबाट विदेश जानु पनि एउटा कारण भएको बताए। उनी भन्छन्, ‘श्रम सम्झौता नगरी असुरक्षित तरिकाले जाँदा यस्तो समस्या देखिन्छ, त्यसैले सधैं श्रम सम्झौता गरेर सुरक्षित रूपमा जानुपर्छ।’

सरकारले मृत्युदर न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए। उनका अनुसार वैदेशिक रोजगारीमा जानुअघि श्रमिकलाई प्रि-डिपार्चर अभिमुखीकरण तालिम दिइने, विमानस्थल तथा सामाजिक सञ्जालमार्फत सचेतना फैलाइने र विदेशमा रहेका नेपालीका लागि पनि सूचनामूलक सामग्री प्रचार गरिने उनले जनाएका छन्। ‘हाम्रो मुख्य काम नै प्रचारप्रसार र सचेतना हो,’ उनले भने।

बोर्डका अनुसार मृतकका परिवारले १० लाख रुपैयाँसम्म आर्थिक सहायता पाउने गरेका छन्। अहिले बोर्डमै धाउनुपर्ने अवस्था पनि नरहेको र स्थानीय तहका रोजगार सेवा केन्द्रमार्फत निवेदन दिएर सेवा लिन सकिने व्यवस्था छ।

वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित देशबाट पोस्टमार्टम रिपोर्ट मगाउने गरिएको सापकोटा सुनाउँछन्। ‘विदेशबाट पोस्टमार्टम रिपोर्ट आउँछ, त्यही रिपोर्टका आधारमा मृत्युको कारण पुष्टि गरिन्छ।’

बिचौलियामार्फत वा तेस्रो मुलुक हुँदै जोखिमपूर्ण देशमा जाने प्रवृत्तिले पनि समस्यालाई थप जटिल बनाएको बोर्डका अधिकारीहरूको भनाइ छ। वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका वा अंगभंग भएका श्रमिकका परिवारलाई बोर्डले आर्थिक सहायता प्रदान गर्दै आइरहेको छ।

यसका लागि श्रम स्वीकृति लिएको हुनुपर्ने र घटना भएको एक वर्षभित्र निवेदन दिनुपर्ने प्रावधान छ। बोर्डले श्रम स्वीकृति लिएर गएका कामदारको मृत्यु भएमा हकवालालाई दिने सात लाख रुपैयाँको सहायता रकमलाई गत वर्षदेखि बढाएर १० लाख रुपैयाँ पुर्‍याएको हो।

विज्ञहरूले विदेश जानुअघि सीपमूलक तालिम, गन्तव्य मुलुकको मौसम, कानुन र जोखिमबारे राम्रो जानकारी लिन र कानुनी प्रक्रिया पूरा गरेर मात्र जान श्रमिकहरूलाई सुझाव दिएका छन्।

श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालका अनुसार वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सरकारले श्रमिक पठाउने मुलुकसँग श्रम सम्झौता कडाइका साथ कार्यान्वयन गर्नुपर्छ।

साथै, कामदारको स्वास्थ्य जाँच प्रभावकारी बनाउनुपर्ने र विदेश पुगेपछि श्रमिकको अवस्था अनुगमन गर्ने प्रणाली मजबुत बनाउनुपर्ने उनले बताए।

देशभित्र पर्याप्त रोजगारीको अवसर नहुँदा लाखौं नेपाली युवाले वैदेशिक रोजगारीलाई बाध्यताका रूपमा रोजिरहेका छन्।

तर, कमाइको सपना बोकेर परदेसिएका युवाहरू बाकसमा फर्किने क्रम नरोकिँदा वैदेशिक रोजगारी सुरक्षित बनाउन अझ प्रभावकारी कदम आवश्यक देखिन्छ।

प्रकाशित: २९ वैशाख २०८३ २१:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App