नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा १९ नेता मनोनीत भएसँगै पार्टीभित्रको विवाद अझै बढ्ने देखिएको छ।
विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेका गगनकुमार थापासहितको पक्ष कांग्रेसलाई एकताबद्ध गर्नुको साटो विवादलाई थाती राखेर अघि बढ्न लागिपरेको भन्दै इतर पक्षहरूले असन्तुष्टि जनाएका छन्।
विशेष महाधिवेशनपछि पार्टीमा बल्झँदै गएको विवादलाई समाधान गर्नुको सट्टा त्यसबाट आएको नेतृत्व अर्को पक्षलाई बेवास्ता गर्दै अघि बढ्ने रणनीतिमा पुगेको नेता शेखर कोइराला र पूर्णबहादुर खड्का पक्षको बुझाइ छ।
त्यसको शृंखलाका रूपमा सोमबार १९ केन्द्रीय सदस्यको मनोनयन पनि रहेको जनाउँदै असन्तुष्ट पक्षका एक नेताले भने, ‘पार्टीलाई एकताबद्ध गरेर अहिलेको चुनौती सामना गर्नुपर्ने नेतृत्व कसरी कांग्रेस कब्जा गर्ने भन्ने रणनीतिमा लागेको देखिन्छ।’
केही दिनअघि विशेष महाधिवेशनबाट पार्टी नेतृत्वमा पुगेका सभापति गगनकुमार थापाले दुई नेतासँग छलफल गरेको जनाउँदै ती नेताले भने, ‘पार्टीलाई मिलाएर लैजाने प्रस्ताव ल्याउँछु भनेर निस्केका सभापतिले अर्को पक्षका नेताहरूसँग कुनै परार्मश नगरी एकलौटी रूपमा केन्द्रीय सदस्य मनोनयन गर्नुभयो। उहाँ पार्टीलाई मिलाएर अघि बढाउने पक्षमा हुनुहुन्न भन्ने स्पष्ट भएको छ।’
आफूसँग फरक मत राख्ने पक्ष र नेतालाई सानेपा छेउछाउ आउनै नदिने रणनीतिमा विशेष महाधिवेशनबाट आएका नेताहरू रहेको ती नेताको आरोप छ।
पार्टीभित्र असन्तुष्टि बढ्दै जाँदा पूर्णबहादुर खड्कासहितका पक्षले प्रदेशस्तरीय भेला सुरु गरेका छन्। उनीहरूले मंगलबार विराटनगरमा कोसी प्रदेशस्तरीय भेला आयोजना गरेका छन् भने अन्य प्रदेशमा पनि भेलाको तयारी थालेका छन्।
त्यसले कांग्रेसको एकता जोगिनेमा आशंका व्यक्त भइरहेका बेला सोमबार १९ जना केन्द्रीय सदस्य एक पक्षीय रूपमा मनोनीत भएपछि विवाद अझ बढ्न पुगेको छ।
आफूनिकट नेताहरूलाई बिनापरार्मश मनोनीत गरेपछि पार्टीभित्र आशंका र विवाद मात्र बढेको भन्दै खड्का र कोइराला पक्ष आन्तरिक छलफलमा जुटेका हुन्।
कोइरालाले मंगलबार बिहान निकट नेताहरूलाई विशालनगरस्थित सम्पर्क कार्यालयमा छलफल गरे। पार्टीलाई एकताबद्ध गरेर लैजान विशेष महाधिवेशनबाट आएको कार्यसमिति र १४औं महाधिवेशनबाट आएको कार्यसमिति मिलाएर १५औं महाधिवेशनमा जानुको साटो एकपक्षीय ढंगबाट अघि बढ्ने प्रयास भएको निष्कर्ष उक्त छलफलले निकालेको छ।
पार्टीलाई एकताबद्ध गर्नेभन्दा एउटा पक्षलाई पाखा लगाएर जाने रणनीतिमा नेतृत्व रहेको र एकता जोगाउने चुनौती अझ पेचिलो बन्न पुगेको भन्दै कोइरालानिकट नेताहरूले चिन्ता व्यक्त गरेको छलफलमा सहभागी एक नेताले जानकारी दिए।
नेता कोइरालासहित धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, बलबहादुर केसी, दीपक गिरी, सञ्जय गौतम, सरिता प्रसाई, किरण यादव, डा. चन्द्रमोहन यादव, रुक्मणी कोइराला, उर्मिला थपलिया, गोविन्द पोखेल, दिनेश कोइराला, गोविन्द भट्टराई र उमेशजंग रायमाझी बैठकमा सहभागी थिए।
उनीहरूसँगको छलफलपछि नेता शेखरले कार्यसमिति विस्तारबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। पार्टीको समग्र एकता नभई राष्ट्रिय राजनीतिमा सक्रिय र सार्थक भूमिका खेल्न नसकिने जनाउँदै उनले भनेका छन्, ‘विगतको निर्वाचन परिणामले हामीलाई धेरै ठुलो शिक्षा दिएको हुनुपर्छ।
कांग्रेसको समग्र एकता राष्ट्रको आवश्यकता हो। यसमा पद र व्यक्तिको कुरा गौण हुन जान्छ। कांग्रेसको इतिहास र परम्परा यही हो।’
विगतमा पार्टी विभाजन हुँदा नेता तथा कार्यकर्ताको मात्र होइन, आम नागरिकको भरोसा र विश्वास पार्टीले गुमाएको नेता कोइरालाले बताए।
