५ असार २०८३ शुक्रबार
image/svg+xml
समाज

दुई लेनको फास्ट ट्रयाक बनाई तत्काल गाडी चलाउन सेनालाई सुझाव

दोस्रो पटक थपिएको म्यादभित्र पनि काठमाडौंलाई तराई/मधेससँग जोड्न फास्ट ट्र्याक (द्रुत मार्ग) निर्माण सम्पन्न नहुने निश्चित भएपछि राष्ट्रिय योजना आयोगले नेपाली सेनालाई कम्तीमा दुई वर्षभित्र दायाँ वा बायाँमध्ये एकतर्फ दुई लेन तयार गरी गाडी चलाउने बनाउन सुझाव दिएको छ।

द्रुत मार्ग निर्माणका लागि दोस्रो पटक थपिएको म्याद आगामी चैत मसान्तसम्म छ। चैतसम्म मार्गको सबै काम पूरा गर्ने समयसीमा सम्झौतामा तोकिएको भए पनि काम सकिने सम्भावना छैन।

योजना आयोग स्रोतका अनुसार फेरि (तेस्रो पटक) ३ वर्ष म्याद थप्ने तयारी भएको छ। आगामी चैत मसान्तपछि ३ वर्ष म्याद थप भएमा निर्माण अवधिको सीमा २०८६ चैतसम्म पुग्ने छ।

तेस्रो पटक तीन वर्षका लागि म्याद थपिएमा आयोजनाको लागत र निर्माण अवधि दुवै बढ्ने छ। अहिलेसम्म ९५ अर्ब रुपैयाँ खर्च भइसकेको छ। फेरि म्याद थपिएमा खर्च दुई खर्ब पुग्ने स्रोत बताउँछ।

योजना आयोगले कम्तीमा दुई लेनको भए पनि दुई वर्षभित्र गाडी चलाउन मिल्ने गरी फास्ट ट्र्याक निर्माण गर्न सुझाव दिएको हो। आयोगको सुझावअनुसार काम भए २०८४ सम्म दुई लेन पूरा गरी गाडी गुड्ने सम्भावना रहन्छ।

‘त्यसैले हामीले दुई लेनको भए पनि गाडी गुडाउन मिल्ने गरी फास्ट ट्र्याक निर्माण गर्न भौतिक पूर्वाधार मन्त्रालय र संसद्को पूर्वाधार उपसमितिमार्फत् निर्माणको जिम्मा पाएको नेपाली सेनालाई सुझाव दिएका छाैं’, आयोगका सदस्य अर्जुनजंग थापाले नागरिकसँग भने, ‘फास्ट ट्र्याकमा राज्यको धेरै पैसा खर्च भइसकेको छ।

खर्च भए पनि लामो समयसम्म जनताले प्रतिफल पाउन सकेका छैनन् । त्यसैले यस्तो सुझाव दिएका हौं।’

दुई लेन गाडी चलाउन मिल्ने गरी बनाउन चैत मसान्तभित्र सम्भव भएकाले यसका लागि थप एक वर्ष समय लाग्न सक्ने थापाले बताए।

भौतिक पूर्वाधार मन्त्रालयमार्फत फास्ट ट्र्याकका लागि बजेट जान्छ । मन्त्रालय स्रोतका अनुसार हालसम्म फास्ट ट्र्याकको कुल प्रगति ४६ प्रतिशत हाराहारीमा छ।

फास्ट ट्र्याकको सुरुवाती बिन्दु विवादको अझै टुंगो लागेको छैन। ललितपुरको फर्सिडोलदेखि चोभारसम्मको खण्ड बनाउन अझै ठेक्का लागेको छैन।

ठेक्का लगाएर काम सक्न अझै ३ वर्ष लाग्छ। मन्त्रालय स्रोत भन्छ, ‘२०८३ चैतसम्म फास्ट ट्र्याकको निर्माण काम पूरा नहुने भएपछि अरु ३ वर्ष म्याद थप गर्ने प्रस्ताव लैजाने तयारी भएको छ।’ तर यस विषयमा औपचारिक रुपमा सरकारका कुनै पनि निकाय बोल्न तयार छैनन्।

