जय ट्रफी पुरुष एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा सकिएको छ । पर्साको वीरगञ्जमा दोस्रो दिन आर्मीले दिएको १७२ रनको लक्ष्य पछ्याएको पुलिसले दिनको खेलको समाप्तिमा ५ विकेट गुमाएर ८८ रनमात्र बनाएपछि खेल बराबरीमा सकिएको हो ।
पुलिसका ओपनरद्वय दिलिप नाथ ९ र कुशल भुर्तेल ५ रनमा आउट भए । अमित श्रेष्ठले ३६ रन जोडे । अर्जुन साउद १९ रनमा नटआउट रहे ।
आकाश चन्द र सहाव आलमले समान दुई तथा पवन कार्कीले एक विकेट लिए ।
यो पनि पढ्नुहोस्
जय ट्रफी : बागमती र मधेश प्रदेशबीचको खेल बराबरीमा
दोस्रो इनिङ्समा आर्मी १७५ रनमा अलआउट भएको थियो । पहिलो इनिङ्समा ओपनर आएका सोमपाल कामीलाई आर्मीले दोस्रोमा भने छैठौं नम्बरमा पठाएको थियो । सोमपाल ८२ रनमा नटआउट रहे । १३८ बलको सामना गरेका उनले १० चौका र एक छक्का प्रहार गरे । त्रितराज दासले ३४ रनको योगदान गरे ।
बलिङमा कुशल भुर्तेलले ४, गुल्शन झाले ३, ललित राजवंशीले २ र रसिद खानले एक विकेट झारे ।
यसअघि ७ विकेटको क्षतिमा १०३ रनबाट सोमबारको खेल थालेको पुलिस थप २२ रन जोड्दै अलआउट भयो । गुल्शन झाले ४७ रन बनाए । आर्मीका लागि सहाब आलम एक्लैले ८ विकेट लिए । सोमपाल कामी र पवन कार्कीको नाममा समान एक विकेट रह्यो ।
आर्मीले भने पहिलो इनिङ्समा १२१ रन बनाएको थियो ।
प्रकाशित: २२ पुस २०८१ १७:३० सोमबार