‘हामीले भर्खरै सम्पन्न आम निर्वाचनमा प्राप्त गरेको मत परिणामले हामीलाई झस्काएको मात्रै छैन, बरु नयाँ सोच, दृष्टिकोण र साझा भावबाट अगाडि नबढी नहुने प्रेरणा पनि दिएको हुनुपर्छ,’ उनले भनेका छन्।
स्थानीय तह र प्रदेशसभाको निर्वाचन संघारमा नै आएको संकेत गर्दै कोइरालाले आम नागरिकको भरोसा जित्न असमर्थ भए राष्ट्रिय राजनीतिमा कांग्रेसको औचित्यमाथि प्रश्न उठने खतरा रहेको औंल्याएका छन्।
‘कांग्रेससँग आबद्ध हजारौं युवा, संघर्षशील, त्यागी समूहको राजनीतिक भविष्य र राष्ट्रनिर्माणमा तिनको भूमिकालाई सुनिश्चित तब मात्र गर्न सकिन्छ जब हामी भावनात्मक रूपले एकताबद्ध हुँदै राजनीतिक रूपले नागरिकमैत्री पार्टी बनाउने दिशातर्फ अगाडि बढछौं,’ उनले भनेका छन्, ‘मलाई विश्वास छ, पार्टीको निर्णायक भूमिकामा बस्ने साथीहरू सामूहिक भावना र साझा विचारबाट अगाडि बढ्नुहुनेछ।’
संविधानवाद र लोकतन्त्रलाई धरापमा पारेर लोकरिझ्याइँ (पपुलिजम) का नाममा हाम्रा आदर्श, मूल्य र सिद्धान्तमाथि आक्रमण भइरहेको पनि कोइरालाले जनाएका छन्।
‘हामी गुट-उपगुटमा विभाजित हुनु उदेकलाग्दो अवस्था हो, यसको अन्त्य जति छिटो हुन्छ, नेपालको लोकतान्त्रिक पद्धतिले आफ्नो मौलिक मूल्य त्यति छिटो भेट्छ,’ उनले भनेका छन्, ‘वैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ।’
१४औं महाधिवेशनपछि नवीकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा नै पार्टीको १५ औं महाधिवेशन (एकता महाधिवेशनका रूपमा) सम्पन्न गरिनुपर्ने जनाउँदै शेखरले कांग्रेस एकताको मुख्य आधार यही हुने दाबी गरेका छन्।
त्यस्तै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि केन्द्रीय समितिका १९ जना सदस्य मनोनयले पार्टी बृहत् एकताको उद्देश्यविपरीत मनोनयन भएको जनाएका छन्।
सभापति थापाले पार्टीभित्र छलफल गरेर सदस्य मनोनयन गरेको दाबी गरिरहेका बेला खड्काले पनि मंगलबार सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गर्दै लेखेका छन्, ‘मेरो प्रस्ट मत छ २८ गतेको निर्णयले पार्टीको बृहत्र सम्पूर्ण एकता गर्नुपर्ने उद्देश्यमा ठेस पुग्न गएको छ।’
केन्द्रीय सदस्य मनोनयनका विषयमा आफूसँगै कुनै छलफल नभएको जिकिर गर्दै उनले नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) विभाजित हुँदा विगतमा आमनागरिकको भरोसा र विश्वास गुमाउनुपरेको स्मरण गरेका छन्।
त्यतिबेला जिम्मेवारीमा रहेका शीर्ष नेता र भूमिकामा रहेका दुवैतर्फका सबैले आत्मसमीक्षा गर्दै पार्टीलाई बृहत् र सम्पूर्ण रूपमा संगठनात्मक र भावनात्मक एकता गराएर अगाडि बढेको पनि खड्काले स्मरण गरेका छन्।
पार्टीको नेतृत्व तहमा बसेका नेताहरू पार्टीको बृहत एकता, सामूहिक भावना र साझा विचारबाट अगाडि बढ्ने दिशातर्फ अग्रसर हुने आशा पनि उनले व्यक्त गरेका छन्। देउवा पक्षले मंगलबार कोसी प्रदेशस्तरीय भेला विराटनगरमा गरेको छ। सबै प्रदेशमा भेला आयोजना गर्ने गरी उनीहरूले शीर्ष नेताहरूलाई जिम्मेवारी तोकेका छन्।
सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई दिएपछि थापाले केही दिनअघि नेता शेखर र खड्कालाई छुट्टाछुट्टै भेटेका थिए। उनीहरूले पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रस्ताव ल्याउन थापालाई आग्रह गरेका थिए।
उनले पनि अन्य नेताहरूसँग छलफल गरेर फेरि बस्ने आश्वासन दिएको निकट नेताहरूको दाबी छ। तर देउवा/खड्काका साथै शेखर तथा शशांक कोइरालासँग नजिक रहेका नेताहरूलाई समेटेर १९ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएपछि कांग्रेसभित्रको विवाद झनै पेचिलो बन्न पुगेको नेताहरूको बुझाइ छ।
प्रकाशित: २९ वैशाख २०८३ २२:०७ मंगलबार





