जय ट्रफी पुरुष एलिट कप क्रिकेटमा मधेश प्रदेश र बागमती प्रदेशबीचको खेल बराबरीमा सकिएको छ ।
मधेशले दिएको १६४ रनको लक्ष्य पछ्याएको बागमतीले दोस्रो तथा अन्तिम दिनको खेलको समाप्तिमा ६ विकेट गुमाएर ९७ रनमात्र बनाएपछि खेल बराबरीमा सकिएको हो ।
१६४ रनको लक्ष्य पछ्याएको बागमतीका लागि रित गौतमले २५, शुभ कंशाकारले २३ र प्रतिश जिसीले १६ रन बनाए । मधेशका लागि हरिशंकर साहले ३ तथा रुपेश सिंह, अभिषेक तिवारी र रञ्जित कुमारले समान एक विकेट लिए ।
जनकपुरमा भएको खेलको दोस्रो इनिङ्समा मधेशले ९ विकेटको क्षतिमा २११ रनमा इनिङ्स डिक्लियर गरेपछि बागमतीले १६४ रनको लक्ष्य पाएको थियो । मधेशका लागि ओपनर मयन यादवले १०६ रनको योगदान गरे । मात्र १०८ बलको सामना गरेका उनले १२ चौका र २ छक्का प्रहार गरे । अभिषेक तिवारी १९, निरज यादव १७ र विशाल पटेल १४ रनमा आउट भए ।
यो पनि पढ्नुहोस्
जय ट्रफी : आर्मी र पुलिसबीचको खेल बराबरीमा
बागमतीका लागि क्याप्टेन सन्दीप लामिछानेले ५, सूर्य तामाङले २ तथा रिजन ढकाल र नन्दन यादवले समान एक विकेट झारे ।
यसअघि २ विकेटको क्षतिमा ३४ रनबाट सोमबार दोस्रो दिनको खेल थालेको बागमती पहिलो इनिङ्समा १५० रनमा अलआउट भएको थियो । नन्दन यादवले ४७, शुभ कंशकारले ३५ र सन्दीप लामिछानेले ३३ रन बनाए ।
मधेशका लागि रुपेश सिंह र अभिषेक तिवारीले समान ४ तथा विशाल पटेल र रञ्जित कुमारले समान एक विकेट लिए ।
मधेशले आफ्नो पहिलो इनिङ्समा १०२ रन बनाएको थियो ।
प्रकाशित: २२ पुस २०८१ १७:२४ सोमबार