२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
समाज

राष्ट्रिय परिचयपत्रको सर्भर ९ दिनदेखि डाउन

लाखौं सेवाग्राही प्रभावित

राष्ट्रिय परिचयपत्रको सर्भर डाउन हुँदा लाखौं सेवाग्राही प्रभावित भएका छन्।

सर्भर डाउन हुँदा यही वैशाख २१ देखि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट हुने काम अवरुद्ध छ।

विभागका निर्देशक सानुबाबु अधिकारीले सर्भरमा समस्या आएको स्वीकार गरेका छन्। ‘प्राविधिक समस्या आएको हो। प्राविधिक टिम बनाउन लागिपरेको छ,’ उनले भने।

उनले यसबारेमा सबै कुरा आफूलाई जानकारी नभएको पनि बताए। विभागले २१ गतेदेखि सर्भरमा समस्या आएको जानकारी २३ गते सूचनामार्फत गराएको थियो।

समस्या ९ दिनसम्म पनि समाधान हुन सकेको छैन। समस्या नसुल्झेपछि मंगलबार दिनभर विभागमा तनाव उत्पन्न भयो।

केही सेवाग्राहीले कर्मचारीमाथि हातपातको प्रयाससमेत गरेको स्रोतले बतायो। ‘सेवा प्रवाहको विषयलाई लिएर विभागमा केही समय तनाव भएको थियो। सर्भर डाउनको समस्या अझै सुल्झिएको छैन’, एक कर्मचारीले भने।

विभागले जारी गरेको सूचनामा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली केही समस्या आएको जनाइएको थियो। सूचनामा मर्मत कार्य जारी भनिए पनि मंगलबारसम्म सेवा पूर्ववत हुन सकेको छैन।

सेवाग्राहीले सेवा नपाएपछि मंगलबार दिउँसो विभागका कर्मचारीप्रति आक्रोस पोखेका थिए। सेवाग्राहीले कर्मचारीलाई धम्क्याउन थालेपछि केही समय प्रहरीसमेत परिचालन गर्नुपरेको थियो।

‘२०८३ वैशाख २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा केही प्राविधिक समस्या आएकाले र यसको मर्मत कार्य जारी रहेकाले सो कार्य पूरा नभएसम्म नयाँ इनरोल गर्दा आउने राष्ट्रिय परिचयपत्र नम्बरलाई प्रणालीले प्रमाणित गर्ने सेवा अवरूद्ध भएको व्यहोरा सबै सरोकारवाला एवं सेवाग्राहीहको जानकारीका लागि यो सूचना प्रवाह गरिएको छ।

मर्मतको कार्य सम्पन्न हुनासाथ सेवा प्रवाह सुचारु हुने व्यहोरा सूचनामार्फत जानकारी गराउँछौं। राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरूद्ध हुन गएकाले यसबाट सर्वसाधारणमा पुग्न गएको असुविधाप्रति विभाग क्षमाप्रार्थी छ’, विभागले २३ गते जारी गरेको ‘राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रुपमा अवरुद्ध भएको सूचना’ मा भनिएको छ।

विभागको सर्भर डाउन हुँदा राष्ट्रिय परिचयपत्रहरुको विवरण सच्याउने सेवा, जन्म दर्ता गर्दाका बखत राष्ट्रिय परिचय नम्बर प्राप्त हुने सेवा, सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्दा बायोमेट्रिक रुजु हुने सेवा, राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीसँग अन्तरआबद्धता भएका अन्य सार्वजनिक सेवाहरु प्रभावित भएको जानकारी समेत उक्त सूचनामा उल्लेख गरिएको छ।

राष्ट्रिय परिचयपत्र प्राप्त गरी प्रणालीबाट पहिले प्रमाणित भएकाहरुको हकमा राष्ट्रिय परिचयपत्रसँग आवद्ध भएका सेवाहरु भने सुचारु रहेको उक्त सूचनामा जनाइएको छ।

सूचना प्रणालीमा आएको समस्या समाधान हुन नसकेपछि विभागका अधिकारीले गृह मन्त्रालयका अधिकारीसँग पनि छलफल गरेका छन्। केही दिनअघि नै यो विषयमा मन्त्रालयका अधिकारीसँग छलफल गरिएको विभागका एक कर्मचारीले बताए।

सूचना प्रणालीले काम नगर्दा उत्पन्न संकटबारे गृह मन्त्रालयका अधिकारीसँग छलफल गरी पुरानै प्रणालीबाट काम अघि बढाउने वा अन्य कुनै वैकल्पिक प्रणालीको व्यवस्था गर्ने विषयमा छलफल भएको ती कर्मचारीको भनाइ छ। गृह मन्त्रालयले यस विषयमा अहिलेसम्म कुनै निकास दिएको छैन। विभाग गृह मन्त्रालयअन्तर्गत पर्छ।

विशेषगरी नयाँ परिचयपत्र नम्बर प्रमाणीकरण हुन नसक्दा राहदानी विभाग र जिल्ला प्रशासन कार्यालयहरूबाट जारी हुने राहदानी सेवा पनि अवरुद्ध भएको छ। यसैकारण राहदानी सेवा लिने नागरिक पनि प्रभावित भएका छन्।

यसैगरी राष्ट्रिय परिचयपत्रमा प्रविष्ट व्यक्तिगत विवरण सच्याउन चाहने सेवाग्राही पनि मर्कामा परेका छन्। व्यक्तिगत विवरण सच्याउन वडा कार्यालयमा पुगेका नागरिकले सास्ती पाएका छन्।

सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आवश्यक पर्ने बायोमेट्रिक रुजु गर्ने कार्य ठप्प हुँदा ज्येष्ठ नागरिक र लक्षित वर्ग समस्यामा परेको विभागका अधिकारीहरुको भनाइ छ।

त्यस्तै जन्म दर्ताको समयमा प्राप्त हुने व्यक्तिगत परिचय नम्बर उत्पादन हुन छाडेकाले सेवाग्राही मर्कामा परेका छन्।

पञ्जीकरण विभागका निर्देशक अधिकारीले समस्या समाधान गर्ने प्रयास भैरहेको तर सूचना प्रणालीमा कहिले सुधार आउँछ भनेर केही भन्न नसकिने बताए।

‘प्राविधिक समस्या भएकाले कहिलेसम्म समाधान हुन्छ भनेर यकिन रुपमा भन्न सकिन्न’, अधिकारीले भने।

प्रकाशित: २९ वैशाख २०८३ २२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App