नेकपा एमालेका अध्यक्ष केपी ओलीले विगतको घटना सम्झेर सधैं त्रसित भइरहनुपर्ने कुनै आवश्यकता नभएको बताएका छन्। एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीका सदस्यलाई प्रचारप्रसारमा सक्रिय हुन आग्रह गरे।
उनले रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहलाई लक्षित गर्दै भने, ‘यिनको रिमोट कहाँ छ, यिनलाई आफैं थाहा छैन। यिनको भाग्य र भविष्यको फैसला कसले गर्छ त्यो यिनलाई आफैं थाहा छैन।’
ओलीले एमालेले गरेका काम जनतासम्म पुर्याए पुग्ने र त्यसैमा चुनावी सफलता हुने बताए। उनले भने, ‘हामीले गरेका काम जनतामा पुर्याए पुग्छ। कुराहरू हुन्छन्। कहिले काहीँ नराम्रा कुराहरू पनि हुन्छन्। साधारण असावधानीले पनि नराम्रा कुरा हुन सक्छन्। विरोधीहरूले खतरनाक योजना बनाइराखेका हुन्छन्।’
अहिले न्यायालय र निर्णय गर्ने निकायका प्रतिनिधिलाई समेत धम्काइरहेको अवस्था रहेको बताए। ओलीले भने, ‘सिरक ओढेर धम्की दिने, फेक नम्बरबाट धम्की दिनेहरू कुनै गरी खाने मान्छे हुन्? लुकेर धम्की दिन्छ। आमनेसामने आएर धम्की दिन सक्छ? लुकेर धम्की दिन्छ। हामी जस्तो आमनेसामनेबाट भन्नुपर्छ नि। त्यस कारण यो लुकेर धम्की दिनेहरू आफैं डराइरहेका छन्।’
उनले सिंहदरबार र महान्यायाधिवक्ताको कार्यालयमा ‘जेनजी’ का नाममा केही गतिविधि भइरहेको उल्लेख गर्दै भने, ‘जेनजीको मकुन्डो हो। भित्र अर्कै तत्त्व छ। जेनजी होइन।’
प्रकाशित: २ माघ २०८२ १७:४६ शुक्रबार





