२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
राजनीति

'प्रधानमन्त्री बैठकको अन्त्यसम्म उपस्थित हुन नचाहनु र अस्वाभाविक व्यवहार देखाउने शैलीले अप्रीय सन्देश दियो'

नेपाली कांग्रेस प्रवक्ता देवराज चालिसेले प्रधानमन्त्री बालेन्द्र शाहले बैठकको अन्त्यसम्म उपस्थित हुन नचाहनु र अस्वाभाविक व्यवहार देखाउने शैलीले अप्रीय सन्देश दिएको बताएका छन्।

संसदमा प्रधानमन्त्रीको पोशाकलाई लिएर संसदभित्र नै टिप्पणी भएको जिकिर गर्दै उनले यस्तो बताएका हुन। 

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमम्त्री बिच बैठकबाट बाहिरिएको घटनाले संसदीय मर्यादा, संवैधानिक परम्परा र संस्थागत गरिमाको अवमूल्यन गरेको उनको भनाइ छ।

उनले राष्ट्रिय पोशाक क़ानुनी रूपमा अनिवार्य नभए तापनि यस्ता संवैधानिक तथा राष्ट्रिय महत्वका अवसरहरूमा राष्ट्रिय पहिचान, सांस्कृतिक परम्परा र राज्यको प्रतीकात्मक गरिमाप्रति सम्मान प्रकट गर्ने स्थापित अभ्यास रहेको बताउँदै उनले भने, 'लोकतन्त्रमा वैचारिक मतभेद र शैलीगत विविधता हुनु स्वाभाविक हो। तर राज्यका विभिन्न अंगहरूबिचको पारस्परिक सम्मान,संसदीय संस्कार र संवैधानिक मर्यादाप्रतिको अटल प्रतिवद्धता भने सधै साझा राष्ट्रीय मूल्यको रूपमा ग्रहण गर्न सक्नु पर्दछ।'

यस्तै, उनले संसदीय इतिहास र स्थापित परम्पराको दृष्टिकोणबाट संसदमा प्रदर्शित व्यवहारलाई संसदीय मर्यादा अनुकूल मान्न नसकिने बताउँदै यस्ता अमर्यादित तथा अशोभनीय व्यवहारप्रति गम्भीर असहमति रहेको उल्लेख गरे।

'संसद सरकार निर्माणका लागि गणितीय हैसियत बोकेको संस्थामा सीमित हुने निकाय होइन, यो लोकतान्त्रिक संस्कारको निर्माण, संस्थागत अनुशासन र राष्ट्रिय सभ्यता प्रदर्शित गर्ने सर्वोच्च मन्च हो। त्यसैले त्यहाँ हुने हरेक व्यवहारले वर्तमान राजनीतिक परिवेशलाई मात्र होइन, आगामी पुस्ताको लोकतान्त्रिक संस्कृतिलाई समेत प्रभावित पार्दछ,' प्रवक्ता चालिसेले भने, 'तसर्थ, संसदीय इतिहास र स्थापित परम्पराको दृष्टिकोणबाट आज प्रदर्शित व्यवहारलाई संसदीय मर्यादा अनुकूल मान्न सकिँदैन। यस्ता अमर्यादित तथा अशोभनीय व्यवहार प्रति हाम्रो गम्भीर असहमति रहेको छ।'

प्रकाशित: २९ वैशाख २०८३ ०८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App