योजना आयोगका अर्का एक सदस्य भन्छन्, ‘पहिले फास्ट ट्र्याकलाई बाहिरी चक्रपथसँग जोड्ने गरी अवधारणा बनाएका थियौं तर बाहिरी चक्रपथ निर्माण नहुने भएपछि भित्री चक्रपथसँग यसलाई जोड्नै पर्छ। भित्री चक्रपथसँग फास्ट ट्र्याकलाई जोड्न सकेनौं भने त्यसबाट प्रतिफल आउँदैन।

ती सदस्य भन्छन,‘फास्ट ट्रयाकलाई भित्री चक्रपथसँग जोड्न सबैभन्दा उपयुक्त ठाउ बल्खु हो। बल्खुबाट बाग्मती नदि हुदै फास्ट ट्रयाकलाई जोड्न सक्यौ भने त्यसले प्रतिफल दिने छ।’

उनका अनुसार बल्खुबाट बाग्मती नदिमाथि हुँदै ४ लेनको पुल तयार गर्न सकिए त्यसबाट मुआब्जा दिनु पर्ने झन्झट राज्यलाई आउँदै।

‘बल्खुबाट बाग्मती नदी माथि हुँदै करिब साढे चार किलोमिटर पुल बनाउन सक्यौ भने मुआब्जाको भार पर्दैन। तल बाग्मती बग्छ, माथि पुल हुँदै फास्ट ट्रयाक बनाउन सक्यौ भने फास्ट ट्रयाकलाई भित्री चक्रपथसँग जोड्न सकिन्छ ।’ यस बारेमा सोच मात्र बनाइएको तर टुंगो नलागेको उनले बताए । ‘फास्ट ट्रयाकलाई उपयोगितमा ल्याउन यसको सुरुवाती बिन्दुबाट काठमाडौ उपत्यकाका मुख्य मुख्य सडकसँग जोड्ने गरी अरु ४/५ वटा सहायक सडक बनाउन जरुरी छ’थापाले भने।

काठमाडौंलाई तराई मधेससँग जोड्ने प्रयोजनकोलागि दु्रत मार्ग निर्माण गर्न नेपाली सेनालाई २०७४ वैशाख २१ गते जिम्मेवारी दिइएको थियो। त्यस यता नेपाली सेनाले दुई पटक म्याद थप गरीसकेको छ।

सुरुमा नेपाली सेनालाई ४ वर्षको म्याद दिइएको थियो। जस अनुसार नेपाली सेनाले २०७८ वैशाख भित्र काम सक्नु पर्ने थियो। तर नेपाली सेनाले डिपिआर निर्माणमा ढिलो भएको कारण देखाउँदै २०७८ वैशाख भित्र काम सकेन। त्यसस पछि २०८१ मंसिर महिनासम्म फास्ट ट्रयाक निर्माण गर्न म्याद थप गरियो।

पहिलो पटक थप गरिएको म्याद भित्र फास्ट ट्रयाक निर्माण नहुने भए पछि दोस्रो पटक २०८३ चैतसम्म म्याद थप गरियो। दोस्रो पटक थप गरिएको म्याद सकिन ११ महिना मात्र बाँकि छ।

११ महिना भित्र काम पूरा हुने कसैको पनि विश्वास छैन। अहिले काम आधा पनि सकिएको छैन । त्यसैले म्याद थप्नु पर्ने निश्चित छ। फेरि ३ वर्ष म्याद थप गरिए पनि तोकिएको सयम भित्र निर्माण पूरा हुने ग्यारिण्टी छैन।

त्यसैले योजना आयोगले तत्काललाई दुई लेनको भए पनि गाडी गुडाउने गरी फास्ट ट्रयाक निर्माण गर्न नेपाली सेनालाई सुझाव दिएको हो । सुरुमा फास्ट ट्रयाक निर्माण गर्न ८५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो तर अहिले यसमा खर्च बढेको बढयै छ।

फास्ट ट्रयाकोलागि तयार गरिएको डिपिआर अनुसार ललितपुरको खोकना देखि बाराको निजगढस्थित पूर्व पश्चिम राजमार्ग जोड्ने गरी फास्ट ट्रयाकको कुल लम्बाइ ७० दशमबल ९७७ किलोमिटर रहेको छ । उक्त मार्ग काठमाडौ, ललितपुर, मकवानपुर हुँदै बारासम्म जोडिने छ ।

प्रकाशित: २९ वैशाख २०८३ २१:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App